|
फाइल फोटो

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले निलम्बित एसएसपी दिवस लोहनीलाई साधारण तारेकमा छोड्न आदेश दिएको छ। 

उच्च अदालतको २ नम्बर इजलासका न्यायाधीशद्वय नगेन्द्रलाभ कर्ण र सारंगा सुवेदीले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्टयाउँदै शुक्रबार साधरण तारेकमा छोड्न आदेश दिएका हुन्।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिँदा साधारण तारिकमा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए।

लोहनीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै अदालती बन्दबस्तीको १७ नम्बर गरेका थिए। पक्राउ पर्नुअघि लोहनी अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख थिए। जिल्ला अदालतमा उपस्थित गराउने क्रममा लोहनीले अदालत परिसरमै पत्रकारमाथि दुर्व्यवहार गरेका थिए।

सुन तस्करी र हत्या मुद्दामा  शुक्रबार २४ थान मुद्दाको पेशी चढेको अदालतको सूचना अधिकारी राजनकुमार दाहालले जानकारी दिए। जसमध्ये एक थान मुद्दा प्रतिवादी वकिलले निवेदन दिएर स्थगित गराएका थिए। अभियुक्त वीरेन्द्रमान श्रेष्ठको पेशी स्थगित भएको हो। २३ थान मुद्दा समय अभावले हेर्न नभ्याएको अदालतले जनाएको छ।

यसअघि अभियुक्तहरू निलम्बित डिएसपी सन्जय थापा, तुलाराम थारू र लाक्पा शेर्पालाई उच्च अदालत विराटनगरले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको छ। डिएसपी थापालाई बिहीबार, एयरलायन्स कर्मचारी थारूलाई मंगलबार र मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे)का सहयोगी शेर्पालाई बुधबार उच्च अदालतले जिल्लाकै आदेश सदर गर्न अन्तिम आदेश गरेको हो। तीनै अभियुक्तहरू मोरङ जिल्ला अदालतको आदेशबाट ८ जेठबाट थुनामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.