|

सुनसरी : प्रदेश १ का १४ जिल्लाबाट एक वर्षमा एक हजार ५०० भन्दा बढी महिला हराएका छन्। आर्थिक वर्ष २०७४\७५ मा एक हजार ९८८ जना मानिस हराएका छन्। तीमध्ये एक हजार ५३५ जना महिला रहेका छन्। 

‘संघीयताको महत्त्वपूर्ण सार, मानव बेचविखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौँ खबरदार’ नाराका साथ विभिन्न कार्यक्रम गरी देशैभर यो दिवस मनाइरहँदा १५ महिला बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

अाव २०७४\७५ मा हराएकामध्ये ४५३ जना पुरुष  छन्। हराएकामध्ये २३६ जना मात्र फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कले देखाएको छ। अरु एक हजार ७५२ जना कहाँ छन् अत्तोपत्तो छैन। 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार यहाँ अाव ०७२\७३ को तुलनामा ०७३\७४ र ०७४\७५ मा बेपत्ताको संख्या हवात्तै बढेको छ। आव ०७२\७३ मा एक हजार १५३ जना हराएका थिए। ०७३\७४ मा यो संख्या बढेर दुई हजार ३९ जना पुग्यो। हराउनेहरूमा पुरुषभन्दा महिला धेरै छन्। अाव ०७२\७३ मा ९५ जना पुरुष हराउँदा एक हजार ५८ महिला हराएका थिए।

आर्थिक वर्ष०७३\७४ मा ४६० पुरुष हराए। त्यो वर्ष १ हजार ५७९ जना महिला हराएका थिए। चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा प्रदेश १ बाट २९५ जना हराएका छन्। ती मध्ये २२६ महिला र ६९ जना पुरुष छन्। 

प्रहरीको तथ्यांकमा भेटिनेको संख्या मने अत्यन्तै न्यून छ। आव ०७२\७३ मा हराएका मध्ये १६६ जना भेटिएका थिए। ०७३\७४ मा २७५ जना भेटिए। त्यसैगरी चालु आर्थिक वर्षको भदौ १५ सम्ममा ३८ जना मानिस मात्र फेला परेका छन्। प्रदेश १ मा मोरङ र झापाबाट बढी मान्छे हराएको सूचना प्रहरीमा आउने गरेको छ। मोरङमा अाव ०७४\०७५ मा ६३४ जना हराएका छन्। त्योभन्दा अघिल्लो वर्ष ५८३ जना हराएका थिए। गत साउन देखि अहिलेसम्म ४७ जना हराएका छन्। झापामा गत अावमा ५०३ जना हराएका थिए। गत डेढ महिनामै ८३ जना हराएको प्रहरीमा सूचना आएको छ। यो तथ्यांक प्रहरीमा अाएको उजुरीका अनुसार मात्र हो। 

प्रहरीको यो तथ्यांकले हराउने र भेटिनेबीचको दूरी फराकिलो देखिन्छ। घेरैजसो हराएका महिला भारतको यौन बजारमा पुग्ने गरेको माइती नेपाल क्षेत्रीय कार्यालय काकडभिट्टाका प्रमुख गोविन्द घिमिरेको भनाइ छ। यसैगरी हराएका महिला भारतीय सर्कस र घरेलु कामदार बन्न पुग्ने गरेका छन्। घरेलु कामदारका रूपमा बेच्ने र घरबाहिर निस्कन नदिइ बन्धक बनाएर राख्ने गरेको पाइएको प्रमुख घिमिरेले जानकारी दिए।

उनकाअनुसार नेपाली महिलालाई बंगलादेशसम्म पनि पुरयाएर बेच्ने गरेका छन्। माइती नेपालले बंगलादेशबाट पनि केही महिलाको उद्धार गरेको छ। त्यसैगरी जनवरी २०१७ यता माइती नेपालको अगुवाइमा काँकडभिट्टा नाकाबाट मात्र ३१३ जनालाई उद्धार गरिएको छ भने २८ जनालाई तेस्रो मुलुकबाट समेत उद्धार गरिएको छ। प्रहरीले भने हराएका वेला परिवारले चासोका साथ रिपोर्ट गर्ने भेटिएपछि भने जानकारी नगराउने कारणले पनि हराएकाहरुको संख्या धेरै देखिने गरेको जनाएको छ। 

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मोहनदेव जोशी कतिपय व्यक्तिहरू परिवारका सदस्यहरूलाई पनि जानकारी नदिई रोजगारीका लागि भारत जाने गरेको पाइएको बताउँछन। उनले हराएको जानकारी गराउने तर भेटिएको जानकारी नगराउने कारण यकित तथ्या‌क निकाल्न समस्या रहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.