|

पर्वत : प्रभावित क्षेत्रका बासिन्दाले तालाबन्दी गरेपछि अवरुद्ध बनेको पर्वतमा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको काम शनिबारबाट संचालन भएको छ। कास्की र पर्वतको सिमानामा पर्ने बीरेठाँटीमा इन्टेक रहने र पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा स्टेशन रहने आयोजना निर्माणका क्रममा सुरुङभित्र बम विष्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयबासीले गएको आइतबारदेखि तालाबन्दी गरेरै आन्दोलनमा उत्रिँदा आयोजनाको काम ६ दिनसम्म रोकिएको थियो।

आयोजना निर्माणस्थल मोदी गाउँपालिकाका प्रतिनिधि, आयोजनाका प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दाका प्रतिनिधिबीच शुक्रबार दिनभर भएको वार्ता साँझमा निष्कर्षमा पुगेपछि आयोजनाको काम संचालन गर्ने सहमति भएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए। वार्तामा प्रभावित क्षेत्रका बासिन्दाको क्षति अनुगमन गरी मूल्यांकन गर्ने, सुरुङ निर्माणका क्रममा क्षति भए नभएको बारेमा भूगर्भ विभागका प्राविधिकहरूको टोलीद्वारा यथार्थ निरीक्षण गराउने, निरीक्षणबाट वास्तविक क्षति पुगेको प्रतिवेदन आएमा स्थानीयबासीको मागलाई सम्बोधन गर्ने लगायतका सहमति भएका छन्।   

स्थानीयले आयोजना निर्माण गर्ने क्रममा सुरुङभित्र बम विस्फोट गर्दा घर चर्किएको भन्दै पुनर्वासको माग राख्दै आएका थिए। यसबारेमा आयोजनाले आयोजनास्थल रहेको मोदी गाउँपालिकाका प्राविधिकहरू खटाएर प्रभावित क्षेत्रका घरहरूको अध्ययन गरेको थियो। अध्ययन पश्चात प्राविधिकले पनि भूकम्पका कारण नै घरहरू चर्किएको प्रतिवेदन दिएकोमा स्थानीयले त्यसलाई अस्वीकार गर्दै आएका छन्। 

आयोजना निर्माणको काम चौधरी ग्रुपले गरिरहेको छ। आयोजनाको मोदी गाउँपालिका -२ देउपुरअन्तर्गतका ५७ घर धुरी र वडा १ अन्तर्गत ३२ घरधुरी आयोजनाको प्रभावित क्षेत्रभित्र छन्।

१५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम आउँदो मंसीर सम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ। तर निर्माणको काममा भएको ढिलाइले काम सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.