|

सिन्धुपाल्चोक : नेपाल र चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका भूकम्पपछि बन्द छ। तातोपानी नाका बन्द हुँदा सीमा क्षेत्रको साना तथा ठूला व्यापारीहरू संकटमा परेका छन्। तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल र चिनियाँ पक्षको पटकपटक बैठक बसिसकेको छ।

गतसाता पनि तातोपानी नाकाको सम्भावना अवलोकनको लागि चिनियाँ टोलीले नाकाको अवस्थाको भ्रमण गरे। उनीहरूको अवलोकनपछि नाका खुल्नेमा जिल्लावासी विश्वस्त भएका छन्। तर, पनि अझै तातोपानी नाका खुल्ने सम्भावना देखिएको छैन। अवलोकन टोलीले नाका कहिले सञ्चालनमा आउँछ भन्नेमा ठोस निर्णय निकाल्न सकेका छैनन्। 

नाका मे महिनाबाट सञ्चालनमा आउने बताइएको थियो। तर, नाकाको वस्तुस्थिति हेर्दा तातोपानी नाका तत्काल सञ्चालनमा आउँछ भन्ने अवस्था छैन। तिब्बत सरकारका भाइस सेक्रेटरी जनरल छुयाङ लिउको नेतृत्वमा प्रशासनिक अधिकारीहरू तथा प्राविधिकहरू सम्मिलत ३९ सदस्यीय चिनियाँ टोलीले तातोपानीको मितेरीपुलदेखि बाह्रबिसे बजारसम्मको स्थलगत अवलोकन गरेको छ।

अवलोकनमा नेपालका तर्फबाट निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको टोलीले अवलोकन गरेको थियो। तर, नाका क्षेत्रको भौगोलिक वस्तुस्थितिलाई अवलोकन गरेपछि नाका कहिले सञ्चालनमा आउँछ भन्ने अवलोकन टोलीले एकिन निर्णय गर्न नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जनाकारी दिइन्। उनले निर्माणाधीन सुख्खा बन्दरगाह र सडकको भौगोलिक अवस्थाबारे अवलोकन गरेको जनाइन्।

अवलोकन टोलीले नाका सञ्चालनको लागि प्रमुख समस्याको रूपमा सडक पूर्वाधारलाई लिएक्को भोटेकोसी गाउँपालिकाको प्रमुख राजकुमार पौडेलले जानकारी दिए। चिनियाँ टोलीको अवलोनपछि तातोपानी नाका सञ्चालन आउनेमा आस पलाएको उनले बताए।

तातोपानी नाका पुग्ने मुख्य मार्ग बाह्रबिसेदेखि तातोपानीसम्मको सडक निर्माणमा दुई देश सहमत भइसकेको सरकारी टोलीले जनाएको छ। चीनबाट स्थलमार्ग हुँदै सामग्री ढुवानी हुने मुख्य व्यापारिक मार्ग तातोपानी सञ्चालनमा नआउँदा नेपाली व्यापारीहरूले रसुवाको केरूङ तथा लामो समुद्री मार्ग हुँदै भारतको कोलकाताबाट सामान ढुवानी गर्न बाध्य भएका छन्।

तातोपानीमा भूकम्पपछि विस्थापित भएको भन्सार कार्यालय एवं सुरक्षा जाँच चौकीसमेत पुनः सञ्चालनमा आएका छन्। तर, चीनबाट सवारी साधन र मानिसहरूको आवतजावत नहुँदा दैनिक झन्डै दुई करोड रुपैयाँ राजश्व सकंलन शून्य रहेको प्रमुख भन्सार अधिकृत दिव्यराज पोख्रेलले जानकारी दिए।

‘खासातिर पनि बाटो सुधारको, बाटो निर्माणको काम तीव्र गतिमा भइरहेको छ। अहिले वर्षातको समय भएकाले सडक निर्माणमा कठिनाई भएको प्रतिनिधिसभा १ का सांसद अग्निप्रसाद सापकोटाले जनाकारी दिए। बाह्रबिसेदेखि तातोपानीसम्मको सडकखण्डको कामको लागि पनि मन्त्रालयमा सम्झौता भइसकेको उनले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.