|
फाइल फोटो

काठमाडौं : मन्त्रिपरिद्को शुक्रबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ। राति सम्पन्न भएको बैठकले विभिन्न नियुक्ति, खारेजी र स्वीकृतिका निर्णय गरेको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यसैगरी बैठकले नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा सर्त व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

बैठकले अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ। त्यस्तै रक्षा मन्त्रालय मातहत रहेको नेपाली सेनाको तालीमसम्बन्धी विभिन्न निर्णय गरेको मन्त्री अधिकारीले जानकारी दिए।

बैठकले नारायणहिटी सङ्ग्रहालयसहित पुरातत्व विभाग मातहतका विभिन्न सङ्ग्रहालयको संरचना र दरबन्दी स्वीकृति गरेको छ। कर्मचारी प्रशिक्षण प्रतिष्ठानलाई खारेज गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मिलान गर्ने निर्णय पनि बैठकले गरेको छ।

मन्त्रिपरिषद्ले प्रहरी पाँचौँ संशोधन नियमावली एवं कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन भ्रमणमा जान लागेको बताइएको छ।

सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। झापाका खरेललाई निगमको अध्यक्ष बनाउनका लागि  सदस्यमा नियुक्त गरिएको बताइएको छ। उनलाई समितिमा रहेका पर्यटन मन्त्रालयका सचिवलाई हटाएर नियुक्त गरिएको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.