|

जनकपुरधाम : रामायणकालीन इतिहास बोकेको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा रहेको वाणगंगा सरोवर उचित संरक्षणको अभावमा लोप हुने खतरामा पुगेको छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको स्थान धनुषाधाम पर्यटन प्रवर्द्धनकाे राम्रो वातावरण भए पनि त्यहाँका धार्मिक तथा ऐतिहासिक स्थानहरूको उचित संरक्षण र प्रचार-प्रसार नहुँदा ओझेलमा पर्दै लोप हुने खतरामा पुगेको हो। 

धनुषाधाम नगरपालिकाको संरक्षित वन क्षेत्रमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वको पवित्र तीर्थस्थल वाणगंगा अर्थात लक्ष्मण सरोवर रामायणकालीन रुपमा परिचित भए पनि यहाँ यसको संरक्षण र प्रवर्द्धन नभएपछि हाल लोपोन्मुख हुन लागेको मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको गुनासो छ। पौराणिक कथन अनुसार त्रेतायुगमा भगवान् रामलाई वनबास भएको समयमा सीतासहित राम र लक्ष्मण सोही स्थान भएर जाँदै गर्दा सीतालाई पानीको प्यास लाग्दा चारैतिर चाहार्दा समेत पानी नभेटिएपछि अन्त्यमा लक्ष्मणले आफ्नो धनुषवाणले धर्तीमा छिद्र पारी राम र सीतालाई पानी खुवाई लक्ष्मण आफैँ स्नान गरेको किंवदन्ती छ। 

लक्ष्मणले आफ्नो धनुष वाणको मद्दतले धर्तीमा छिद्र पारी पानी निकालेको र आफू स्नान समेत गरेकोले यसलाई त्रेतायुगदेखि नै वाणगंगा (लक्ष्मण सरोवर) को नामले परिचित हुन पुगेको हो। सोही वाणगंगा किनारमा देखिने मानिसका पाइला भगवान् रामकै हुन् भनी पूजा हुनुका साथै सीता र लक्ष्मणको प्रतिकको रुपमा मानिदै आएको लक्षमण सरोवर मन्दिरका महन्त ७६ वर्षीय महेन्द्रबहादुर खडकाले जानकारी दिए।

महन्त खडकाले भने,‘धनुषाधामको जंगलभित्र रहेको यस पवित्र स्थलमा जस्तो सुक्कै अनावृष्टि वा अतिवृष्टि हुँदा समेत एकै नासको पानी धर्तीबाट सधैँ निस्किरहन्छ। यसको बहाबमा कुनै कुनै परिवर्तन हुँदैन। यो आफ्नै सुर र तालमा वर्षको ३६५ दिन नै यहाँको पानीले शितलता प्रदान हुने तथा यहाँ स्नान गर्नाले रोग व्याधी निवारण हुने मान्यता छ। र हुन्छ पनि।’

महन्त खडकाले रामायणकालीन चारधाम मध्ये पूर्व झापाको सत्तासीधाम, मध्य सुनसरीको चत्तराधाम, धनुषाको धनुषाधाम र नवलपरासीको त्रिवेणीधाम जस्ता महत्वपूर्ण स्थलहरूको रामायणकालीन भएको र यी धामहरूलाई पर्यटन प्रवर्द्धनको दृष्टिकोणले करिडोरको रुपमा विकास गर्न सकिए आन्तरिक तथा भारतीय पर्यटकको ओइरो लाग्ने विश्वास व्यक्त गरे।  

धार्मिकस्थल धनुषाधाममा रामायणकालीन झ-झल्को दिने धनुष मन्दिर, धनुषा सरोवर लगायतका दजर्नौ स्थलहरू भए पनि सोको संरक्षण र प्रचार-प्रसार गर्न नसकिएकोले दिनानुदिन ओझेलमा पर्दै गएको धनुषाधाम नगरपालिका-८ का गंगा यादव बताउँछन्। रामायणमा उल्लेख भए बमोजिम राजा जनकको दरवारमा धनुषा उठाउने व्यक्तिसँग सीताको विवाह हुने शर्त बमोजिम रामले धनुषा उठाई भाँचेको र तीन टुक्रा भएको मध्ये आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको जनविश्वास छ। सो धनुष टुक्राको मन्दिर समेत स्थापित रहेको छ। र उक्त धनुषको आकार दिन प्रतिदिन बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.