|

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा यात्रुबाहक बस दुर्घटनामा गम्भीर घाइते दुई जनालाई नेपालगञ्ज पठाइएको छ भने अन्य दुई जनाको लम्कीमा उपचार भइरहेको छ। शुक्रबार साझ ४:४० बजे लम्कीचुहा नगरपालिका ३ स्थित बल्चौर नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनका साथै चार जना घाइते भएका थिए।।

बैतडीका २० वर्षीय ज्ञानु जैशी र दार्चुलाका १९ वर्षीय किरण बोहरालाई थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको हो। दार्चुलाका १९ वर्षीय किरण बोहरा र कञ्चनपुरका २० वर्षीय अमन तामाङको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर शाहले बताए।

नेपालगञ्जबाट धनगढी तर्फ आउँदै गरेको से१ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। लम्कीचुहा नगरपालिका ३ स्थित बल्चौरका १४ वर्षीय अनिल बादी र कञ्चनपुरको पूर्नवास नगरपालिका ३ रामबस्तीका ३५ वर्षीय कसरुङ्ग तामाङको ज्यान गएको प्रहरी निरीक्षक शाहले बताए। ‘अनिल साइकलमा सवार थिए, उनलाई बचाउँदा बस पल्टियो बसमा सवार तामाङको ज्यान गएको हो’ प्रहरी निरिक्षक शाहले भने।

दुर्घटनामा गम्भीर घाइते दुई जनालाई टीकापुर अस्पताल र अन्य सामान्य ४ जना घाइतेलाई लम्की स्थित लालरत्न अस्पतालमा उपचारका लागि लगिएको थियो। टीकापुरमा लगिएका बादी र तामाङको अस्पतालमा पुर्‍याएलगत्तै ज्यान गएको प्रहरी निरीक्षक शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.