|

ओखलढुंगा : जिल्लाका सर्वसाधारणको वर्षौंदेखिको बिजुली बाल्ने सपना सपनामै सीमित भएको छ। जिल्ला सदरमुकामका केही भागभन्दा अन्य भूभागमा विद्युत् विस्तार नहुँदा यहाँका स्थानीयको बिजुली बाल्ने सपना सपनामै सीमित भएको हो। जिल्लामा रहेको एक मात्र  सिद्धिचरण नगरपालिकाकामा पनि केही वडाभन्दा अन्य स्थनमा विद्युत् पुगेको छैन। 

ओखलढुंगाका ग्रामीण भूभाग अझै विद्युतविहीन छन्। नगरपालिकाका १२ वडामध्ये अधिकांश वडामा विद्युत् विस्तार हुन सकेको छैन भने अन्य स्थानमा ग्रामीण विद्युतीकरण नहुँदा वर्षौदेखि स्थानीय अन्धकारमा बस्न बाध्य छन्। कतिपय स्थानमा वर्षौदेखि पोल आएका छन्। तर विद्युत् विस्तार गरिएको छैन। कतिपय स्थानमा वर्षौदेखि पोलमा तार टाँगिएको छ तर बत्ती बल्न सकेको छैन।

सिद्धिचरण नगरपालिकाको ११ र १२ ओखलढुंगा जिल्ला सदरमुकामको केन्द्र भागमा पर्छ तिनै वडासँग जोडिएका अन्य वडामासमेत विद्युत् विस्तार भएको छैन।  साविकको ज्यामिरे गाविस अहिलेको वडा ९, साविकको सल्लेरी र बेतीनी-१० र ८, वडा-११ र १२ संग जोडिएका वडा हुन्। तर, यी वडामा समेत विद्युत् सेवा छैन।  वडा-१,२ र ३ का केही घरधुरीमा विद्युत् विस्तार भए पनि अन्य क्षेत्रमा लैजाने काम अलपत्र छ। वडा-६ र ७ मा पनि विद्युत् विस्तार हुन नसकेको स्थानीयले बताए। अहिले वडा ४ र ५ का केही क्षेत्र तथा सदरमुकाम रहेका वडा ११ र १२ मात्रै विद्युत् सेवा पुगेको छ। नगरपालिकाका ८ वटा वडा अझै अन्धकार छन्। 

आफ्नो कार्यकालमा विद्युत् विस्तार गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

सिद्धिचरण नगरपालिकाले भने नगर क्षेत्रमा पाँच वर्षभित्र सबै घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्य लिएको छ। नगरक्षेत्रमा विद्युतीकरण प्राथमिकतामा रहेको सिद्धिचरणका प्रमुख मोहन श्रेष्ठले बताए। कामले चालु आर्थिक वर्षबाट गति लिने उनको भनाइ छ। स्थानीय भने नगरपालिकाको सुस्तताका कारण ग्रामीण विद्युतीकरणको काम ढिला भएको बताउँछन्। नगर क्षेत्रमा त अझै लामै समय ग्रामीण विद्युतीकरणको संभावना छैन भने सदरमुकामनजिक रहेका ४ गाउँपालिकामा समेत ग्रामीण विद्युतीकरणको सपना सपनामै रहने भएको छ। 

जिल्लाको सुनकोशी गाउँ पालिकाले यस वर्ष आफ्नो वार्षिक वजेटबाट दुई करोड ग्रामीण विद्युतीकरणको लागी बिनियोजन गरेको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए। आफ्नो कार्यकाल भित्रै गाउँपालिकाका १० वटा वडामा विद्युतीकरण गरी सक्ने अधिकारीको भनाइ रहेको छ। मानेभञ्ज्याङ्ग गाउँपालिका -१ का केही घरहर"मा विद्युत् विस्तार भएको र वड १, २, ३, ४, ५ र ९ मा यो वर्षमा विद्युत्लाइन बिस्तार गरिने गाउँपालिका प्रमुख मोतिराज राईले बताए। 

गाउँपालिकाले गत वर्ष ५० लाख र चालु आवमा ५० लाख वजेट बिनियोजन गरेर ग्रामीण विद्युतकरणको काम सुरु गरेको भए पनि नेपालविद्युत् प्राधिकरणबाट प्राविधिक सहयोग नपाउँदा काममा ढिलाई भएको राईको भनाई छ। मानेभञ्ज्याङ्ग गाउँपालिकामा विद्युत् अभावकै कारण नेपाल टेलिकमको टावरले काम नगर्दा संचार सेवा समेत प्रभावित हुने गरेको छ। 

मोलुङ्ग गाउँपालिकामा आजसम्म कुनै पनि वडामा केन्द्रीय विद्युत् प्रसारण लाइन बिस्तार भएको छैन। गाउँपालिकाले ५० लाख वजेट बिनियोजन गरी पाँच वर्षभित्र पालिकाका सबै वडामा बिद्यूत बिस्तार हुने गाउँपालिका प्रमुख मणिराज राईले बताएका छन्। आफ्नै गाउँपालिकाको केन्द्र भागबाट बग्ने मोलुङ्ग खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन भए पनि गाउँपालिका अन्धकारमा बस्नु पर्दा दुःख लाग्ने गरेको स्थानीयको भनाई छ। 

चिसंखुगढी गाउँपालिका २, ३ र ६ मा विद्युतीकरण भए पनि अन्य सबै वडा अन्धकारमै रहेका छन्। आफूले आफ्नो कार्यकालभित्र गाउँपालिकाका सबै क्षेत्रमा विद्युत् पुराउने लक्ष लिएको भए पनि विद्युत् प्रधिकरणले प्राविधिक सहयोग नगरेकै कारण गाउँपालिकाले विनियोजन गरेको बजेट कसरी खर्च गर्ने भन्ने अन्योल रहेको गाउँपालिका प्रमुख निशान्त शर्माले बताए। गाउँपालिकाले प्राविधिक सहयोग माग्दा प्रधिकरणका कर्मचारीले फिल्ड गएको भत्ता समेत मागेको उनको भनाई छ। यस बिषयमा नेपाल विद्युत् प्राधिकरण रुम्जाटार ओखलढुंगाका प्रमुख संजीव शाहले नेपाल विद्युत् प्राधिकरणको आफ्नो वजेटको काम गर्दा आफूहरूले नै गर्नु पर्ने र स्थानीय तहको बजेटको काम गर्न जाँदा कर्मचारीहरूले भत्ता माग्नु स्वाभाविक भएकोे बताए। 

जिल्लाको पश्चिमी भूभागमा पर्ने चम्पादेवी, लिखु र खिजीदेम्वामा भने केन्द्रीय विद्युत् बिस्तार आकासको फल आँखा तरी मरजस्तो भएको छ। रामेछापको साँघुटारदेखि चम्पादेवीको घोराखोरी सम्म १० वर्ष अघिदेखि बिजुलका पोलहरू ल्याएर ठेकेदार कम्पनीले राखेको भए पनिआजसम्म पोल समेत गाडिएका छैनन्।रामेछापको साँघुटारबाट साविकका सिंहदेवी, नर्मदेश्वर र रानिवन गाविसका केही परीवारले विद्युत् प्रयोग गरेका भए पनि अझै त्यहाँ पनि ग्रामीण विद्युतीकरण हुन सकेकोे छैन। 

लिखु गाउँपालिकाको वडा- १, २ र ३, चम्पादेवी गाउँपालिका १० मा मात्रै केही परिवारले विद्युत् लाइन बिस्तार गरी उज्यालोमा बसेका छन् भने अन्य स्थानका स्थानीय अन्धकारमा बस्न बाध्य छन्। लिखु गाउँपालिका ६, ७ र ८ का लागी ग्रामीण विद्युतीकरणका लागी तार पोल र ट्रान्फर्मर पुर्‍याएर राखिएको वर्षौ बिते पनि विद्युत् प्राधिकरणको ढिलासुस्तीका कारण आफूहरू पोलमा टाँगिएको तार हेरेर बस्न बाध्य भएको स्थानीयको भनाई छ। 

खिजीदेम्वा गाउँपालिकामा भने अझै केही वर्ष राष्ट्रिय प्रसारण लाइनबाट ग्रामीण विद्युतीकरणको  सम्भावना नभएको प्राधिकरण प्रमुख शाहको भनाइ छ। ग्रामीण क्षेत्रमा विद्युत् विस्तारको काम अलपत्र रहेको विषयमा नेपाल विद्युत् प्राधिकरण रुम्जाटार वितरण केन्द्रका प्रमुख शाहले विगतमा प्राधिकरण र वडाले के-कति बजेट विनियोजन गरेर कसरी काम गरे भन्ने थाहा नभएको र अब त्यस्तो नहुने बताए।  यो वर्ष अत्याधिक पानी परेर ग्रामीण सडक बिग्रिएका कारण समयमा काम गर्न नसकिएको र अव पानी पर्न छाडेपछि काम निरन्तर गरिने उनको भनाई छ। 

ओखलढुंगाका स्थानीयको वर्षौंदेखिको बिजुली बाल्ने सपना अधुरै छ। साविकका गाविस नगरपालिका र गाउँपालिकाको संरचनामा गाभिए पनि ग्रामीण विद्युतीकरणको काम अलपत्र रहँदा नागरिकमा असन्तुष्टि चुलिँदै गएको हो। जनप्रतिनिधि भने विद्युत् विस्तार निरन्तर हुने बताउँछन्। बजेट विनियोजन गरे पनि विद्युत् प्राधिकरणले समन्वय नगर्दा काम गर्न नसकेको जनप्रतिनिधिहरूको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.