|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्ताव कार्यान्वयन गराउन राजनीतिक दलका युवाहरुले आन्दोलन गर्ने भएका छन्।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदलाई दबाब दिने उद्देश्यले विभिन्न युवा संगठन एकजुट भएका हुन्। १० युवा सगठनहरुले सोमबार विज्ञप्ति जारी गरी 'कुनैपनि बहानामा कुनै भयबिना' लोकमान विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन आग्रह गरेका छन्। 

महाभियोग प्रस्ताव संसद्बाट पारित गराउन दबाब दिने उद्देश्यले मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरमा संयुक्त युवा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको युवा संघ नेपालका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए। युवा संगठनको तर्फबाट संयुक्त दबावमुलक कार्यक्रम सञ्चालन गर्न सोमबार बसेको संयुक्त बैठकले यस्तो कार्यक्रम तय गरेको हो। 

बैठकमा युवा संघ नेपालका कार्यवाहक अध्यक्ष दिलकुमारी पन्त, वाइसिएल नेपालका अध्यक्ष आरसी शर्मा ‘बिज्ञान’, प्रगतिशिल युवा संघ नेपालका अध्यक्ष लोकेन्द्रबहादुर शाही, अखिल नेपाल युवक संघका अध्यक्ष तिलक थापा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका कार्यसमिति सदस्य सुर्यबहादुर तामाङ, राष्ट्रिय युवा अभियानका संगठन विभाग प्रमुख सन्देश कार्की र समाजवादी युवा फोरम नेपालका प्रशिक्षण विभाग प्रमुख चन्द्रदिप राई लगायत सहभागी थिए।

बैठकपछि  जारी संयुक्त विज्ञप्तिमा 'कुनै बहानामा वा कुनै भयमा जनअपेक्षाविपरित नजान सबै राजनीतिक दलहरुलाई सचेत' गराइएको छ। ‘बृहत्तर राष्ट्रिय एकता कायम गर्ने कामलाई संयुक्त युवा अभियानको रुपमा अगाडि बढाउने रसबै राजनीतिक दलहरुलाई पनि यो दिशामा अघि बढ्न आह्वान गर्दछौ,' विज्ञप्तिमा भनिएको छ। 

लोकमान विरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्ताव कार्यान्वयन गराउन माग गर्दै विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले लोकमान विरुद्ध संयुक्त प्रदर्शन कार्यक्रम गर्दै आएका छन। कांग्रेस निकट विद्यार्थीहरुको संस्था नेविसंघ लोकमानविरुद्ध प्रदर्शनमा उत्रिए पनि नेपाल तरुण दल अहिलेसम्म सहभागी विरोधमा उत्रिएको छैन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.