|

जाजरकोट : सशस्त्र द्वन्द्वको क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण कार्य अलपत्र परेका छन् । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा सञ्चालित तीन दर्जन भवन निर्माण अधुरै छन्।

मन्त्रालयले आर्थिक वर्ष २०६४/०६५ देखि २०७२/०७३ सम्म तत्कालीन जिल्ला विकास समिति तथा जिल्ला प्राविधिक कार्यालयमार्फत काम गरेको थियो। मन्त्रालयको ‘पीवान’ अन्तर्गतको पुनर्निर्माण तथा पुनस्र्थापना शीर्षकका तीन दर्जन भौतिक संरचना अलपत्र अवस्थामा छन्। पछिल्लो पटक मन्त्रालय खारेज भएको र अन्य मन्त्रालयका साथै स्थानीय तहले ती संरचनामा निर्माणमा वास्ता नगर्दा निर्माण सकिन बाँकी रहेका विद्यालय, खानेपानी, स्वास्थ्य चौकी भवन भत्किने अवस्थामा पुगेका छन्।

निर्माण पूरा हुन बाँकी रहेका संरचना पूर्ण नहुँदा समस्या भइरहेको जनप्रतिनिधिको गुनासो छ। नलगाड नगरपालिका–८ मा विद्यालय भवन अलपत्र परेको छ। सोही ठाउँमा रहेको खानेपानीको योजना समेत अलपत्र परेको छ। 

जिल्ला प्राविधिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा पनि ती संरचना निर्माणका लागि बजेट आएको थियो। तर, स्थानीय तहले अर्कै शीर्षकमा विनियोजन गरेपछि निर्माणाधीन संरचना अलपत्र परेको हो। निर्माणको काम भइरहेको यहाँका संरचनाका काम रोकिएपछि संरचनामा राखिएका फलामका खिया  लागेको छ।

नलगाड नगरपालिकास्थित पञ्च भयार माविको निर्माणाधीन भवन पनि अलपत्र छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालय गृह मन्त्रालयमा गाभिएकाले अबको बजेट त्यसैबाट आउने आशा गरेको विद्यालयका प्रधानाध्यापक हुमप्रकास सिंहले बताए।

जिल्ला समन्वय समिति प्रमुख मनबहादुर रावलले अधुरा संरचना निर्माण गर्न प्रदेश तथा संघीय मन्त्रालयमा रकम माग गरिएको बताए। ‘प्रदेश तथा संघीय मन्त्रालयमा कुरा पनि चलेको छ,’ उनले भने, ‘बनिसकेका संरचना भत्कनुभन्दा थोरै बजेट लगानी गरेर त्यसलाई काममा लगाउनेतर्फ स्थानीय तह तथा जिल्ला समन्वय समितिको ध्यान गएको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.