गाडीबाट खसेका सहकर्मीलाई हस्पिटल पुर्‍याउँदा जेल

|

तेह्रथुम : घरमा डाँडापारिको घामजस्तै भइसकेकी आमा छोरो आउने बाटो कुर्दै छिन्। सुन्दर भविष्यको सपना बोकेर आधा उमेर नबित्दै विदेशिएका श्रीमान् घर फर्कने आशामा गहभरि आँसु लिएर भक्कानिरहेकी छिन् श्रीमती। अनि छोराछोरी बुबाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै चाँडै घर फर्काइदिन अनुरोध गर्दै छन् सहयोगी मनहरूलाई। कुनै पल यस्तो छैन जतिबेला परिवारका आँखामा आँसु नबगेको होस्। यस्तै विक्षिप्त अवस्था छ यतिबेला खड्गबहादुर जोगीको घरमा। 

फेदाप गाउँपालिका-२ ओयाक्जुङका खड्कबहादुर जोगी यतिबेला दुबई कारागारमा छन्। पाँच वर्षअघि आफ्नो परिवारको सुन्दर भविष्यको कल्पना गर्दै २०७० सालमा परदेशिएका जोगी दुबईको अलगर्फ डेभलपमेन्ट प्रोजेक्ट कम्पनीमा कार्यरत थिए। उनी सवार गाडीबाट सोही कम्पनीमा कार्यरत सहकर्मी फिलिपिनी नागरिक खसेको र कम्पनीको निर्देशनमा निजलाई उठाई हस्पिटल पुर्‍याउँदा मृत्यु भएकोमा मानव हत्याको झुट्टो अभियोग लागि अदालतले पाँच वर्ष कारागार सजाय र दुईलाख दिराम नेपाली रुपैयाँ साठी लाख बिगो तोकेकोे छ। 

अदालतले पाँच वर्ष कारागार सजाय र साठी लाख नेपाली रुपैयाँ ब्लड मनी तोकेको र रकम बुझाउन तोकिएको समय मार्च २३, २०१९ अर्थात् विक्रम संम्वत् २०७५ चैत्र ९ गतेभित्र जम्मा गर्नुपर्नेछ। जोगी अर्कालाई बचाउन खोज्दा आफैँ फन्दामा परेका छन्। घरदेश र परदेशको देश काल परिस्थितिभिन्न हुने भएर होला जोगीले यो सजाय भोग्नु परेको। सो समयावधिमा उक्त रकम बुझाउन नसक्दा उनलाई फाँसीको सजाय हुन सक्ने भन्दै बचाइदिन परिवारजनले अनुरोध गरेका छन्।

घरमा बुढी आमा, श्रीमती र छोराछोरी छन्। काम गर्ने जवान छोरो ४ वर्षदेखि विदेशको जेलमा रहेको भन्दै घर फर्काइदिन पीडितकी ८० वर्षीय आमा इन्द्रमाया जोगीले अनुरोध गरिन्। 'हामीलाई ठूलो विपद आइलाग्यो। मानवीय धर्म सम्झी सबैलाई सहयोग गर्न अनुरोध गरेका छौं'  पीडितकी श्रीमती डम्माकुमारी जोगीले भनिन्। जोगी परिवार यतिबेला कहाँबाट त्यत्रो पैसा जुटाउने भन्ने चिन्तामा छ। 

आवश्यक रकम बुझाउन नसकेमा निजलाई मृत्यु दण्डको सजाय हुने भन्दै फेदाप गाउँपालिकाले खड्कबहादुर जोगीको घरायसी अवस्था अति दयनीय भएकोले उनको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न सिफारिस गरेको छ भने जिल्ला प्रशासन कार्यालय, तेह्रथुमले पीडित खड्गबहादुर जोगी संयुक्त अरब इमिरेट्सको अवुधावीको सेन्टर जेलमा रहेको व्यहोरा सिफारिस गरेको छ। 

सेवा नै मानवीय धर्म हो भन्दै जोगीको जीवन रक्षाका निम्ति आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न सम्पूर्णमा आग्रह गरेको फेदाप २ ओयाक्जुङ्ग घर भई हाल इजरायलमा कार्यरत तीनजुरे मिडिया ग्रुपका अध्यक्ष देव वाँस्कोटाले बताए। उनले भने, 'आउनुहोस् सक्दो सहयोग गरौं। जोगी बचाऊ अभियानमा लागाैं। हाम्राे मिडिया ग्रुपको तर्फबाट पनि नगद संकलन भइरहेको छ।' 

जिल्लामा दुबइमा कारागार सजाय भोगिरहेका जोगीलाई बचाउन अभियान सुरु गरिएको छ। जोगीको जीवन रक्षाका लागि सम्पूर्ण नेपालीले सहयोग गरी उनलाई नयाँ जीवन दिने उद्देश्यका साथ अभियान सुरु गरिएको खड्गबहादुर जोगी बचाऊ अभियानका अध्यक्ष डिल्ली गिरीले बताए। पीडित परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको भन्दै सहयोगका लागि नेपाल बैंक लिमिटेड तेह्रथुममा खड्गबहादुर जोगी बचाऊ अभियान समितिको नाममा खाता खोलिएको समितिका कोषाध्यक्ष कुमार गिरीले बताए। उनले खाता नम्बर ०५४००१०६५७०३२९०००००१ मा रकम जम्मा गरी सहयोग गर्नसमेत अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.