|

लहान : स्थानीय १६ वर्षीया किशोरीसँग भागी विवाह गरेपछि किशोरीकी आमाले सिरहाको दक्षिणी भेगमा पर्ने लक्ष्मीपुर पतारी गाउँपालिका-५ खरुकियाहीका २३ वर्षीय उमेश यादवविरूद्ध बाल विवाह गरेको उजुरी दिएकी छन्। भागेर विवाह गरेकी किशोरी बालिका रहेको भन्दै आमाले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएकी हुन्।

किशोरीलाई यादवले भदौ १७ गते भगाएर विवाह गरेको तर बालिका रहेकाले कारबाहीका लागि सम्बन्धित परिवारका तर्फबाट आमाले उजुरी दिइएको जनाइएको छ। इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक रविभुषण यादवका अनुसार यादव किशोरीलाई लिएर फरार रहेकाले खोजी भइरहेको छ। भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। उक्त संहिता अनुसार उमेर नपुगी विवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

यौन दुर्व्यवहारको कसुरमा साढे तीन वर्ष जेल

उता सप्तरी जिल्ला अदालतले १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तरीको तिरहुत गाउँपालिका-२ का १८ वर्षीय रामचन्द्र मुखियालाई तीन वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ। न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलाशले पुर्पक्षका लागि राजविराज कारागारमा रहेका मुखियालाई कैद सजायको फैसला गरेको अदालतले जनाएको छ।

पछिल्लो चैत ६ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्ती करणीको किटानी जाहेरी दिएपछि चैत ९ गते मुखिया पक्राउ परेका थिए। त्यसपछि वैशाख ५ गते अदालतमा पेश गरिएका आरोपी मुखियालाई जिल्ला न्यायाधीश ज्ञवालीकै आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको थियो।

पीडितको उमेरको कारणले जबरजस्ती करणीको मुद्दालाई जबरजस्ती करणी उद्योगमा परिणत गरी आरोपी मुखियालाई तीन वर्ष ६ महिनाको कैद सजाय गरेको अदालतले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.