|

लहान : सप्तरी जिल्लाको पूर्वी सीमामा पर्ने सप्तकोशी नदीसँगै जोडिएको कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको अर्नाको आक्रमणमा सप्तरीमा दुई बालिका गम्भीर घाइते भएका छन्।

अर्नाको आक्रमणमा बिहीबार साँझ सप्तरीको महादेवा गाउँपालिका ४, बलियाकी ८ वर्षीया सञ्जो खंग र १० वर्षीया एञ्जिला खंग घाइते भएको इलाका प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा आएको अर्नाको आक्रमणमा हात तथा तिघ्रामा चोट लागेका बालिकाको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाउँ पसेको अर्नालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले लखेटेका छन्।

तीन दिनअघि मात्र भदौ २६ गते सप्तकोशी नगरपालिका ५ सदा बस्तीका ५० वर्षीय झपड सदा बाख्रालाई घाँस काट्न जाने क्रममा अर्नाको आक्रमणमा परी घाइते भएका थिए। बाख्रालाई घाँस काट्न जाने क्रममा गाउँ नजिकैको बाँसघारीमा बसेको अर्नाको आक्रमणमा पेटमा चोट लागेर सदा घाइते भएका थिए।

जंगली जनावरको आक्रमणमा सातको मृत्यु

सप्तरीको पूर्वी भेगमा वर्षेनी हात्ती, अर्ना लगायतका जंगली जनावरबाट सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। खेतबारीको कामममा जानेसँगै आफ्नै घरमा बसिरहेको अवस्थामा पटक पटक जंगली हात्ती र अर्नाको आक्रमणमा पर्ने गरेका सर्वसाधारण त्रसित छन्।

सप्तरीको पूर्वी भेगमा भारदह, कञ्चनपुर, पोर्ताहा, बरमझिया, बैरवा, योगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका सर्वसाधारण जंगली जनावरबाट पीडित हुँदै आएका छन्।

जंगली हात्ती र अर्नाको आक्रमणको आक्रमणमा सप्तरीमा पछिल्लो वर्ष मात्र सात जनाको मृत्यु भइसकेको छ। कञ्चनरुप नगरपालिका १० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, १३ वर्षीया छोरी संगीता यादव, हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव लगायतको हात्ती र अर्नाको आक्रमणबाट मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.