सिसिटिभीमार्फत दुई महिनामा १६४० सवारी चालक कारवाहीमा

|

काठमाडौं : ज्ञानेश्वरका अनिल लामाकी आमा बिरामी थिइन्। उनकी आमालाई वीर अस्पतालमा भर्ना गरिएको थियो। उनी आमालाई भेट्न भदौ २६ गते बा५७प ४७५० नम्बरको मोटरसाइकल लिएर घरबाट निस्किए। समय बिहान साढे १० बजेको थियो। ज्ञानेश्वर क्षेत्र प्राय: ट्राफिक जाम हुने क्षेत्रमै पर्छ। त्यो दिन पनि ट्राफिक जाम थियो।

लामाले यताउता हेरे, सडकमा ट्राफिक प्रहरी थिएनन्। ट्राफिक प्रहरी नभएको मौका छोपेर उनले एकतर्फी सडक प्रयोग गरे। ट्राफिक जाम छले। समयमै आमा भेट्न अस्पताल पुगेकामा उनी खुसी थिए।

भोलिपल्ट उनको मोबाइलमा फोन आयो। फोन ट्राफिक प्रहरीको थियो। प्रहरीले सोधे, 'अनिल सर बोल्नुभयो?' उत्तर आयो, 'हो सर म अनिल।'

'सर तपाईं ट्राफिक महाशाखामा आउनुपर्‍यो', अनिलले आश्चर्यपूर्वक सोधे।

'किन सर?', लामाले प्रश्न गरे?

महाशाखाको उत्तर थियो, 'तपाईंले एकतर्फी बाटो प्रयोग गर्नुभएछ।' 

लामा छक्क परे- कसरी थाहा भयो आफूले एकतर्फीबाटो प्रयोग गरेको? त्यहाँसम्म त ठीकै छ, लामाले  सम्झे। अझ आफ्नो मोबाइल नम्बर प्रहरीले कसरी पत्ता लगाएछ? लामा झनै अचम्भित परे। 'मैले एकतर्फी बाटो जानीजानी नै प्रयोग गरेको थिएँ तर प्रहरी नभएको ठाउँमा यसरी पत्ता लाग्यो? सुरुमा त अचम्मै परेको थिएँ', लामाले थपे, 'ट्राफिक महाखाशा पुगेपछि पो थाहा पाएँ- सिसी क्यामेराले खिचेको भिडियो नै पो रहेछ!'

१५ वर्ष कुवेत बसेर केही महिनाअघि मात्रै घर फर्केिएका लामाले एकतर्फी बाटो प्रयोग गरेको भिडियो हेरेर ५०० रुपैयाँ जरिवाना तिरे।

त्यस्तै, कान्तिपथ टिचिङ सडक लेन मिचेर सवारी चलाएको भन्दै ट्राफिक महाशाखाले बा१६च ६८७९ नम्बरका कार धनी आशुतोष शर्मा र बा२ज ४४९ नम्बरको ट्याक्सी चालक श्यामसुन्दर सिंहलाई समेत सिसी क्यामेराकै आधारमा कारवाही गर्‍यो। उनीहरूले लेन उलंघन गरेवापत ५०० रुपैयाँ जरिवाना तिरे भने एक घण्टा ट्राफिक नियमसम्बन्धी कक्षासमेत लिए। यसरी सडक लेन उल्लंघन गर्ने सवारी साधनलाई सिसी क्यामेराको सहयोगमा कारवाही गर्ने ट्राफिक प्रहरीको अभियान प्रभावकारी हुँदै गएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले बताए।

काठमाडौं उपत्यकामा हुने सवारी नियम उल्लंघनका घटना न्यूनीकरण गर्नका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ट्राफिक प्रहरी महाशाखाले २०७४ माघदेखि यो अभियान सुरु गरेको हो। रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको सिसी क्यामेरा शाखामा ट्राफिक प्रहरीले उपत्यकाभित्रको सडक अवस्थाको गतिविधिबारे अवलोकन गर्ने गर्छन्।

‘सडकमा कसैले ट्राफिक नियम उल्लंघन गरेमा महानगरीय प्रहरी कार्यालयको सिसिटिभी शाखामा खटिएका प्रहरी कर्मचारीले तत्काल त्यस्तो सवारीलाई जुम गरेर नम्बर पत्ता लगाउने महाशाखाका प्रहरी उपरीक्षक कृष्णदत्त भट्टले जानकारी दिए। नम्बरको आधारमा यातायात व्यवस्था कार्यालयबाट सवारीधनीको नम्बर पत्ता लगाएर फोनमार्फत् उनीहरूलाई ट्राफिक महाशाखा बोलाउने गरेको भट्टको भनाइ छ।

फोनमार्फत् बोलाइएका सवारीधनी नआएमा सवारी साधन किनबेचमा रोक्कादेखि कर तिर्ने बेला जरीवानासमेत जोडिने भट्टको भनाइ छ। उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेर बाहिरी जिल्ला गए पनि सवारीधनीले कारवाही प्रक्रियामा आउनै पर्ने उनको भनाइ छ। 'सम्पर्कमा नआएको सवारी किनबेच रोक्का हुन्छ', भट्टले भने।  

सडक नियम उल्लंघन गर्ने चालकलाई महाशाखामा बोलाएपछि सिसिटिभी फुटेजसमेत देखाइने गरेको छ। ट्राफिक महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ यता सिसी क्यामेराको सहयोगले ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार ३५६ सवारी धनी कारवाहीमा परेका छन्। आर्थिक वर्ष २०७५/०७६ को साउन महिनायता मात्र एक हजार ६४० सवारी साधन कारवाहीमा परेका छन्। यसमध्ये अधिकांश दुई पांग्रे सवारी साधन रहेको महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार काठमाडौंको नाराणगोपाल चोक, गौशालाचोक, माइतीघर, जमल, डिल्लीबजार, थापाथली चोक क्षेत्रमा ट्राफिक प्रहरीको आँखा छलेर नियम उल्लंघन गर्नेको संख्या बढी छ। सिसिटिभी फुटेजको आधारमा लेन अनुशासन, जेब्रा क्रस, युटर्न, ओभरटेक, एकतर्फी र लापरवाहीपूर्वक सवारी चलाउने सडक पेटीमा जथाभावी पार्किङ गर्ने चालकहरू कारवाहीमा पर्ने गरेका छन्। 

कारवाही पर्नेमा सबैभन्दा बढी दुई पांग्रे 

ट्राफिक महाशाखाको रेकर्डअनुसार यसरी ट्राफिक नियम उल्लंघन गर्नेमा दुई पांग्रे सवारी साधन बढिरहेका छन्। दुई पांग्रेमा मोटरसाइकल र स्कुटर धेरै हुने गरेको महाशाखाको तथ्यांक छ। मोटरसाइकलपछि ट्याक्सी, माइक्रो बस, बस, निजी कार र टेम्पोहरू पनि रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.