|

सुनसरी : धरान घर भएका अखिल नेपाल फुटबल संघ एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई शनिबार बिहान सात बजे इटहरीस्थित क्षेत्रीय रंगशाला पुग्दा ससना बालबालिका विभिन्न जर्सीमा फुटबलमा रमाइरहेका थिए। रंगशाला परिषरमा विभिन्न विद्यालयका र केही सार्वजनिकसहित दर्जनौँ बसहरू पार्किङमा थिए। सयौँको संख्यामा निकै उत्साहका साथ जर्सी र बुटजुत्तासहित फुटबलको पछिपछि दौडिरहेका बालबालिको फुटबल प्रतिको लगाव देखेर राई छेउमै रहेका वरिष्ठ फुटबल प्रशिक्षक दिलीप राईसँग भन्दै थिए, 'यस्तो उत्साहले त नेपाल दक्षिण एसियामै फुटबलमा उत्कृष्ट टिम बन्नेछ।'

एन्फाका मानार्थ उपाध्यक्ष राईले यसो भनिरहँदा विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले इटहरीमा एन्फा ग्रास सुट फुटबल क्याम्प सुरु भइरहेको थियो। अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रमअनुसार फुटबलको आधारभूत तह मानिने ग्रास सुट शनिबारदेखि देशभरका ४७ जिल्ला सुरु भएको छ।

फुटबल प्रतिको क्रेज बालबालिकामा देखेपछि राईले मन्तब्यको क्रममा एन्फाको नयाँ कार्यसमितिले नेपाली फुटबललाई दक्षिण एसियाकै उत्कृष्ट बनाउन लागिपरेको बताए। उनले उमेर समूहको प्रतियोगिता आयोजनालाई पनि प्राथमिकतामा राखेको जानकारी दिए। विगतमा एन्फाको भूमिका प्रभावकारी नभएकै कारण फूटबललाई नै आफ्नो लक्ष्य बनाएर खेल क्षेत्रमा लाग्ने खेलाडीहरूको संख्या नगन्य मात्रामा भएको समेत उल्लेख गरे। उनले स्थानीय तहले पनि खेलकुदलाई महत्व नदिएको आरोप लगाउँदै यस्तै अवस्था रहे थुप्रै प्रतिभावान खेलाडीहरू पनि ओझेलमा पर्न बाध्य हुने औँल्याए।

 इटहरीमा सुरु भएको फुटबल क्याम्पमा सुनसरीका दुई दर्जन बढी संस्थागत र सामुदायिक विद्यालयहरूका पाँच सय बढी विद्यार्थीहरू सहभागी छन्। सुनसरी जिल्ला फुटबल संघको आयोजना इटहरीमा संचालित फुटबल क्याम्पको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उद्घाटन गरिन्। कक्षा ८ सम्मका विद्यार्थी सहभागी रहेको सो क्याम्प हप्ताको एक दिन प्रत्येक शनिबार सञ्चालन हुने कार्यक्रम संयोजक एवं एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए।

चार वर्षसम्म जारी रहने सो क्याम्पका लागि राष्ट्रिय खेलाडीहरूले सहभागी बालबालिकाहरुलाइ फूटबलका आधारभूत सीप सिकाउने मुख्य प्रशिक्षक एवं पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले जानकारी दिए। फुटबल क्षेत्रमा लामो समय ब्यतित गरेका तामाङले आफूले सिकेको सीप तथा कलाको माध्यमबाट बालबालिकालाई सिकाए भविष्यमा प्रतिभावान खेलाडी बनाउने आफ्नो योजना रहेको बताए। फुटबलका लागि सुनसरी उर्वर भूमि भएकाले बालबालिकामा फुटबलप्रतिको क्रेज बढ्नु शुभसंकेत भएको तामाङको बुझाइ छ।

सुनसरीका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरूसमेत सहभागी ग्रास सुट फुटबल क्याम्पका लागि २१ जना प्रशिक्षकहरू खटाइएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए। कार्कीका अनुसार अरू बेला पनि इटहरीको यो रंगशालामा फुटबल सिक्नेको बालबालिकाको मेला नै लाग्ने गर्छ। तर कतैबाट भरपर्दो स्रोत नजुटेकाले बालबालिकाको लागि यस्ता कार्यक्रम गर्न नसकिएको उनले बताए। सुनसरीमा फुटबल टेनिङ आयोजना गर्ने केही एकेडेमीहरू भए पनि बालबालिकाको लागि कमै मात्र सिकाइने गरिएको अवस्थामा एन्फा ग्रास सुट फुटबल क्याम्पले खेलाडी उत्पादनमा ठूलो काम गर्ने पूर्वका फूटबल हस्ती दिलीप राईले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.