कसैलाई पनि पढ्नमा रोक लगाइएको छैन : मदरसा संचालक

|

कपिलवस्तु : मदरसा संचालकले मदरसा प्रवेशमा रोक लगाएपछि कपिलवस्तुमा एक मदरसामा अध्ययनरत २७ जना विद्यार्थी पढ्नबाट वञ्चित भएका छन्।जिल्लाको मायादेवी गाउँपालिका-६ डुमरास्थित जामिया मतउनल बलुम असरुलफिया तोहरत गल्स कलेजमा अध्ययन गर्ने २७ जना विद्यार्थीलाई भदौ २६ गतेदेखि मदरसा प्रवेशमा निषेध गरिएको आइतबार मात्र खुलासा भएको हो। 

भदौ २५ गते राति संचालक अब्दुल रहीत मदिनीका दुई छोरा र उनका भतिजाका छोरा र स्थानीय गाउँलेबीच सामान्य विषयमा झैझगडा भएको थियो। त्यही निहुँमा डुमराका आधादर्जन परिवारका २७ विद्यार्थीलाई मदरसामा पढ्नबाट वञ्चित गराइएको स्थानीय हबीबुर रहमानले बताए। 

मदरसाका मुख्य संचालक अब्दुल रहीम मदिनीले आफूहरूलाई मदरसा प्रवेशमा रोक लगाएको कक्षा १० मा अध्ययरत विद्यार्थी हलीम तरुन्नुले बताइन्। भदौ २६ गते मदरसामा पढ्न जाँदा प्रिन्सिपलसहित शिक्षक शिक्षिकाले कक्षामा प्रवेश गर्न नदिएकोले आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा उजुरी पत्र बुझाउँदै उनले बताइन्। ‘मेरो अभिभावकहरूलाई गाली गलौच गर्दै संचालक रहिमले अबदेखि पढ्न आउनु पर्दैन भने’ उनले दुःखी हुँदै भनिन्, ‘उनीहरूले दुर्व्यवहार र धम्कीपछि म पढ्न गएकी छैन’ पढ्न मन लागे पनि संचालकले रोकेपछि आफ्नो भविस्य अन्धकार भएको उनले बताइन्। 

कक्षा ९ मा अध्ययनरत हलिमा खातुनले प्रिन्सिपल सलमा खातुन, शिक्षिका शोयबा खातुन, बसमा खातुन, अब्दुल रहीमले आफूहरूलाई मदर्सामा छिर्न नदिएपछि पढ्नबाट वंचित भएको बताइन्। ‘हामीहरूका आमाबुवा र दाइहरूलाई तथानाम गाली गरी अबदेखि पढ्न नआउन भनेका छन्। त्यस यता हामी मदरसामा गएका छैनौं’ उनले भनिन्। संचालक र गाउलेहरूका परिवारबीच भएको सामान्य झैंझगडाको चेपुवामा आफूहरू परेको कक्षा ७ मा अध्ययरत रोसीना परबिनले गुनासो गरिन्।

‘आखिर हामीलाई पढनबाट किन रोक लगाइएको छ ’ उनले भनिन्,‘ हामीलाई मदरसामा पढ्न पाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्दछ। स्थानीय अब्दुल कादिरले मदरसाका संचालक मदिनीका छोराहरूका कारण गाउँलेहरू पीडित भएको बताए। उनका अनुसार गतभदाै २५ गते संचालक रहिमका दुई छोरा र भतिजाहरू स्थानीय तालिमुन निसाको घरमा छिरेपछि त्यसै विषयमा विवाद भएको थियो। बिवाद पछि झैझगडा समेत भएको थियो। सो घटनामा संचालकका छोराहरुले कुटाई समेत खाएका थिए। त्यही कारणले गाउलेका छोराछोरीलाई संचालकले मदरसा प्रवेशमा रोक लगाएको उनले बताए। झैझगडापछि दुबै पक्षले एक अर्काबिरुद्ध प्रहरी कार्यालयमा ठाडो उजुरी दिएका थिए। सो विषयमा छलफलपछि मिलापत्र समेत भएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए। 

यसैबीच पीडित विद्यार्थीका ७ परिवार र २७ बालबालिकाले मदरसामा पढ्न पाउनु पर्ने माग गर्दै मदरसाका संचालकबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी पत्र पेश गरेका छन्। उनीहरूले आइतबार दिउँसो सहायक प्रजिअ रामेश्वर अर्याललाई उजुरीपत्र बुझाएका हुन्। गत भदौ २६ गतेदेखि आफूहरूलाई मदरसा संचालकले निकाला गरी पढ्नबाट रोक लगाएको भन्दै उजुरी पत्र दर्ता गराएका छन्।

सहायक प्रजिअ अर्यालले मदरसामा कुनै पनि बहानामा विद्यार्थीलाई पढ्नमा रोक लगाउनु गलत भएको बताए। उनले यस विषयमा बुझेर विद्यार्थीलाई पढ्ने वातावरण मिलाइने बताए। उता मदरसा संचालक मदिनीले मदरसामा कसैलाई पनि पढ्नमा रोक नलगाइएको दाबी गरे। उनले गाउँलेहरूले आफूमाथि झुठो आरोप लगाएको र पुरानो रिसिइबी देखाएको बताए। उनले विद्यार्थी मदरसामा आफैँ पढ्न नआएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.