|

पर्वत :  निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनाको काम काम रोकिएको छ। पर्वत र कास्कीको सिमानामा पर्ने बिरेठाँटीमा निर्माणाधिन आयोजना निर्माण गर्ने क्रममा सुरुङभित्र बम विस्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयबासी आन्दोलित भएपछि पछिल्लो एक सातादेखि काम अघि बढ्न नसकेको हो।

आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीयका घरहरू थर्किनुका साथै चर्किएको भन्दै पुनर्वासको मागसहित स्आथानीयले तालाबन्दी गरेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका विरेठाँटीमा इन्टेक रहने गरी मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन जलविद्युत् आयोजनामा बम विस्फोट गर्दा घरहरू भत्किन थालेको आरोप लगाएका छन्।

उनीहरूले जिल्ला प्रशासनमा समेत जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्नु परेको दाबी गरेका छन्। बम विस्फोट गर्दा १६ घरमा क्षति भएको बताएका छन्। आयोजनाले भने सुरुङ निर्माणको क्रममा नभई ०७२ को भूकम्पका कारण घरहरू चर्किएको बताएको छ।

चौधरी ग्रुपले गरिरहेको छ निर्माण गरिरहेको यो आयोजनाले मोदी गाउँपालिकाका प्राविधिकहरूलाई खटाएर घरहरूको अध्ययन गरेको थियो। अध्ययन पश्चात प्राविधिकहरूले पनि भूकम्पका कारण नै घरहरू चर्किएको प्रतिवेदन दिएका छन। तर स्थानीयले भने प्राविधिकहरूको प्रतिवेदन गलत भएको दावी गरेका छन। आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्य एक जना स्थानीयको दुई तले घरको आँटी खसेपछि स्थानीयले बम बिस्फोटका क्रममा खसेको दावी गरेर काममा समस्या निम्‍ताएको बताए।

काम सुचारु गर्ने बिषयमा बिहीबार स्थानीयबासी, मोदी गाउँपालिकाका प्रतिनिधि र आयोजनाका प्रतिनिधि सहभागी भएर छलफल गरिएको भएपनि छलफल विना निष्कर्ष टुंगिएको छ। मोदी गाउँपालिकाको समन्वयमा भएको छलफलमा स्थानीयले बम विस्फोटकै कारण घरहरू चर्किएको अडान राख्दै पुनर्वासको माग गरेका थिए।आयोजनाले प्राविधिकको प्रतिवेदनले पनि भूकम्पका कारण घरहरू चर्किएको बताएका कारण आयोजनाको कमजोरी नरहेको बताएको छ।

मोदी गाउँपालिका वडा  २ देउपुर अन्तर्गतका ५७ घरधुरी र वडा १ अन्तर्गत ३२ घरधूरी आयोजनाको प्रभावित क्षेत्रभित्र रहेका छन्। १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम आउँदो मंसीर सम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ। तर, निर्माणको काममा भएको ढिलाइले काम सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने आयोजनका अधिकारीको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.