'मुख्यमन्त्रीदेखि मन्त्रीहरू गैससका कार्यक्रममा व्यस्त अनि कसरी बन्छ प्रदेश?'

|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरू बिहीबार जनकपुरधामको एक कार्यक्रममा देखिए। 'ग्रामीण पुनर्निर्माण नेपाल' नामक गैरसरकारी संस्थाको प्रगति समीक्षा कार्यक्रममा तामझामका साथ मुख्यमन्त्री लालबाबु राउत, तीन मन्त्री र चार जना राज्यमन्त्री सहभागी भएका हुन्। मुख्यमन्त्री राउतले आयोजकको खुलेर प्रशंसा गरे।

एक गैरसरकारी संस्थाको प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्रीसहित उनको मन्त्रिपरिषद्का अधिकांश सदस्यको सहभागिताले नकारात्मक सन्देश प्रवाह गरेको भन्दै मन्त्रीमण्डलकै अर्का सदस्य सुरेश मण्डलले प्रश्न उठाएका छन्। आफ्नो जिम्मेवारी बिर्सेर एउटा सानो कार्यक्रममा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्म सहभागी भएको भन्दै प्रदेश सरकारकै राज्यमन्त्रीले सामाजिक संजालमा चर्को विरोध जनाएका हुन्।

कार्यक्रममा मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह सहभागी भए। उनीहरूसँगै राज्यमन्त्री सरोजसिंह कुशवाहा, योगेन्द्रराय यादव, अभिराम शर्मा र डिम्पल झासहित आठ मन्त्रीहरू सहभागी भएका हुन्।

प्रदेश २ को सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रहेका मण्डलले सामाजिक संजाल फेसबुकबाट असन्तुष्टि जनाएका हुन्। मण्डलले फेसबुकमा लेखेका छन्, ‘एउटा गैससले कार्यक्रम गर्छ। मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्म १३ जनालाई निमन्त्रणा गर्छ र हामी सबै उपस्थित हुने गरेका छौँ। निमन्त्रणा गर्ने र स्वीकार्ने हामी दुवैले सोच्नुपर्ने होइन र? एउटा सानो कार्यक्रममा पूरा सरकारकै उपस्थिति किन चाहियो? सम्बन्धित मन्त्री र राज्यमन्त्री पुगे भइहाल्यो नि! अथवा निकै नै महत्त्वपूर्ण खालको कार्यक्रम छ भने मुख्यमन्त्रीको उपस्थिति हुनुपर्ने हो। अन्यथा हामीले हाम्रो समय र सीमाबारे सोच्ने हो कि?'

अहिले मण्डलको मन्त्रीमण्डलको आलोचना गर्दै शेयर गरेको पोस्टले सामाजिक संजालमा निकै चर्चा पाएको छ। उनले भने, ‘आयोजकले निमन्त्रणा गर्छन् तर हामीले पनि आफ्नो मर्यादा बुझ्नुपर्छ’, मलाई पनि निम्तो आएको थियो तर म उपस्थित भइन्।’

प्रदेश २ को सरकार पछिल्लो समय आफ्नो काम, कर्तव्यलाई महत्त्व दिनुको साटो विभिन्न कार्यक्रममा गएर आसन ग्रहण गर्ने र भाषण दिएर फर्किने काममा नै व्यस्त भएको भन्दै तीव्र आलोचना हुँदै आएको छ। सरकारका मन्त्रीको काम विभिन्न सभा समारोहमा जाने र भाषण दिएर फर्किनेबाहेक खासै नदेखिएको सरकारमै सहभागी दलको पटक-पटक आरोप लाग्ने गरेको छ।

प्रदेश सरकारको सत्ता साझेदार दल राजपा नेपालका महासचिव तथा प्रदेशसभा सदस्य मनीषकुमार सुमनले भने, ‘प्रदेश सरकार गैसस, अन्तर्राष्ट्रिय गैससको कार्यक्रम र चिया नास्तामै व्यस्त छ। यो निकै दुःखद् कुरा हो।’

आफैँले घोषणा गरेको काम र जनसरोकारका विषयमा प्रदेश सरकारको भूमिकाप्रति गुनासो बढ्दै गएको अवस्थामा सिंगो प्रदेश सरकारकै झल्को दिने गरी गैससको मंचमा देखापर्नु दुर्भाग्यपूर्ण रहेको बुद्धिजीवी डा. भोगेन्द्र झा बताउँछन्। उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरू जनताप्रति उतरदायि हुनुभन्दा पनि साधान स्रोत भएका व्यक्तिको पछाडि कुद्नु लज्यास्पद हो।' उनले प्रदेश सरकारको यस्तो रवैयाले प्रदेशलाई नै पछाडि धकेल्ने बताए।

राजपा नेपालका महासचिव सुमनले भदौ १६ गते बसेको प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको बताउँदै भने, ‘बैठक बस्नका लागि सरकारसँग विजनेस अभाव छ तर मुख्यमन्त्रीदेखि मन्त्रीहरू गैसस अगैससको कार्यक्रममा व्यस्त हुन्छन् अनि कसरी बन्छ प्रदेश? यस्तोमा प्रदेशको समृद्धि र विकासको कुरा मात्र भाषणमा सीमित हुने देखियो।’ 

उनका अनुसार सिंगो मन्त्रिपरिषद् नै लर्को लागेर एउटा गैससको कार्यक्रममा जानुले एकातिर सरकार आफ्ना प्राथमिकता र जिम्मेवारीप्रति कति गम्भीर छ भन्ने देखाएको छ भने अर्कोतिर गैससको प्रभाव सरकार र राजनीतिमा कुन हदसम्म छ भन्नेसमेत स्पष्ट पारेको छ। 'यसैगरी चल्ने हो भने केन्द्रको अहसयोगले काम गर्न नपाएको गुनासो गर्नुको पनि कुनै अर्थ रहनेछैन', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.