|

सिरहा : जिल्लाको अर्नामा गाउँपालिका-३ बाट लघुवित्त समूहबाट रकम उठाएर फर्किंदै गरेका दुई जनालाई नकावधारी समूहले बिहीबार पेस्तोल देखाएर करिब चार लाख रुपैयाँ र मोटरसाइकल लुटपाट गरेको छ। सिरहा नगरपालिका-२२ सागरपुर र वडा ९ ठेङहीबीचमा पर्ने सुनसान ठाउँमा चारजना नकावधारी समूहले पेस्तोल देखाउँदै तीन लाख ९३ हजार रुपैयाँ र मोटरसाइकल लुटपाट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार लुटेरा समूहले दुई जनालाई कुटपिट गर्दै दुई राउण्ड हवाई फाइर गरेर तीन लाख ९३ हजार नगद, सामसुङ कम्पनीको मोवाइल र स. ४ प. ८५३५ नम्बरको कालो रंगकाे साइन मोटरसाइकल लुटेर भागेको छ। 

सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वास्थित सिर्जना सामुदायिक विकास केन्द्रको लघुवित्त कार्यक्रमअन्तर्गत अर्नमामा किस्ताको रकम उठाएर फर्किंदै गरेका सिरहा शाखाका फिल्ड सहायक हरेराम पण्डित र कनिष्ठ अधिकृत लालकुमार सिंहलाई रकम र मोटरसाइकलसहित लुटिएका हुन्। 

लुटेरा समूहको कुटपिटबाट घाइते भएका पण्डित र सिंहको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लुटपाटको घटनाको अनुसन्धान भइरहेको र लुटेरा समूहको खोजी भइरहेको छ। नकावधारी लुटेर समूहबाट कुटिएर उपचार गराइरहेका पण्डित सिरहाको धनगढीमाई नगरपालिका-७ कसहा र सिंह सुखीपुर नगरपालिका बलहीका बासिन्दा हुन्।

सिर्जना सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक वटुक शमशेर श्रेष्ठले घाइते कर्मचारीसँग बुझेर हिसाव गरेपछि मात्र कति रकम लुटिएको हो भन्ने यकीन हुने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.