|
कोल

बैतडी : पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्युत बिस्तार भएसँगै बैतडीमा परम्परागत प्रविधिहरु लोप हुँदै गएका छन्।  विद्युतबाट चल्ने धान कुट्ने, मकै र तोरी पिस्ने नयाँ प्रविधिका मिल भित्रिएपछि पानीघट्ट, ढिकी, ओखल, जाँतो, कोलजस्ता परम्परागत प्रविधि लोप हुँदै गएका हुन्। 

विद्युत नपुग्दासम्म गाम्रीण क्षेत्रमा प्रायः देखिने यस्ता परम्परागत सामग्री पछिल्लो समय गाउँमा देख्न मुस्किल छ। आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग नहुने भएको र संरक्षणमा ध्यान नजाँदा परम्परागत सीप हराउँदै गएको हो।

केही वर्षअघिसम्म पनि गाउँगाउँमा रहेका पानीघट्ट, ढिकी, ओखल, जाँतो विद्युत् बिस्तार भएसँगै विस्थापित हुँदै गएको दोगडाकेदार–३ श्रीकोटका गणेश विष्टले बताए। विभिन्न खोलामा सञ्चालनमा रहेका पानीघट्ट पनि बन्द हुने अवस्थामा पुगेका छन्। ‘पहिलापहिला गाउँमा बिजुली नहुँदा र मिल स्थापना नहुँदा पानीघट्टमा घइँचो हुने गरेको थियो,’ विष्टले भने, ‘नयाँ प्रविधिका मिल सञ्चालनमा आएपछि पानीघट्टहरु जीर्ण तथा सुनसान बनेका छन्।’
 

जाँतो

सित्तडका ५६ वर्षीय कृष्णबहादुर कार्की गाउँमा ढिकी र जाँतो विस्थापित हुन पुगेकामा चिन्ता व्यक्त गर्छन्। ‘विगतमा गाउँघरमा ढिकी, जाँतो चल्दा र ढिकी, जातोको आवाज आउँदा पनि गाउँघर रमाइलो हुन्थ्यो, तर अहिले गाउँमा ढिकी घर भत्किसके, जाँतो उखेलिएर फालिसके,’ उनले भने, ‘अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुँदा गाउँ नै सुनसान हुन पुगेको छ।’

एकताका तेल र घीउमा आत्मर्निभर मानिने बैतडीमा पछिल्लो समय तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ। ‘पहिला जिल्लामा प्रसस्त मात्रामा तोरी, तिल, तिरकुलोको खेती गरिन्थ्यो,’ श्रीकोटका कृष्ण विष्टले भने, ‘अहिले त मान्छेहरूले तेलबाली पनि लगाउन छोडे, कोल त हराइसके।’ जलवायु परिवर्तनसँगै उब्जनी कम हुन थालेको र बजारमा सजिलै किन्न पाइने भएकाले पनि कोल हराउँदै गएको स्थनीयको भनाइ छ।

पहिले कोल प्रायः सामुदायिक हुन्थे। गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँद याममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गर्दथे। 

कोल

विगतमा जिल्लाभरि सयौंको संख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन्। दुर्गम गाउँमा रहेका एक दुई वटा कोल पनि प्रयोगविहीन हुँदै गएका छन्। कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने तर बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेती समेत हराउँदै गएको स्थानीय हेमराज गिरीले बताए। 

गाउँका थोरै घरमा अहिले पनि जाँतो र ढिकी रहे पनि प्रयोगविहीन छन्। ढिकी, जाँतो र घट्टमा कुटानी पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि यस्ता परम्परागत प्रविधिको संरक्षण गर्न आवश्यक रहेको कृषिज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्द बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.