|

बारा : जिल्लाको महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारा देवी कानुमाथि बिहीबार हातपात भएको छ। गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलाई वार्तामा बस्नको लागि आग्रह गरेको बेला हातपात भएको हो। 

गढीमाई मन्दिरनजिक विद्यार्थीले टायर बालेर प्रदर्शन गरिरहेका बेला वार्ता समिति बस्दा समेत विद्यार्थी नआएपछि विद्यार्थीहरूलाई वार्तामा बस्नको लागि उपप्रमुख  कानुले आग्रह गर्न जाँदा विद्यार्थीसँगै रहेका केही व्यक्तिहरूले हातपात गर्दै दुर्व्यहार गरेका हुन्। उपप्रमुख माथि विद्यार्थीको आडमा केही व्यक्तिहरूले हातपात गर्दै दुर्व्यहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए।

उपप्रमुख माथि हातपात गर्दै दुर्व्यहार गर्नेकाे पहिचान गरी कानुनी कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। विद्यार्थीको माग पूरा हुने बेलामा पनि विद्यार्थीलाई उचालेर केही व्यक्तिहरूले आफ्नो नीजि स्वार्थतर्फ लागेको हुन सक्ने केही खुल्न आएको भट्टराईले बताए। 

विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीले काज सरुवा भएका शिक्षक मनोज साह गोंढलाई फिर्ता गर्न माग गर्दै गत मंगलबारदेखि विद्यालयमा आगजनी, तोडफोड गर्दै आन्दोलनमा उत्रेका हुन्। विद्यार्थी आन्दोलित भएपछि नगरपालिका-१ का वडा अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा १७ सदस्यीय छानविन तथा समन्वय समिति समेत गठन गरेको थियो।

आन्दोलित विद्यार्थी र विद्यार्थीहरूसँग रहेका केही व्यक्तिहरूले बरियारपुरर  इनर्वा बजार बन्द गराएका छन्। छानविन तथा समन्वय समितिले दिएको प्रतिवेदन अनुसार माग पूरा गर्ने सार्वजनिक रुपमै पटक पटक प्रतिबद्धता जनाइसकेको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले बताए। 

कक्षा १० का १०८ जना विद्यार्थी र तिनका अभिभावकलाई विद्यालयबाट पत्राचार गरी छलफलमा बोलाइएको नगर प्रमुख यादवले बताए। विद्यार्थी आन्दोलित भएपछि आफूले आन्दोलनको दिन देखि नै विद्यार्थीहरूको माग पूरा गर्ने प्रतिवद्धता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.