|

काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पुनः सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ। शुक्रबार सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको हो। 

सर्वोच्चले गैरकानुनी थुनामा राख्न नपाइने भन्दै फैसला गरेको थियो। तर उनी गेटबाट बाहिर निस्किने बित्तिकै माथिको आदेश भन्दै प्रहरीले पक्राउ गरेको थियो। उनलाई कहाँ लगिएको छ भनेर स्पष्ट भएको छैन। 

सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको थियो। 

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, “निवेदक (विश्वकर्मा) लाई गैरकानूनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर विश्वकर्मालाई गैरकानूनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू।”

आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ। विश्वकर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक हो। उनलाई व्यापारीसँग सात करोड रुपैयाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले कारवाही अघि बढाएको थियो।

हेर्नुहोस् भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.