|

जाजरकोट : इलाका प्रशासन कार्यालय इल डोल्पा स्थापना भएको लामो समय वितिसके पनि कार्यालय प्रमुख नहुँदा स्थानीयले सेवा लिन पाएका छैनन्।  
२०७३ असार १ मा कार्यालय स्थापना भयाे तर कर्मचारी नहुँदा स्थानीयले सेवा लिन पाएका छैनन्।

इलाका प्रशासन कार्यालय इलको उदघाटन गरेर नायव सुब्बा जनार्दन रिजाललाई निमित्त प्रमुखमा खटाइ पठाइएको थियो। इलाका प्रशासन कार्यालय उदघाटन भएको २७ महिना बितिसक्दा पनि हालसम्म सरकारले इलाका प्रशासन इलमा प्रमुख पठाउन नसक्दा काम हुन नसकेको हो। अहिले पनि नायव सुब्बा गोरखबहादुर शाहीले निमित्त प्रमुखको काम गर्दै आएका छन्।

नेपाल सरकारको ऐन नियम अनुसार जिल्ला प्रशासन कार्यालयले दिने नागरिकता, राहदानी सिफारिस, विभिन्न अर्ध न्यायिक कार्य लगायतका सेवा सुविधाहरू दिन स्थापना भएको भए पनि कार्यालयमा प्रमुख नहुँदा सवै काम प्रभावित भएका छन्। नेपाल सरकारको नियमानुसार नागरिकता, राहदानी फाराममा सिफारिस, विभिन्न मुद्दा हेर्ने अधिकार अधिकृत कर्मचारीलाई मात्र छ। स्थापना भएदेखि अधिकृत नखटाइएकाले त्यहाँबाट हुनु पर्ने कुनै पनि काम हुन नसकेको जिल्ला प्रशासन कार्यालय डोल्पाले बताएको छ।

जिल्ला सदरमुकाम दुनैदेखि दुरदराजमा रहेको तत्कालीन नर्कु, कालिका र सर्मी गाउँ विकास समिति एवम् हालको मुड्केचुला गाउँपालिकाका सर्वसाधारणहरुलाई नागरिकता, राहदानी सिफारिस लगायतका विभिन्न सेवा सुविधाहरु प्रवाह गर्न स्थापना भएको भए पनि स्थानीयहरूले सेवा लिन पाएका छैनन्।

इलाका प्रशासन कार्यालयबाट दिनु पर्ने सेवा सुविधा दिनका लागि अधिकृत खटाइदिन जिल्ला प्रशासन कार्यालय डोल्पामा बारम्बार मौखिक आग्रह गरिएको र हालसम्म कुनै सुनुवाई नभएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए। उनका अनुसार इलाका प्रशासन छ भनेर के गर्ने नागरिकता बनाउन जनताहरुले दुई दिन हिडेर सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा घाउनु पर्ने दु:ख हटेको छैन।

स्थापना भएको केही समयसम्म इलाका प्रशासन इलको सेवा क्षेत्र भित्रका नागरिकले लिने सेवाका अनुसूची फाराम, निवेदन, माग संकलन गरेर दुनै सिफारिस गरेर पठाउने र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लगायतका कागजातमा सही गरी तथा बनाई दिएर पठाइ दिएपछि इलले वितरण गर्ने गरिएको थियो। त्यसरी लामो प्रक्रिया भएको र सेवाग्राहीले सेवा झन ढिलो हुने भएकाले एकवर्ष अघि तत्कालीन प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले अधिकृत कर्मचारी नखटिएसम्म सबै सेवा सुविधाहरू जिल्ला प्रशासन कार्यालयबाटै दिने निर्णय गरेपछि दुई दिन हिडेर दुनै आई नागरिकता बनाई घर फर्कन हप्ता दिन भन्दा बढी समय लाग्ने गरेको मुड्केचुला गाउंँपालिकाले जनाएको छ।

इलाका प्रशासन कार्यालय इलको सेवा क्षेत्रका नागरिकलाई नागरिकता लगायतका सेवा लिन  दुनै आउनु पर्ने बाध्यता नहटेकाले दुख भएको बताउँदै बारम्बार सम्बन्धित माथिल्ला निकायमा अधिकृत खटाइदिन लिखित र मौखिक अनुरोध गरी पठाइएको तर केन्द्रबाट नखटाइएकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.