|

बैतडी : बैतडीसहित सुदूरपश्चिममा सोमबार बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ। विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ।

परम्परागत किंवदन्ती अनुसार भगवान् श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरूले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित दयाकृष्ण पन्तले बताए।

द्वापरयुगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई श्रीकृष्णले दूध चुसी मारेको खुशियालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाउने गरिएको पण्डित पन्तको  भनाइ छ।

सुदूरपश्चिममा भदौ संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा सोमबार साँझपख बूढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ।

भदाै (ओल्के )संक्रान्तिका दिन गाउँ नजिकका टाकुरामा सबै मिलेर रूखका हाँगाबिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढीहालेको’ भन्ने गरिएको छ। गोठालाहरुले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो 'बूढी' बन्छ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। गाई गोठालाहरूले बाँझो जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखबाट निर्मित बूढीलाई साँझपख जलाउने गरिन्छ। प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलिन्छ। साँझपख जलेको पुतनामा काँक्रो चपाएरफाल्दै जोडले 'थुई बूढी थुई' भन्ने गर्छन्। 

दोबाटोमा जलाएको पुतना राक्षसीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन  छ। यसो गरे पशुचौपायामा कुनै रोग नलाग्ने जनविश्वास रहेको छ। त्यस्तै बूढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने चलन छ। यस पर्वमा रातभर डेउडा, भुवा जस्ता कार्यक्रम गरिने चलन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.