|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावका सम्बन्धमा सत्तारुढ दल नेपाली कांग्रेसले अझै पनि निर्णय गर्न सकेको छैन। जारी केन्द्रीय समिति बैठकमा महाभियोग प्रस्तावको पक्ष र विपक्षमा मत आएपछि कांग्रेस पर्ख र हेरको अवस्थामा पुगेको हो।

शीर्ष तहका नेताले महाभियोग प्रस्तावको विपक्षमा उभिन नेतृत्वलाई दबाब दिएका छन् भने युवा नेताले तत्कालै पक्षमा निर्णय गर्न दबाब दिएका छन्। तेश्रो धारमा रहने केन्द्रीय सदस्यले महाअभियोगबारे पर्याप्त अध्ययन गरी जनमतको आधारमा निर्णयमा पुग्न नेतृत्वलाई दबाब दिएका छन्। तर कांग्रेसले केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले निर्णयमा पुग्न नसकेको बताउँदै आएको छ।

सोमबार दिनभर बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरुबाट धारणा राख्ने काम भएको र बैठक मंगलबार पनि बस्ने प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए। महाभियोगको प्रस्तावलाई हल्का ढंगले हेर्न नहुने भन्दै प्रवक्ता बडुले अन्य दलसँग पनि छलफल गरी निर्णय गर्नुपर्ने तर्क राख्ने केन्द्रीय सदस्यको पार्टीभित्र बहुमत रहेको जानकारी दिए।

'यो विषयलाई हल्का ढंगले हेर्नु हुँदैन। यो अन्त्यन्त गम्भीर र प्रभाव पार्ने विषय हो', बडुले भने, 'बिनासल्लाह ल्याइएको विषय पनि अलि गम्भीर छ। यसलाई नजिकबँट हेर्नुपर्छ।' हतारमा निर्णय नगरी अन्य पार्टीसँग छलफल गरी उपयुक्त निर्णय लिउँ भन्नेहरुको बहुमत कांग्रेसमा रहेको बडुले बताए।

बैठकमा आफूहरुलाई थाहा नै नदिई महाअभियोग प्रस्ताव ल्याइएकाले शंकासहित विचार विश्लेषण गर्नुपर्ने तर्क गर्नेहरुको बहुमत रहेको पनि प्रवक्ता बडुले जानकारी दिए।

तर युवा नेताहरुले भने महाअभियोग प्रस्तावको पक्षमा पार्टीले निर्णय गर्ने दाबी गरेका छन्। 'कांग्रेसकै सांसद धनराज गुरुङ, गगन थापा, माओवादीका सांसद श्याम श्रेष्ठले संसदमा छलफलमा ल्याएको प्रस्ताव हो। त्यसपछि राधेश्याम अधिकारीले उठाउनुभयो। सर्वोच्चले खेल अगाडि बढायो', शर्माले भने, 'जब डी बक्समा पुगेर गोल हुने बेला भयो अनि एमाले मेस्सीको भेषमा प्रस्तुत हुनतिर लाग्यो। जबसम्म कांग्रेस मैदानमा उत्रेर हेड गर्दैन, प्रस्ताव पारित हुँदैन। त्यसैले कांग्रेस मैदानमा उत्रिन्छ।'

सोमबारको बैठकमा २१ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। बैठक मंगलबार बिहान ८ बजे पुनः बस्ने छ। यस अघि गत बिहीबार र शुक्रबार पनि केन्द्रीय समिति बैठक बसेको थियो।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.