|

पाल्पा : नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बच्चालाई सानैदेखि बचत गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन्। उनले भने, 'सानै उमेरदेखि गरेको बचतले ठूलो भएपछि लगानीकर्ता बन्न सक्छन्।'

सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित् 'पैसाको खेती' नामक पुस्तकको आइतबार तानसेनमा विमोचन गर्दै उनले भने 'पैसाको दास होइन पैसाको मालिक बन्ने लक्ष्य राख्नुपर्छ। र बच्चालाई बचत गर्नेतर्फ प्रोत्साहित गर्नुपर्छ। जागिर भनेको पैसाको दास हो, व्यपार व्यवसाय भनेको पैसाको मालिक हो।'

उनले दास बन्ने कि मालिक बनाने भन्ने कुराको निर्धारण सानै उमेरले गर्ने बताए। 'दास बनाउने कि, मालिक बनाउने भन्ने कुराको निर्धारण सानै उमेरले गर्दछ। यसमा अभिभावका सचेत हुनुपर्छ' उनले भने 'आम्दानीअनुसार खर्च गरेर भएको पैसा केही बचत गरेर आफ्नो जीवनलाई सुखी र समृद्धि बनाउन सकिन्छ।'

संसारका धेरै मानिसहरू धेरै पैसाले धनी नभएको भन्दै उनले थोरै पैसाले व्यवसाय गरेर धनी भएको उदाहरण दिए। उनले थोरै पैसालाई पनि अनुशासित भएर सदुपयोग गर्न सके मनग्य आम्दानी गर्न सकिने जिकिर गरे। उनले राष्ट्र बैंकले अध्ययन अनुसन्धान गरेर योजनाबद्ध ढंगबाट ऋण प्रवाह गर्ने योजना बनाएको बताए। उनले नेपालमा पनि कृषि व्यवसायबाट राम्रो आम्दानी गर्ने सकिने बताउँदै सरकारले कृषकका लागि प्रदान गरेको कृषि ऋणको पनि सदुपयोग गर्न आग्रह गरे।

'नेपालमा झण्डै २८ अर्बको धानचामल आयात भएको छ, ११ अर्ब रुपैयाँको तरकारी, ८ अर्ब रुपैयाँको फलफूल र १५ अर्ब रुपैयाँको तेल आयात भएको छ' उनले थपे 'के हामीले नेपालमा उत्पादन बढाउन सक्थेनौँ? हामीले पैसा खोज्न विदेश हिड्यौं। व्यापार व्यवसाय गर्न बाहिर गयौँ। अब देशमै केही गर्ने समय आएको छ। अवसर यहिँ छ, विदेश गएर दास बन्नुभन्दा स्वदेशी माटोमै उत्पादन बढाउन लाग्नु आवश्यक हो'

नव साक्षर समुदायकालागि वित्तिय चेतना जगाउने उद्देश्यले प्रकाशित 'पैसाको खेती' नामक पुस्तकमा पैसा के हो?, बचत कसरी गर्ने ? बैंकमा कारोबार गर्दा हुने फाईदा, ऋण कसरी पाउने र कसरी हिसाब राख्ने? बीमा, लगानी, पारिवारिक बजेट, विप्रेषण, लघु व्यवसाय, सामाजिक सुरक्षा जस्ता विषय उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.