|

चितवन : जिल्लाको रत्ननगर नगरपालिकाका बालबालिका श्रम छाडेर नियमित विद्यालय जान थालेका छन्। वडानम्बर ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थेँ। आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्न जान्थिन्। त्यही दुई बालक र आमाको कमाईले दैनिकी चल्थ्यो। श्रीमानले अर्काे विहे गरेर हिंडेपछि दुई बालबालिकाको पालनपोषण र शिक्षा दिने जिम्मेवारी विष्णु कै थियो। त्यसैले उनी दैनिकीको जोहो गर्न रातदिन भौतारिन्थिन्।

रत्ननगर उद्योग वाणिज्य संघको बाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रममार्फत परिवारलाई दिइएको सहयोगले शर्मा परिवारिक अवस्था अहिले फेरिएको छ। दुई बालक विद्यालय जान थालेका छन् भने आमा विष्णु शर्मा, रिजालले किराना दोकानबाट राम्रो आम्दानी लिन थालेकी छिन्। त्यो बेलाको सकसको जीवन सम्झँदा अझै कहाली लाग्ने शर्माको अनुभव छ।

सुरुमा उनीहरूलाई संघले एउटा घुम्ती पसल, केही किराना सामग्री र सहकारीमा तीनहजार तिरेर खाता खोलिदिएको थियो। त्यसैबाट बढाएर विष्णुले रत्ननगर नगरपालिका-९ मा तरकारी, फलफूल, पाउरोटी सहितको किराना पसल चलाएकी छिन्। त्यही दोकानको आम्दानीले ८ र ९ कक्षामा पढ्ने छोराहरूको खर्च धानिएको छ। कोठाभाडा र घरखर्च त्यही दोकानको भर छ। उनको दैनिक नाफा नै ५०० देखि एकहजार ५०० सम्म हुन्छ।

काम गर्न सजिलो छ। तरतरी पसिना चुहाउँनु पर्दैन। पहिलो जस्तो पैसाको सकस छैन। बचत गर्ने बानीको विकास भएको छ।' बिहान म सामान किन्न जान्छु। छोराहरूले दोकान हेर्छन्। दिउँसो छोराहरू विद्यालय जान्छन् मैले दोकान हेर्छु।' विष्णु शर्माले हाँस्दै भनिन्। रत्ननगरकै मोनिका विकले विद्यालय छाडेको पत्ता लागेपछि उनको परिवारलाई समेत संघले सिलाई मेशिन दिएर बच्चालाई श्रमबाट छुटायो। मोनिका नियमित विद्यालय जान्छिन् भने आमा सजना कपडा सिलाएर मज्जाले आम्दानी गर्छिन्।

अहिलेको तीजको सिजनमा मात्रै सातहजार ५०० रुपैयाँ सजनाले कमाएको सहकर्मी शर्मिला विकले बताईन्। कपडा सिलाईबाट आएको पैसा सजना र शर्मिलाले आधाआधा बाँड्ने गरेका छन्। पारिवारको आर्थिक अभावका कारण रत्ननगरका गुञ्जमान चेपाङकी छोरी सिया चेपाङ अर्काको घरमा घाँस काट्न जान्थिन्। सचेतना कार्यक्रमसँगै गुञ्जमानलाई ४ वटा बाख्रा सहयोग गरेपछि छोरीको पढाई नियमित भयो। आयआर्जनका काममा परिवारपनि सक्रिय हुन थालेका छन्।

बाख्राबाट परिवारले आम्दानी गर्ने गरेको र सिया पनि नियमित विद्यालय जान थालेको उक्त कार्यक्रमका सामाजिक परिचालक सन्तोष रेग्मीको भनाई छ। उनीहरू एउटा प्रतिनिधि हुन्। परिवारमा दिइएको सहयोगका कारण श्रमिक बालबालिकाहरू विद्यालय जान थालेका छन्। यसरी श्रम गर्न बाध्य ९५ जना बालबालिकालाई परिवारिक मिलन गराई विद्यालयमा भर्ना गरिएको उक्त कार्यक्रमका संयोजक दीपककुमार कर्माचार्यले बताए। 

बालबालिकालाई शैक्षिक सामग्री दिइन्छ भने उनीहरूका अभिभावकलाई सीप र रुचि अनुसारको सहयोग गर्ने गरिएको छ। जसमा सिलाई मेशिन, रिक्सा, ठेलागाडा, किराना सामग्री तथा बुंगुर, पाडी, बाख्रा, कुखुरा र माछापालनमा सहयोग गरिएको छ। यूनिसेफ नेपालको सहयोग तथा रत्ननगर नगरपालिकाको समन्वयमा रत्ननगर उद्योग वाणिज्य संघले बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रम २०७० सालबाट सुरु गरेको हो। आर्थिक अवस्था कमजोर, साथी-संगत र पारिवारिक कलहका कारण यसरी बालबालिकाहरू श्रममा आउन बाध्य भएको सर्वेक्षणले पुष्टि गरेको कार्यक्रम व्यवस्थापक रोजिना श्रेष्ठले बताइन्। 

'आर्थिक अभाव नै मुख्य कारण रहेछ। त्यसैले परिवारलाई सहयोग कार्यक्रम ल्याएका हौं,' श्रेष्ठले भने, 'आयआर्जन राम्रो हुन थालेपछि श्रम छाडेर बालबालिकाहरू विद्यालय जान थालेका छन्।' उनका अनुसार परिवारलाई सचेतनामूलक कार्यक्रममा समेत सहभागी गराउँदै चेतना बृद्धिले पनि बालबालिकाहरू विद्यालयमा नियमित जाने गरेका छन्।

विसं २०७० सालमा सर्वे गर्दा रत्ननगरमा विद्यालय छाडेकासहित गरेर ९०३ जना बालबालिका भेटिएका थिए। विसं २०७३ सालमा बेसलाइन सर्वे गर्दा श्रममा लागेका बालबालिकाको संख्या ४२९ जना भेटिएको थियो। अहिले २०७५सम्म आइपुग्दा संघले उक्त कार्यक्रममार्फत ५३७ जनालाई श्रमबाट छुटाएर आवश्यक सहयोग उपलव्ध गराई विद्यालय पठाएको र उमेर पुगेकाहरू विभिन्न पेशामा आबद्ध गराएको व्यवस्थापक श्रेष्ठको भनाई छ। 

पछिल्ला दिनमा केही श्रमिकहरू थपिएका छन्। उनीहरूलाई समेत श्रमबाट छुटाएर परिवारमा मिलन गराउने र विद्यालय पठाउने योजना कार्यक्रमको छ। पछिल्ला चरणमा भने जनप्रतिनिधिको सहयोग र सचेतना बढेकाले बालश्रमको संख्या घट्दो क्रममा रहेको दावी संघको छ।

संघका अनुसार २५० जना बालबालिकालाई शैक्षिक र व्यवसायिक परामर्श दिइएको छ। १५५ बालबालिकालाई शैक्षिक सामग्री दिइएको, ११५ जनालाई व्यवसायिक तालिम तथा ९५ जनालाई परिवारमा मिलन गराई विद्यालयमा भर्ना गरिएको तथ्यांकमा उल्लेख छ। जसका कारण रत्ननगर नगरपालिका अहिले बालमैत्री नगर बनाउने अभियानमा अघि बढेको छ।

रत्ननगरको वडा ३ बालमैत्री वडा घोषणा गएको र असोजको ५ गते रत्ननगर ५ लाई घोषणा गर्न लागिएको छ। अन्य वडाहरू पनि बालमैत्री घोषणाको प्रक्रियामा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.