|

जाजरकोट : दुई सातादेखि खाद्य संकटको सामना गरिरहेको बारेकोट क्षेत्रमा खाद्यान्न पठाउन सुरु गरिएको छ। शुक्रबारदेखि जिल्ला सदरमुकामबाट चामल पठाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। शुक्रबार ३० क्विन्टल चामल बारेकोट पठाइएको प्रजिअ बस्नेतले बताए। 

गाउँमा सहुलियत दरको चामल नभएपछि स्थानीय व्यापारीहरुले पसलमा राखेको सीमित चामलको मूल्य दोब्बर गराएपछि खाद्य प्रभावित क्षेत्रमा चामल पठाउन सुरु गरिएको हो। बारेकोटमा अहिले प्रतिकिलो ४० रुपैयाँ पर्ने चामलको मूल्य ८० रुपैयाँ पुगेको छ। अत्याधिक मूल्य बढ्दा विपन्न नागरिकलाई समस्या भएको स्थानीय प्रेमविक्रम शाहीले बताए। 

बारेकोटको खाद्य संकट टार्न जिल्ला खाद्य व्यवस्थापन समितिले १२ सय क्विन्टल चामल तत्काल पु¥याउने निर्णय गरेको छ। अहिले जिल्ला सदरमुकाममा रहेको चामल पठाएर तत्काल संकट टार्न लागिएको प्रजिअ बस्नेतले बताए।  खाद्य सस्थानले दुई हजार क्विन्टल चामल आपूर्तिका लागि टेन्डर आह्वान गरिसकेको छ।

सरकारले समयमै दुर्गम गाउँका खाद्य डिपोमा चामल ढुवानी नगर्नाले बारेकोट क्षेत्रमा चाडपर्व नजिकिँदै गर्दा खाद्य अभाव देखिएको हो। गाउँको सरकारी खाद्य डिपोमा चामल सकिएको पाँच महिना बिते पनि  अहिलेसम्म थप चामल नपुगेका कारण स्थानीयले बजारमा दोब्बर मूल्यमा चामल किन्न बाध्य हुनु परेको स्थानीयको भनाइ छ।

खेतबारीको अन्न पनि नपाकेको स्थानीय कालीप्रसाद थापाले बताए। खाद्यान्न अभाव हुँदा यहाँका तीन दर्जन वस्तीका १० हजारभन्दा बढी नागरिक खाद्य संकटबाट पीडित भएको थापाले बताए। थापाकाअनुसार अहिले त्यस क्षेत्रका बजारमा चामल पाउन छाडेको छ।

डिपोका इन्चार्ज लगायतका कर्मचारीहरु डिपोमा नबस्ने र  जिल्लास्थित कार्यालयमा पर्याप्त चामल भएको र स्थानीयहरु खरिद गर्न नआउने गरेको झुटो जानकारी पेस गर्ने गरेको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.