अकबरे खुसार्नीको ५० रुपैयाँसम्म कर

|

तेह्रथुम : म्याङ्लुङ नगरपालिका, तेह्रथुममा लाग्दै आएको शुक्रबारे हटिया कर नगरपालिका आफैँले उठाउने भएको छ। ठेक्का सम्भौतामार्फत उठाउँदै आएको करमा अनियमितता भएको भन्दै सो ठेक्का तोडी असोज १ गतेदेखि नगरपालिका आफैँले हटियाकर उठाउने भएको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्‍जय तुम्बाहाम्फेले बताए।

यसअघि, ठेक्कामार्फत नगरपालिकाले कर संकलन गर्दै आएकोमा ठेकेदारले आफूखुसी कर लिएको भन्दै नगरवासीले विरोध गरेका थिए। उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले कर संकलनबारे थप अध्ययन गरी आफैँले संकलन गर्ने जनाएको थियो। तर, शुक्रबारे हटियामा मनपरी ढंगले सागसब्जीको कर उठाइएको व्यवसायीले गुनासो गरेका छन्। 

बजारमा बिक्री गर्न ल्याइएको अकबरे खुसार्नीको कर २५ रुपैयाँदेखि ५० रुपैयाँसम्म लिइएको छ। 'एक डोको खोर्सानीको ५० रुपैयाँ तिरें' तीन वर्ष अघिदेखि सब्जी व्यापार गर्दै आएका फेदाप २ ओयाक्जुङका किसान निलप्रसाद ढकालले गुनासो सुनाए। अलिकति अकबरे बेचेको ३० रुपैयाँ तिर्नुपरेको सुनाउँछन् ओयाक्जुङकै व्यापारी रूपनारायण ढकाल। म्याङ्लुङ-३ नागदहका व्यापारी दीपक ढुंगानाले भने अकबरे बेचेको आज २५ रुपैयाँ मात्र तिरेको बताए। 

साग, कोपी, टमाटर, निगुरो, काँक्रा लगायतका खाध्य वस्तुमा पनि मनखुसी कर लिएको पाइएको छ। टमाटर बेच्दै गरेकी म्याङ्लुङ-३, नाग दहकी फूलमाया तामाङले २० रुपैयाँ तिरेको बताइन्। म्याङ्लुङ-८, चैतेकी कुमारी गुरुङले एक भारी निगुरोको २५ रुपैया तिरेको बताइन्। म्याङ्लुङ-५, अम्फूवाकी कल्पना वानियाँले ल्याएको दुईचार मुठा साग र अलिकति सिमीको पनि २० रुपैयाँ तिरेकी छिन्। त्यस्तै म्याङ्लुङ-४, पिप्लेका चित्रबहादुर कटुवालले काँक्रा र करेलाको २० रुपैयाँ तिरको बताएका छन्। 

तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरबासीबाट प्राप्त सुझावका आधारमा कर संकलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन अध्ययन थालिएको नगर प्रमुख तुम्बाहाम्फेले जानकारी दिएका छन्। उनले यस अघि नगरपालिकाले शुक्रबारे हटियामा डोकामा साग र निगुरो बेच्नेसँग कर नउठाउने भनेकोमा ठेकेदारले उठाएको कारण पनि ठेक्का तोड्नु परेको बताए। 

यस्तै ढुंगा, गिटी, बालुवाको राजश्व संकलन गर्न ईआईए सर्बे गर्ने निर्णय गरेको र नगरपालिकाले यस अघिको दोस्रो पक्षसँग सुरु गरेका केही कर संकलन सम्बन्धी सम्झौताहरु भंग गर्ने समेत निर्णय गरेको प्रमुख तुम्बाहाङफेले बताएका छन्। उनका अनुसार कर संकलनका विषयमा थप सुझाव लिई आवश्यक तयारी पूरा गरेपछि मात्र नगरपालिका आफैंले कर संकलन गरिने भएको छ। यसअघि नगरपालिकाले हटियाकरका साथै ढुंगा, गिटी, बालुवाको लागि टेण्डर सम्झौता गरेको थियो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.