|

उदयपुर : मान्छेमा अनेकौँ प्रतिभाहरू लुकेर बसेका हुन्छन्। आफूमा रहेका प्रतिभालाई उजार गर्ने माध्यम सबैको फरक फरक हुन्छ। कसैले आफैँले आफ्नो प्रतिभा देखाउँछन् भने कसैले अरूले पहिचान गरिदिएपछि मात्र। प्रतिभा व्यक्तिमा अदृश्य रूपमा लुकेर बसेको अनौठो खुबी हो। 

त्यही खुबी बोकेर बसेका उदयपुर लिम्चुङबुङ गाँउपालालिका- ५ का २५ वर्षीय युवा हुन्, टम्पशेर राई। वि.सं. २०४९ मा बुबा बमबहादुर राई र आमा सीतालक्ष्मी राईको कोखबाट चौथो तथा कान्छो सन्तानको रूपमा जन्मिएका टम्पशेर अहिले नवगायक तथा गीत लेखकको रूपमा उदाउँदै छन्। ‘मैले लेखेका गीतहरू देशका चर्चित गायकहरूले पनि गाएका छन्’, टम्पले भने, ‘मैले गीत गाउने पनि गरेको छु। गीत गाउनुका साथै अरूका गीतमा संगीत भर्ने, लय दिने कामलाई मेरो पेसा सम्झन्छु।’

स्टेज कार्यक्रमले सांगीतिक क्षेत्रमा ल्यायो

उदयपुरको गाईघाटका स्थानीय रेडियोमा कार्यक्रम प्रस्तोता रहेका राई मेला, महोत्सवलगायतका कार्यक्रममा उद्घोषण गर्दै हिँड्थे। त्यही स्टेज कार्यक्रममा भेटिएका देशका चर्चित गायक गायिकाको संगत पाएपछि उनी सांगीतिक क्षेत्रमा होमिन पुगेको बताउँछन्। ‘२०६८ सालमा गाईघाटको सिटी हलमा भएको एक कार्यक्रममा हेमन्त शर्मा दाइलाई भेटेँ,’ उनले भने, ‘मैले त्यहाँ गीत गाएको थिएँ, मेरो गीत सुनेर हेमन्त दाइले तिमीमा पनि गीत गाउन सक्ने क्षमता छ, काठमाडौं आऊ भन्नुभयो।’

स्थानीय रेडियोका कार्यक्रम प्रस्तोता टम्पशेर भन्छन् रेडियोसँगै स्टेज कार्यक्रम पनि चलाउँथे। त्यही क्रममा धेरै मेला महोत्सवमा पुगे उनी। 'त्यस क्रममा चर्चित गायक गायिका शिव परियार, दीपक लिम्बू, हेमन्त शर्मा, कमल खत्री, मेलिना राई, राजेशपाल राई, लोक गायक नवीन पौडेल लगायतसँग भेट भयो', उनले भने, 'उहाँहरूले नै संगीत क्षेत्रमा आउन प्रेरणा र हौसला दिनुभयो।'

शब्द लेख्न, लय दिन र गाउन सक्छन्

सानैदेखि कथा, कविता, गजल, गीत लेखनमा रुचि राख्दै आएका टम्पशेर अलिहेसम्म ३०० बढी गीतहरू लेखेको बताउँछन्। ‘मैले लेखेका कति गीतहरू देशका चर्चित गायकहरूले गाउनुभएको छ’, उनले भने, ‘मैले उहाँहरूले गाउनुभएका गीतमा लय पनि भर्ने गरेको छु।’ 

टम्पशेरका अनुसार राजेशपायल राईले उनका शब्द तथा लयमा 'दु:ख सुख बराबरी', मेलिना राईले 'काठैमा काँटी दरबार', 'सुख होस् या दु:ख होस्', दीपक लिम्बूले 'बाबा बृटिसको लाहुरे', मौसमी गुरुङले 'बुद्ध जन्मेको मेरो देश', 'रुम्जारकी माया', नन्द गुरुङले 'आजै लौ तिमी छौ', स्वेच्छा ठकुरीले 'मेरो बोली रसिलो' गाएका छन्।

सांगीतिक क्षेत्रमा शब्द लेखन, नृत्य, लय र गायन पाटाहरू परिपूरक हुन्। ती पाटाहरूलाई टम्पशेरले एक साथ आँगालोमा बेरेका छन्। ‘कसैको शब्द लेखन मात्र हुन्छ, कसैको गायन कला र कसैको लय भर्ने काम मात्र हुन्छ’, टम्पशेर भन्छन्, ‘सांगीतिक विधाभित्र पनि नृत्य, गायनलगायतका फरक फरक पाटाहरू हुन्छन्, म सबै पाटामा काम गर्ने कोसिस गर्छु।’

२०७३ सालदेखि गीत पनि गाउन थालेका टम्पशेरले व्यावसायिक रूपमा र देशका चर्चित गायक गायिकसँग गीत पनि गाउन थालेका छन्। 'सकिन बन्न बृटिसको लाहुरे'मा उनको एकल स्वर छ भने 'काठैको काँटी दरबार' गायिका मेलिनासँग गाएका छन्। यसैगरी 'यतिधेरै माया गर्छौ' सुष्मा थापासँग गाएका छन्। 'मलाई आफ्नो बनाउँदा', 'मलाई तिम्रो यादहरूसँग होइन, तिमीसँग जीवन जिउने रहर छ', 'कसैको माया लाग्दैन मलाई, अझै पनि तिम्रो बारेमा सोच्छु'लगायतका गीत उनले गाएका छन्। ‘१५ देखि २० वटा मेरा पूर्वेली भाकाका आधुनिक टाइपका गीतहरू बजारमा आएका छन्’, उनले भने, ‘कति गीतहरूको म्युजिक भिडियो बनाएर युट्युवमा हालेको छु भने कति गीतहरूको अडियो मात्र सार्वजनिक भएका छन्।’

यसरी छिरे टम्पशेर म्युजिक भिडियो र मोडलिङमा

गीत लेख्नु, स्टेज कार्यक्रम चलाउनु, गीतमा लय भर्नु, नृत्य गर्नुभन्दा टम्पको अर्को प्रतिभा हो, मोडलिङ। मोडलिङ क्षेत्रको भीडमा लावालस्कर लागिरेहको बेला त्यही भीडमा थपिएका टम्पशेर भन्छन्, ‘गाउनु, लेख्नु, लय भर्नु, उद्घोषण गर्नु र मोडलिङ गर्नु मेरो दैनिकी बनिसकेको छ।' 

२०७५ सालबाट मोडलिङ सुरु गरेका टम्पशेरले विभिन्न गायक गायिकाले निर्माण गरेको म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन्। उनका अनुसार 'आँखामा राख्दा नबिझाउने तिमी' बोलको शिव परियारको गीतमा, पुष्पा थापाको 'मन पर्‍यौ मलाई', राजु श्रेष्ठको 'तिमीबिना एक्लै छु'लगायतका गीतमा मोडलिङ गरेका छन्। ‘मैले मोडलिङ गरेका गीतहरू युट्युवमा समेत हेर्न पाइन्छ’, टम्पले भने, ‘सांगीतिक क्षेत्रमा पेट पाल्नका लागि एउटै क्षेत्रमा रमेर हुँदैन, त्यसका विविध पाटाहरूमा छिर्नु आवश्यक हुन्छ।'

गीतहरू स्पोन्सर र सहयोगमा

'मैले बजारमा ल्याएका कुनै पनि गीतहरूले खासै बजार त पाएका छैनन्', टम्पशेर भन्छन्, 'तर सबै प्रायोजकमार्फत् बजारमा ल्याएका गीतहरू हुन्।' पहाडको कुनामा आफ्नो घर भएको बताउँदै उनी भन्छन्, 'घर परिवार सम्पन्न भएको भए किन रेडियो र स्टेज कार्यक्रम चहार्दै हिँड्नुपर्थ्यो? अरूले बजारमा ल्याएका गीत गाउँदै दौडिनुपर्थ्यो? मैले मेरै गीत बजारमा गाएर सुरुदेखि नै हिँडिहाल्थेँ।' 

अहिले बजारमा विशेष गरेर आधुनिक शैलीका गीत ल्याउने गरेको उनी बताउँछन्। यस्ता गीत राजेशपायल राई, मेलिना राई, हेमन्त शर्माले गाएका र उनीहरूले गाएको पैसा नलिएको उनले बताए। 'स्टुडियो खर्च स्पोन्सर हुने गरेको छ। साथीभाइले सहयोग गर्ने गरेका छन्', उनी भन्छन्।

भविष्य उज्वल छ

नेपाली सांगीतिक क्षेत्रमा झुल्किने र अस्ताउनेको भीड बाक्लै छ। '५० हजार खर्च गरेर एक हजार ५०० फिर्ता लिने पनि छन्। सोखका लागि गाउनेहरू धेरै छन्। गाउँघरमा गायक गायिका बनेर देखाउनेहरू पनि प्रशस्तै भेटिन्छन्', टम्पशेर भन्छन्, 'जुनसुकै पेसा र व्यवसायमा प्रतिस्पर्धा गर्नेहरूको मात्र भविष्य हुन्छ।'

सबैभन्दा फरक र नयाँपन ल्याउने वा दिनेहरूको मात्र सांगीतिक क्षेत्र हो भन्ने धारणा राख्ने राईमा यस क्षेत्रमै जम्ने आत्मविश्वास देखिन्छ। ‘म गाउँको केटो, यो सांगीतिक क्षेत्रमा हराउने गरी आएको होइन’, उनले भने, ‘धमिलिँदै गएको सांगीतिक क्षेत्रलाई सङ्लो बनाउने र पारि तर्ने लडाइँमा पक्कै विजयी हुन्छु।'

अहिले व्यावसायिक रूपमा भविष्य बनाइसकेका सबै गायक गायिकाहरूले गर्नेभन्दा फरक आफूले गर्नुपर्छ भन्ने उनको बुझाइ छ। शब्द लेखनदेखि मोडलिङ, स्वर दिनेलगायत मात्र पनि होइन, बजारको मागअनुसार दर्शक र श्रोताको भावनालाई मध्यनजर गरेर काम गरेको उनको भनाइ छ। 'आत्मविश्वास छ, सांगीतिक क्षेत्रमा मेरो भविष्य उज्वल छ', उनी भन्छन्।

'रेडियोले पेट पालेन'

२०६६ सालमा प्रवेशिका परीक्षा दिएपछि टम्पशेरले रेडियोमा कार्यक्रम चलाउन थालेका हुन्। कक्षा ११ मा पढ्दा गाईघाट नजिकै रेडियो उदयपुर खुल्यो। उनी भन्छन्, 'म २०६७ सालमा कक्षा ११ मा पढ्थेँ। त्यहाँ रेडियोका लागि उद्घोषणसम्बन्धी तालिम खुल्यो। मैले पनि तालिम लिएँ। तालिममा उत्कृष्ट भएँ।'

तालिममा उत्कृष्ठ भएपछि साधना साहित्यिक कार्यक्रम एक वर्ष चलाए उनले रेडियोमा। सानैदेखि साहित्यमा रुचि भएकाले गीत लेख्ने र गाउने उनको दैनिकीजस्तै थियो। २०६७ माघदेखि गाईघाट बजारमा रहेको अमूर्त एफएममा काम गर्न पुगे। अमूर्तमा पनि सरोवन भन्ने साहित्यिक कार्यक्रम, रेडियो बहसदेखि सबै खालका कार्यक्रम गरे उनले।

रेडियो उदयपुरमा साप्ताहिक कार्यक्रम चलाए। त्यहाँ खासै पैसा पाएको अनुभव छैन उनको। अमूर्तमा मासिक सात-आठ हजार रुपैयाँ पाउँथे। पछि रेडियोमा पनि जागिर गर्दै स्टेज कार्यक्रमा खोज्न थाले। सुरुसुरुमा पैसा पाउन मुस्किल थियो। पछिपछि प्रस्तुति राम्रो हुँदै गएपछि पैसा पनि कमाउन थाले।

देशका १९ जिल्लाका शहरहरूमा पुगेर स्टेज कार्यक्रम चलाएका छन् उनले। 'स्टेज कार्यक्रमबाट वार्षिक रूपमा चार-पाँच लाख रुपैयाँ कमाउँथेँ। त्यसैले गाईघाटमा कोठा लिएर बस्न, खान पुग्न थालेको थियो', उनी भन्छन्, 'अहिले सांगीतिक क्षेत्रमा प्रवेश गरेको छु। सात वर्ष रेडियोमा काम गरेँ, कहिल्यै गोजीमा पैसा परेन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.