|

बाँके : जिल्लाकाे क्षेत्र-३ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायले कसैको व्यक्तिगत स्वार्थका लागि पदबाट राजिनामा नदिने स्पष्ट पारेका छन्। अनौपचारिक भेटका क्रममा नेकपाका महासचिव बिष्णु पौडेलले बामदेव गौतमका लागि ठाउँ छोड्न सक्नुहुन्छ भनी सोधेकाेमा उनले कसैको व्यक्तिगत स्वार्थपूर्तिका लागि जनताले दिएको जनादेशमाथि कुठाराघात गर्न नसक्ने बताएका हुन्।

‘महासचिव विष्णु पौडेलले तपाईं बामदेवका लागि छोड्न सक्नुहुन्छ भन्नुभयो। मैले कसैको व्यक्तिगत स्वार्थका लागि छोड्न सक्दिन भन्ने जवाफ फर्काएँ,’ सांसद रोकायले भने। उनले वर्तमान परिवेश, पार्टी र राज्यलाई आवश्यक परेको खण्डमा बामदेवका लागि राजिनामा दिएर सहयोग गर्न तयार रहेको बताए। तर यसका लागि पार्टीले आधिकारिक निर्णय गर्नुपर्ने उनको भनाई छ। ‘देश, जनता र पार्टीका लागि मैले राजनीति गरेको हुँ। पार्टीलाई आवश्यक परे ज्यान दिन पनि तयार छु। तर कसैको व्यक्तिगत स्वार्थपूर्तिका लागि राजिनामा दिन सक्दिन,’ उनले स्पष्ट पार्दै भने, ‘कसैले भन्दैमा र दबाब दिँदैमा राजिनामा दिन्न।’ 

तत्कालीन माओवादी केन्द्र र एमालेको संयुक्त प्यानलबाट रोकाय बाँके क्षेत्र -३ मा विजयी भएका हुन्। रोकाय ३१ हजार ५९३ मत ल्याई विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी का|ग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत ल्याएका थिए। ‘बाँके क्षेत्र-३ का जनताले आफ्नो मत दिएर मलाई पाँच वर्षका लागि अनुमोदन गरेका छन्। राजिनामा दिएर जनताले दिएको जनादेशको म अवमूल्यन गर्न सक्दिन,’ उनले भने। उनले देश र जनताका लागि राजनीतिमा ५० वर्ष बिताएको बताए।

आफू पनि विकासका योजना बनाउन सक्षम बताएको उनको भनाई छ। ‘मैले छोड्दा देश र जनतालाई फाइदा पुग्छ भने म राजिनामा दिएर सहयोग गर्न तयार छु।नत्र भने म पनि राजनीतिमा पाँच दशक विताएको सक्षम नेता हुँ,’ सांसद रोकायले भने, ‘मैले छोड्दा देश, जनता र पार्टीलाई के के फाइदा हुन्छ त्यो स्पष्ट हुनुपर्‍यो।’ 

पर्यटन राज्य मन्त्री समेत रहेका डोल्पाका सांसद धनबहादृुर बुढालाई राजिनामा दिन लगाएर डोल्पाबाट चुनाव लड्ने बामदेवको योजना पूरा नभएपछि महासचिव पौडेल बाँके क्षेत्र-३ का तत्कालिन एमालेबाट विजयी भएका सांसद रोकायलाई मनाउन थालेका छन्। तर बाँकेबाट चुनाव लड्ने चर्चासँगै उनको तिखो आलोचना भएको छ। 

गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा गौतम बर्दिया क्षेत्र-१ बाट चुनाव लडेका थिए। उनी नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.