|

काठमाडौं : मान्छे सजिलै मर्न सहमत हुँदैन। सशस्त्र जनयुद्धमा मान्छेलाई बन्दुक बोकेर युद्ध मैदानमा पठाउनुअघि पक्कै सपनाहरू देखाइएको थियो। जनयुद्धमा ज्यान गुमाउन तयार भएका ती व्यक्तिले देखेका र तिनलाई देखाइएका सपना पूरा भए कि भएनन्? ज्यान गुमाएका शहीदका परिवार आज के कसरी गुज्ररिहेको होला भन्ने विषयमा केन्द्रित भएर सर्वनाम नाटक घरमा 'जनयुद्ध जारी छ' नामक नाटक मंचन हुँदै छ।

यो नाटकको लेखन, निर्देशन नाट्यकर्मी राज शाहले गरेका छन्। समाजमा हुने हरेक घटनाहरू समाजकै पाटा हुन्। सामाजिक घटनालाई आधार बनाएर लेख्नु, नाटक निर्देशन गर्नु उनको रुचिको विषय रहो। यो नाटक किन लेखियो भन्ने प्रश्न भन्दा पनि किन नलेख्ने भन्ने प्रश्नचाहिँ अलिक बढी महत्त्वपूर्ण छ कि जस्तो लाग्छ उनलाई। ।

नेपाली जनताले १० वर्षे जनयुद्धमा त्रासदीपूर्ण जीवन बिताए। तत्कालीन नेकपा माओवादी र राज्य पक्षबाट ठूलो जनधनको क्षति भयो। जनयुद्ध गर्ने समयका माग  र युद्धमा भाग लिएका र नलिएका सम्पूर्ण नेपाली जनताले कस्तो उपलब्धि हासिल गरे भन्ने कुराको लामो समयको अनुसन्धानले तयार पारिएको यो नाटक मंचन गर्न लागेको उनले बताए। उनका अनुसार यो नाटक असोजको पहिलो सातादेखि सर्वनाम नाटकघरमा मंचन हुँदै छ। करिव एक महिना चल्ने उक्त नाटकका लागि छ वर्षदेखि आफूले कडा मिहिनेत गरेको पनि उनले बताए।

कुनै पनि नाटक लेख्नु चुनौतीपूर्ण हुने उनको अनुभव छ। नाटकको परिवेश, पात्र र कथाको जीवन्तता नै नाटकको महत्त्वपूर्ण कडी हो। अन्त्यमा मंचन गर्दा कलाकारले नाटकको मर्मअनुसार नै जीवन्त अभिनय गरेपछि मात्र हरेक नाटकको उचाइ थाहा हुन्छ। हरेक नाटक आफैँमा आर्टिस्टिक नै हुने र यो नाटक पनि रियालिस्टिक बेसको आर्टिस्टिक नाटक भएको उनले बताए।

जनयुद्ध शब्द सुन्नेवित्तिकै गोला, बारुद, रगतको खोलो, डर भन्ने जुन बिम्ब हाम्रो आँखामा आउँछ, अब त्यो बिम्ब मान्छेलाई मोनोटोनस भइसकेकाले त्यसभन्दा फरक देखाउने कोसिस गरेको पनि उनको दाबी छ। यस नाटकमा काम गर्ने कलाकारको अभिनयमा जीवन्तता ल्याउन तत्कालीन माओवादी तथा राज्य पक्षले कस्ताकस्ता तालिम लिन्थे, त्यहीअनुरूप ढाल्न दुई महिना तालिम दिएको पनि उनी बताउँछन्। १४ जना कलाकार रहेका यो नाटक एक महिना चल्नेछ। यो नाटक नेपालका विभिन्न शहरमा देखाउने सोच रहेको उनी बताउँछन्।

यसअघि उनका 'जिउँदा सपना' र 'बुख्याँचा मन'ले नाटकको क्षेत्रमा उनलाई स्थापित गराइसकेका छन्। 'जनयुद्ध जारी छ' नाटक आफ्नो जीवनको महत्त्वपूर्ण उपलब्धि ठान्छन् उनी। आखिर किन त? उनी अतीततिर फर्किन्छन्।

नाटकको प्रथम ड्राफ्ट लेखेर जनयुद्धलाई नजिकबाट बुझेका एक नेता तथा विश्लेषकलाई देखाए उनले। त्यो ड्राफ्ट पढेर ती विश्लेषकले विषयवस्तु राम्रो भए पनि सतही भएको टिप्पणी गरिदिए। यसको गहिराइमा पुग्न जनयुद्धमा लागेका व्यक्तिलाई भेट्न सुझाएछन्। ती विश्लेषकको सुझावलाई शिरोपर गर्दै शाहले जनयुद्धमा लागेका व्यक्तिलाई भेटे।

उनीहरूको कथा सुन्दा आफूले लेखेको नाटक झुर महसुस गरेछन्। घर फर्किएर पहिलो काम आफ्नो नाटकको ड्राफ्ट च्यातिदिए रे उनले। उनी भन्छन्, 'मैले जनयुद्ध नियालेको रहेछु, महसुस गरेको रहेनछु।' उनीहरूले देखेको सपनामाथि खेलवाड भएको उनले थाहा पाए। अपेक्षाअनुसारको उपलब्धि नभएर युद्धमा होमिएका ती व्यक्ति एक बैंकमा गार्ड छन्। उनी जस्ता कयौँ व्यक्ति कोही घाइते भएर घरका बोझ भएको अवस्था छ भने कोही खाडीमा छन्।

विदेशमा गएका हरेक नेपालीले रेमिट्यान्स मात्र भित्र्याउँदैनन्, आफैँ बाकसमा फर्कने नियति उस्तै छ। विदेश जाने मान्छे उतै हराउने, गाउँमा रहेका उनीहरूका श्रीमतीले गर्ने दोस्रो विहेका कारक तत्त्वहरूको कहालीलाग्दो यथार्थलाई चित्रण गर्न खोजिएको थियो त्यस नाटकमा।

उनीहरूको कहानी मिसिएको भोगाइ, रोदन र आक्रोशले आफूलाई कयौँ दिन विक्षिप्त बनाएको उनले बताए। हामीले जनयुद्धलाई कि गाली गर्‍यौँ कि समर्थन गर्‍यौँ भन्दै तर जनयुद्धको मूल मर्म के थियो भन्ने कुरा नै यस नाटकमा देखाउन खोजिएको उनले बताए। २०६२/०६३ को आन्दोलनपश्चात जनयुद्धको मर्मविपरीत काम भएको हो कि भन्ने कुरालाई यस कथामा उतार्न खोजेको उनको भनाइ छ।

जनयुद्ध र यसमा लागेका व्यक्तिलाई आधार बनाएर लेखेको नाटकले शाहलाई उत्कृष्ट नाटककारको पगरी दिन सक्ला वा नसक्ला तर यो नाटकले ती व्यक्तिलाई चाहिँ के राहत दिन सक्ला त? भन्ने प्रश्नमा उनी भन्छन्, 'उनीहरूभित्र गुम्सिएका कुरा मैले कलाको माध्यमबाट निकाल्न सकिन भने यत्तिकै सकिन्छ। म उनीहरूको वास्तविक कथालाई निकाल्न कोसिस गरेको छु। सफल हुन्छु कि भन्ने अपेक्षा छ।' जनयुद्धलाई एउटा नाटकमा समावेश गर्न सकिँदैन। यसैको सानो पाटोको चित्रण यस नाटकमा गर्न खोजेको उनको भनाइ छ।

लगभग पाँच वर्षअघि उनले 'जिउँदा सपना' मंचन गरेका थिए। विशेष गरेर विदेशिएका नेपाली जनताको वास्तविक चित्रण थियो त्यसमा। विदेशमा गएका हरेक नेपालीले रेमिट्यान्स मात्र भित्र्याउँदैनन्, आफैँ बाकसमा फर्कने नियति उस्तै छ। विदेश जाने मान्छे उतै हराउने, गाउँमा रहेका उनीहरूका श्रीमतीले गर्ने दोस्रो विहेका कारक तत्त्वहरूको कहालीलाग्दो यथार्थलाई चित्रण गर्न खोजिएको थियो त्यस नाटकमा।

त्यस्तै, उनले दोस्रो नाटक 'बुख्याँचा मन' मंचन गरे। बुख्याँचा मन दलित केन्द्रित नाटक थियो। दलित र गैरदलितमा विवाहपश्चात् आउने अनेकन समस्याहरूका कारण मान्छेले आत्महत्या गरिरहेको छ भन्ने कुराको चित्रण त्यस नाटकमा गरेका थिए। अर्को कुरा दलित भन्नेवित्तिकै दरिद्र ,गरिब, निरीह, फोहोरी भन्ने मानसिकतालाई बुख्याँचा मनले ब्रेक गरिदिएको उनी बताउँछन्।

लामो समय नाटकमा रमाइरहेका उनले नेपाली नाटक चल्ने र नाटक घरहरू बन्ने काम तीव्र भए पनि लेखिने कामचाहिँ सुस्त रहेको बताए। हामीसँग अत्यधिक कथा भए पनि लेख्ने मान्छे नभएको उनको गुनासो छ। हाम्रा कथाहरू कलात्मक रूपमा हामीले नलेखे अरू कसैले नलेख्ने भएकाले नेपाली नाटकमा युवा पुस्ता आउनुपर्ने  धारणा राख्छन् उनी। उनी भन्छन्, 'नेपाली नाटक हाम्रो हातमा छ। यसलाई अगाडि बढाउने जिम्मा पनि हाम्रै हो। नाटकको स्तरोन्नति र प्रवर्द्धनमा युवाहरूको साथ आजको आवश्यकता हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.