|

काठमाडौं : गजलकार प्रभाती किरण स्टेजमा समसामयिक घटनामा आधारित भएर गजल वाचन सुरु गरे।

'घाउको के कुरा दर्दको के कुरा
भर्छ को चल्छ को सासमा बाँच्नु छ।'

उनको गजल सँगै दर्शक दीर्घामा तालीको वर्षा सुरू भयो। उनले पहिलो चरणमा तीनवटा गजल वाचन गरे। लगत्तै मन्चमा रहेकी गीतकार तथा गजलकार शितल कादम्बिनीले पनि आफ्ना तीनवटा गजल वाचन गरिन्। कार्यक्रम थियो सांस्कृतिक संस्थान र अनाममण्डली संयुक्त रुपमा आयोजनामा गरिएको गजल सन्ध्या।

हरेक महिनाको अन्तिम दिन हुने यस कार्यक्रममा दुई स्रस्टालाई मञ्चमा उभ्याइएको थियो। तीन चरणमा भएको गजल वाचनमा दुबैले नौ /नौ वटा गजल वाचन गरे। पहिलो चरणमा गजल वाचनमा कादम्बिनीले सुनाइन्,

'मनबाट निकालेर मिल्काए पनि मलाई
तिमीलाई थन्काउने म त भण्डार बने।'

गजलकार द्वयले सामाजिक परिवेश र प्रणय भावका गजललाई वाचनमा विशेष महत्व दिएका थिए। किरणले आक्षरिक लय, वर्ण मात्रिक  र शास्त्रीय लयमा आफ्ना गजल प्रस्तुत गरेका थिए। उनका गजलमा जीवनदेखि निरास र आफ्ना दैनिकीहरूलाई वडो लयात्मक तरिकाले गजल प्रस्तुत गरे। 

'उहीँ उस्तै सधैँ जस्तै चटारोले जल्यो छाती 
नयाँ  नौलो समस्याको लठारोले जल्यो छाती।' 

यस्तै गजलकार कादम्बिनीले प्रणय भावका गजलले दर्शकलाई मन्त्रमुग्ध बनाइन्। उनले आफ्ना गजलमा नव यौवना र प्रेमको मूल्य मान्यताका बारेमा सिर्जना गरिएका गजलका सेर प्रस्तुत गरिन्। 

'म हेर्दिन सन्सार म खोल्दिन आँखा
सधैँ आउँ मेरो निदरीमा तिमी।'

नेपाली गजलको स्तरबृद्धिको लागि लामो समयदेखि कार्यरत अनाममण्डलीले विगतमा जस्तै अहिले पनि निरन्तर गजलको क्षेत्रमा काम गर्ने अभिप्रायले यस्तो कार्यक्रमको सुरुवात गरेको कवि तथा गजलकार शैलेन्द्र अधिकारीले बताए। उनले  गजल वाचन पश्चात् गजलको समीक्षात्मक टिप्पणीमा गरेका थिए। नेपाली गजलको उचाई बढाउनका निम्ति किरण र कदम्बिनीका जस्ता हस्तीहरूको जरुरत रहेको बताए।

नेपाली गजलमा सुधार गर्नु पर्ने पक्ष भए पनि गजलको उत्थानका लागि यी र यस्तै गजलकारहरूको खाँचो रहेको उनले धारणा व्यक्त गर्दै भने,'गजलका सेरमा  कल्पनाको उडान उच्च कोटीको हुने र लयात्मक हुने हो भने नेपाली गजलको भविष्य सुन्दर रहेको छ।' कार्यक्रममा विभिन्न क्षेत्रका साहित्य अनुरागीको बाक्लो उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.