|
फाइल फोटो

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो विदेश भ्रमण चीनबाट गर्ने भएका छन्। आगामी असोज ३ गते मुख्यमन्त्री शाहीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मीसहितको टोली पाँच दिने चीन भ्रमणमा जाने तयारी रहेको छ।

प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री तथा मन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ। ‘चीनको सिचुवान प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्री, मन्त्री र म जान लागेका हौं,’ सांसद रेग्मीले भने, ‘कर्णालीसँग चीनको सिमाना जोडिएका कारण विकास निर्माणमा कसरी अघि बढन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ।’

विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका यो भ्रमण तय भएको उनको भनाइ छ। ‘चीन सरकारले अघि सारेको वान बेल्ट वान रोड परियोजना नेपालसँग जोडिने र त्यो जोड्दा कर्णाली भएरै जोड्ने कुरा आएकोले प्रदेश सरकारको त्यहाँ भौतिक पूर्वाधार विकासमा चीनको लगानी बारेमा पनि छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणको मुख्य उद्देश्य नै पूर्वाधार विकासका लागि चीन सरकारको सहयोग ल्याउने हो।’

मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव राम पैसाद थपलियाले मुख्यमन्त्रीसहितको टोली चीन भ्रमणमा जाने तयारी भइरहेको जानकारी दिए।  ‘सेप्टेम्बरको १९ देखि २४ तारिख सम्म भ्रमणमा जाने कुरा छ,’ उनले भने ‘प्रक्रियामै छ।’ उक्त भ्रमणमा केन्द्रीय नेतृत्व पनि जाने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.