|

सुनसरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीले भूमि कर र सम्पति करमा सेवा शूल्क हटाउन, नगरपालिकासँग माग गरेको छ। नगर प्रमुख द्वारिकालाल चौधरीलाई सुझाव पत्र बुझाउँदै उसले राज्यद्वारा सूचीकृत गम्भीर प्रकारका प्राणघातक रोगको सिफारिस नि:शुल्क गर्न सुझाव प्रस्तुत गरेको छ।

नेकपा इटहरीले विपद सिफारिस, नागरिकता सिफारिस, उद्योग व्यवसाय दर्ता नि:शुल्क गर्न पनि सुझाव दिएको छ। यसैगरी उद्योग व्यवसाय करको दायरालाई फराकिलो पार्दै थप व्यवहारिक बनाउँदै पुनरावलोकन गर्न, दलित, सिमान्तकृत तथा लोपोन्मुख समुदायलाई सिफारिस तथा सेवा शुल्कमा ५० प्रतिशतसम्म छूट गर्न सुझाव दिएको छ। यसैगरी नेकपाले वहालकर, सम्पति कर, भूमि कर, उद्योग व्यवसाय कर लगायतका करहरू साथै एकीकृत तथ्यांक संकलन गर्न इटहरी २, ४, ५, ६, ९, १२ र २० नम्वर वडामा डिजिटल सर्वे गर्न माग गरेको छ।

नेकपाले इटहरी उपमहानगरले कार्यान्वयनमा ल्याएको आर्थिक ऐन २०७५ मा व्यवस्था गरिएका कतिपय विषय वजारमा सुनिए जस्तो नभएर वैज्ञानिक, व्यवहारिक र प्रगतिशील रहेको भन्दै नगरपालिकाको बचाउ समेत गरेको छ। ज्ञापनपत्र बुझ्दै इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले कर समायोजनका बारेमा चाँडै उपयुक्त निष्कर्षमा पुग्ने बताए।

नेकपा इटहरीले कर सम्वन्धमा प्रस्तुत गरेको सुझावपत्र ग्रहणपछि प्रमुख चौधरीले भदौ ९ गतेको कार्यपालिकाको वैठकले राजश्व परामर्श समितिलाई कर पुनरावलोकनका लागि कार्यादेश दिइसकेको जानकारी दिए। उनले सवै पक्षको सुझावलाई मध्यनजर गरेर चाँडै उपयुक्त निष्कर्षमा पुग्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.