|

भद्रपुर, (झापा) : झापाको भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ देखि एक किलोमिटर पूर्व काली टि स्टेटको नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको ठूलो परिणामको लत्ताकपडासहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा करिब चार लाख मूल्य बराबरको लत्ताकपडा, पिकअप भ्यानसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार भारतबाट भन्सार छलेर भित्र्याइएको १० पोका लत्ताकपडा मे १ च २६८० नम्बरको पिकअप भ्यानमा लोड गरी चाराआलीको बाटोबाट बिर्तामोडतर्फ लैजाने क्रमममा प्रहरीले भद्रपुर ९ स्थित देवकोटा मार्गबाट शनिबार बिहान बरामद गरेको छ।

प्रहरीले सामानसँगै भ्यानका चालक मेचीनगर. १५ बस्ने १९ वर्षीय मोहन सुब्बा, सोही ठाँउका ५१ वर्षीय मोहनकुमार घिमिरे र कचनकवल २ बस्ने २५ वर्षीय हेमन्त ढुंगानालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बस्नेतले बताए।

प्रहरीले बरामद गरिएको सामानमा ४१५ पिस पर्दा, १५८ पिस तन्ना, ३२२ पिस सिरानी, २० पिस कुर्ता, २० पिस जामा, २८ पिस टि सर्ट, ३३ पिस सेन्डो गन्जी, दुई थान सुटिङ रोल र रजनी गन्धा ४३२ पिस रहेको जनाइएको छ।

बरामद गरिएको सामान, पिकअप भ्यानसहित तीनै जनालाई मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइने जनाइएको छ। मेचीनगरको ज्यामिरगढी र भद्रपुर नाकासंग जोडिएको भारतको पश्चिम बंगाल दार्जिलिङ जिल्लास्थित सोनापिन्डी र कुखुराजोत नाकाबाट उक्त मूल्य बराबरको सामान नेपाल भित्र्याइएको हो। भद्रपुरका केही व्यापारीले सो नाकाबाट केही दिनदेखि तस्करीको माध्यमबाट सरसामान भित्र्याउँदै आएको प्रहरी स्रोतले जनाएको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएका प्रहरी टोलीले मेचीनगर ६ स्थित प्लटिङगबाट ६० हजार मूल्य बराबरको मोइबालका सामान बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चेकजाँचको क्रममा उक्त मूल्य बराबरको सामान बरामद गरेको जनाइएको छ।

त्यस्तै प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको सामानसहित तस्करी गतिविधिमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

तस्करीको सामानसहित पक्राउ पर्नेमा भद्रपुर नगरपालिका २ निवासी ३१ वर्षीय राजकुमार राई र भद्रपुर ४ निवासी ३२ वर्षीय धनबहादुर लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले शुक्रबार बिहान भद्रपुर ४ स्थित मन्त्रीचोकमा मे ३ प ४७४ नम्बरको मोटरसाइकलमा लोड गरिएको सरसामान चेकजाँच गर्दा उक्त सामान भन्सार छलेर ल्याएको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ।

प्रहरीले उनीहरूका साथबाट १५५ मिटर सुटिङको कपडा बरामद गरेको हो। एक लाख ४७ हजार मूल्य बराबरको सामान बरामद गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए। बरामद गरिएको सामान, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.