|

सुर्खेत : सुर्खेतमा दुईवटा बस एक आपसमा ठोकिँदा तिन दर्जन बढी यात्रु घाइते भएका छन्। रत्न राजमार्गको सुर्खेत—नेपालगञ्ज सडक खण्डको ठूलो ब्युरेनी भन्ने स्थानमा  बस एक आपसमा ठोकिँदा ४२ यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए। जसमा पाँचजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी श्यामसिंह चौधरीले बताए। घाइतेहरूको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको छ। नेपालगञ्जबाट दैलेख जाँदै ना ४ ख ७०२४ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा३ख ६२१२ नम्बरको बस ब्युरेनीको मोडमा एक आपसमा  ठोकिएको जिल्ला प्रहरी प्रवक्ता चौधरीले जानकारी दिए।

डिएसपी चौधरीका अनुसार घाइतेहरूको संख्या अझै बढ्न सक्छ। दुर्घटनाका घाइतेहरुलाई उद्धार गरेर अस्पताल भर्ना गरिएको छ। मोडमा स्पिडमा रहेका बस एक आपसमा ठोकिएर दुर्घटना भएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.