|

हुम्ला : चंखेली गाउँपालिका ५ को नेक्पा गाउँ नजिकैको खोलापारी भन्ने वनमा माथिबाट सुख्खा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने चार जना बालबालिका गम्भीर घाइते भएका छन्।

पहिरोमा छोपिएर २४ वर्षीया वसन्ती तामाङ र १३ वर्षीय बाँचु तामाङको ज्यान गएको हो। घाइते हुनेमा ९ वर्षीया विनिता तामाङ र हेमन्त तामाङ, ८ वर्षीय युकेश तामाङ र १३ वर्षीया सुस्मिता तामाङ रहेका छन्। घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि शनिबार साँझ हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गहेन्द्र बोगटीले बताए।

चंखेली ५ नेप्का गाउँमै रहेको डाँफे आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत अस्मिता तामाङलगायतका नजिकैको वनमा जंगली खाँबु टिप्न गएका बेला सुख्खा पहिरो खेसेको हो। फूपु वसन्तीसँग खाँबु टिप्दै गर्दा सुख्खा पहिरो खसेपछि अस्मिताले आफू भागेर बाँच्न सफल भएको बताइन्। उनले भनिन्, 'फूपूसँग बसिरहेको बेला एकासी माथिबाट ठूलो पहिरो आयो। फूपू ढुंगाको आडमा बस्नु भयो। उहाँसँगै बसेकी दुवैजना माथिबाट खसेर आएको पहिरोमा पर्न भयो।' उनले आफू पहिरोबाट भागेर बाँच्न सफल भएको बताइन्।

पहिरोको प्रत्यक्षदर्शीसमेत रहेका चंखेली गाउँपालिका ५ का वडा अध्यक्ष भैरवबहादुर तामाङका अनुसार अस्मिताले घटनाका बारेमा गाउँलेलाई खबर गरेकी थिइन्। 'बिदाको दिन सदुपयोग गर्न वनमा गएका बेला अचानक माथिबाट खसेको सुख्खा पहिरोमा परेर वसन्ती र बाँच तामाङले ज्यान गुमाएका छन् भने अष्मितासँगै चार जना घाइते भएका छन्' वडा अध्यक्ष तामाङले भने।

पहिरो सूचना पाएलगत्तै जिल्ला सदरमुकाम सिमकोटबाट पठाइएको हेलिकोप्टरले चारै जना घाइते बालबालिकालाई उद्धार गरेर सिमकोट ल्याएको थियो। घाइतेमध्ये सुष्मिता र हेमन्त तामाङको अवस्था सामान्य छ भने विनिता र युकेस तामाङको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल हुम्ला निमित्त प्रमुख डा. नवीन रोकायाले बताए।

घाइते भएका दुई जना बालबालिकाको थप उपचारका लागि हेलिकोप्टरबाट शनिबार साँझ नेपालगञ्ज लगिएको छ। पहिरोबाट भएको क्षतिको एकिन विवरण आउन केही समय लाग्ने सहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.