|
Photo : the-anfa.com

टिप्पणी : कालो मुख लगाएर कर्माछिरिङ शेर्पाले औपचारिकता पूरा गर्न कामचलाउ भाषण ठोके। विजयको रातो टिका लगाएका नरेन्द्र श्रेष्ठलाई उनको भाषणसँग कुनै सरोकार थिएन। जे हुनु भइसकेको थियो, कर्माछिरिङ हारे र नरेन्द्र श्रेष्ठले जिते। साँचो के पनि हो भने गणेश थापाले जिते।

सोमबार अखिल नेपाल फुटबल संघको अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन भयो। निर्वाचनबाट नयाँ अध्यक्ष चुनिने यसअघि नै तय थियो। तर दुबै अध्यक्ष भर्जिन थिएनन्। दुबैले यसअघि नै एन्फाको उपाध्यक्ष पदमा काम गरिसकेका थिए। अझै, नरेन्द्र त अध्यक्ष चुनिनुअघि नै कार्यवहाक अध्यक्ष थिए।वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिएका दिपक खाती र मणि कुँवर पनि एन्फामा पुरानै अनुहार हुन्। अखिल नेपाल फुटबल संघको कार्यसमितिमा यसअघि कुनै पनि पदमा नरहेका उपेन्द्रमानसिंह चुनावी खेलमा एकमात्रै नयाँ अनुहार थिए। तर पूर्व खेलाडी उपेन्द्र चुनावी दौडमा सबैभन्दा कमजोर देखिए, राजु शाक्यसहित थुप्रै खेलाडीहरुको समर्थनमा उपाध्यक्षमा उठेका उनले केवल ८ भोट पाए।

उपेन्द्रको ८ भोट देशका लागि खेल्ने खेलाडीको तुलनामा एन्फामा राजनीतिकर्मी हाबी छन् भन्ने जबर्जस्त प्रमाण हो। मतदान गर्ने ६७ जनामध्ये खेलमैदानमै सक्रिय हुने व्यक्तिका पक्षमा कति मतदाता रहेछन् भनेर विश्लेषण गर्न चाहनेले उपेन्द्रको भोटलाई मापदण्ड बनाउँदा हुन्छ।

योजना

अध्यक्ष पदमा भिडेका दुबै अनुहार चिरपरिचित हुन्। विजयी भएका नरेन्द्र श्रेष्ठ कुनै समयका राम्रा खेलाडी थिए। ३० को दशकमा उनले एनआरटी क्लबलाई सहिद स्मारक लिग जिताउन भूमिका खेले। साँचो के पनि हो भने उनी निरन्तर ३ दशक नेपाली फुटबलमा सक्रिय रहे। एएफसी गोल्ड सर्भिस अवार्डबाट सम्मानित हुने नेपालका निकै कम व्यक्तिमध्ये उनी एक हुन्। चुनाव जितेका श्रेष्ठले अघि सारेका योजना यसप्रकार छन्।

१ एन्फालाई आर्थिक र प्रशासनिक रुपमा थप पारदर्शी बनाउने

एन्फालाई पारदर्शी बनाउने भनेको भए काम गर्न सहज हुनेथियो किनकी एन्फा कहिल्यै पारदर्शी थिएन। त्यसैले अब पारदर्शी बनाउँछु भन्नु न्यायसंगत हुनेथियो।

२ वर्तमान फुटबल विवाद अन्त्य गर्दै भइरहेका राम्रा कामलाई निरन्तरता दिने

यही एजेन्डाका कारण नरेन्द्रले चुनाव जितेभन्दा फरक नपर्ला किनकी भद्र स्वभावका नरेन्द्र सबैसँग मिलनसार छन्। फुटबल विवाद मिलाउन उनीजस्तै व्यक्तिको खाँचो थियो र उनले जीत हासिल गरेका छन्। एन्फामा भइरहेका ग्रासरुट लेभलका कार्यक्रमहरुलाई अघि बढाउन सके विकास असंभव छैन्।

३ अर्को वर्षको साफ च्याम्पियनसिप जित्ने लक्ष्यमा राष्ट्रिय टोलीको तयारी व्यापक गर्ने

नरेन्द्रले कार्यवहाकको जिम्मेवारी सम्हालेको १ वर्ष भयो। यो १ वर्षमा राष्ट्रिय टोलीले केही महत्वपूर्ण उपाधी जितेको छ। बंगबन्धु गोल्डकप र दक्षिण एशियाली फुटबलमा नेपालले स्वर्ण जित्यो। अबको लक्ष्य साफ च्याम्पियनसिपकै उपाधी हो। तर त्यसका लागि व्यापक तयारी गर्नुपर्ने चुनौती छ।

४  युवा विकास परियोजनाहरुलाई देशव्यापी बनाउने।

५ प्राविधिक क्षेत्रका साथै जिल्लालाई सक्रिय बनाउने।

६ भौतिक पूर्वाधारको अभाव पूर्ति गर्ने।

यि योजना पुरा गर्नका लागि एन्फा विवादमुक्त  हुन आवश्यक छ। त्यसका लागि श्रेष्ठसामू सबैभन्दा ठुलो चुनौती कर्माछिरिङ शेर्पा लगायतको समूहलाई मिलाएर लैजानु हो। कर्माछिरिङ शेर्पाको पक्षमा खसेको ३१ मतले के देखाउँछ भने हारका बाबजुद पनि उनी बलियो अवस्थामा छन्।

०००००००००००००००००००००००

आशंका

कर्मा छिरिङ शेर्पा पक्षधरहरुको आरोप छ,'नरेन्द्र श्रेष्ठ गणेश थापाका कठपुतली हुन्।'

२०४२ सालबाट फुटबल प्रशासनमा छिरेका श्रेष्ठ सधै थापासँग नजिक रहे। ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त गरेको वरिष्ठ उपाध्यक्ष पदमा मनोनित भएका श्रेष्ठ गणेश थापाको निलम्बनपछि एन्फाको कार्यवहाक अध्यक्ष बने। तर उनले अध्यक्ष बनेको १ वर्षसम्म पनि गणेश थापाले चढ्दै आएको बोलेरो गाडी फिर्ता मगाउन सकेनन्। अहिले पनि फिफाले एन्फा अध्यक्षका लागि प्रदान गरेको यो गाडी गणेश थापाकै घरमा छ।

नरेन्द्र श्रेष्ठलाई चुनाव जिताउन गणेश थापाले महत्वपूर्ण भूमिका खेले। फुटबल गतिविधि गर्न नपाउनेगरी थापामाथि प्रतिबन्ध लागेको थियो। त्यसैले उनले पर्दापछाडीबाटै चलखेल गरे। थापाको चलखेललाई अस्वभाविक मान्न मिल्दैन किनकी हिजो थापालाई एन्फाबाट निलम्बित गराउन कर्माछिरिङ शेर्पाले महत्वपूर्ण भूमिका खेलेका थिए।अहिले चुनावमा कर्मा छिरिङलाई हराउन थापाले ठुलो भूमिका खेले। हिसाब-किताब बराबर भयो।

नवनिर्वाचित एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले निर्वाचनअघि हुने गरेका एन्फा बैठकमा गणेश थापाको नाम लिनुपर्दा झुक्किएर 'अध्यक्ष' विशेषण जोड्ने गरेका थिए। अब आफै निर्वाचित भएपछि यो विशेषण जोड्ने कार्य सायद उनीबाट नहोला।

मणि कुँवर गणेश थापाका नजिकका नातेदार हुन्। वरिष्ठ उपाध्यक्ष पदमा उनको विजयले देखाएको छ, थापा निलम्बित भएपनि एन्फामा उनको पारिवारिक विरासत कायम रहन सक्छ।  

०००००००००००००००००००००००

अपेक्षा

नरेन्द्र श्रेष्ठ कसैले टपक्क टिपेर यो पदसम्म ल्याइदिएका व्यक्ति होइनन्। उनले  आफ्नो पुरा जीवन खेलुकदमा बिताएका छन्। फुटबलमा जम्नुअघि उनी क्रिकेटर थिए। जेन्टलम्यान नरेन्द्रले अर्थशास्त्रमा मास्टर्स गरेका छन्।  

खेलकुदमा उनलाई खेलाडी,प्रशिक्षक र व्यवस्थापकको राम्रो अनुभव छ। उनले २ पटक यसअघि नै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन्। नरेन्द्रमाथि गणेश थापाको छाँया परेन भने नेपाली फुटबल उनको नेतृत्वमा अघि बढ्न सक्छ भन्नेमा कुनै शंका नै छैन्।

०००००००००००००००००००००००

गणेश थापा कनेक्सन

बाँकी रह्यो गणेश थापाको। यसअघि एन्फा निर्वाचन गणेश थापाले चाहेजस्तै हुन्थ्यो। उनले चाहेका व्यक्तिले उमेद्वारी दर्ता गराउँथे। अध्यक्षमा गणेश थापा र अन्य पदमा उनले चाहेका व्यक्ति, यतिमै समाप्त हुन्थ्यो निर्वाचन प्रक्रिया।

अघिल्लो कार्यकालमा ४ वर्षका लागि निर्विरोध निर्वाचित हुने क्रममा थापाले कर्माछिरिङ शेर्पाको गतिलो साथ पाएका थिए। तर, अध्यक्षमा गणेश थापालाई निर्विरोध निर्वाचित गरेको केही महिनापछि कर्माछिरिङ आफै थापाको भ्रस्ट्राचारको मुद्दा ब्युताउँन लागिपरे। फिफामा आर्थिक पारदर्शीताकै विषय प्रमुख बन्यो। फिफा अध्यक्ष सेप ब्लाटर नै कारबाहीमा परेको अवस्थामा गणेश थापाजस्ता व्यक्ति कारबाहीमा पर्नु कुनै नौलो विषय होइन। नौलो विषय त सिनमा नदेखिइ गणेश थापाले कर्माछिरिङ पक्षधरलाई हराइदिने क्षमता राख्नसक्नु हो। गणेश थापालाई हटाउन कुनै समय कर्माछिरिङ न्वारनदेखिको बल निकालेर लागेका थिए। अहिले थापाले कर्माछिरिङलाई उस्तै ढंगबाट प्रहार गरे। दुईबीचको दुश्मनीमा नरेन्द्र श्रेष्ठलाई चिट्ठा पर्‍यो।

०००००००००००००००००००००००

चुनौती

फुटबलमा गुट-उपगुटमा विभाजित जिल्ला, क्लब तथा अन्य विभिन्न संघहरुलाई मिलाएर अघि बढाउनु नरेन्द्रको सबैभन्दा ठूलो चुनौती हो। गणेश थापाको निलम्बनका कारण अन्तर्राष्ट्रिय जगतमा गुमेको नेपालको साखलाई फिर्ता गर्नुपर्ने चुनाैती उनीसामू छ। अन्तर्राष्ट्रिय फुटबलमा नेपालले राम्रो खेल्न नसकेको धेरै भयो। नेपालमा फिफा र एएफसीका ठुला प्रतियोगिता आयोजना नभएको वर्षौ भइसक्यो। 

पू्र्वाधारको कमीका कारण नेपालभित्र राष्ट्रिय लिग तथा अन्य नकआउट प्रतियोगता आयोजना गर्न मुस्किल छ। नेपालमा फुटबलको क्रेज ह्वात्तै घटेको छ यसलाई एकैपटक स्पिडमा लैजानुपर्छ। त्यसका लागि कर्माछिरिङ पक्षधरहरुकै साथ नरेन्द्र श्रेष्ठलाई आवश्यक पर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.