बझाङ : सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य अधिकार सुनिश्चित गरेको भए तापनि बझाङ जिल्लाका केही दुर्गम बस्तीका बासीन्दा भने अझै स्वास्थ्य सेवाबाट बञ्चित छन्। गाउँमा स्वास्थ्य संस्था नहुदा जिल्लाको दुर्गाथली गाउँपालिका ६ चुवाबन गाउँका बासीन्दा अझै स्वास्थ्य सेवाबाट बञ्चित छन्।
स्वास्थ्य संस्था नभएपछि सामान्य खालका औषधी पनि गाउँमा नपाउदा उनीहरुले सास्ती भोग्दै आएका छन्। सामान्य बिरामी पर्दा तथा बच्चालाई खोप लगाउन ३ घण्टा पैदल हिँडेर ठाँटा स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको छ।
गाउँबाट ३ घण्टाको दुरीमा स्वास्थ्यसंस्था भएकाले सुत्केरी महिलालाई स्टेक्चरमा बोकेर लैजानु पर्ने बाध्यता छ। औषधीको नाममा सिटामल पनि उपलब्ध नभएपछि चुवावन गाउँका कतिपय बिरामीहरुले अकालमै ज्यान गुमाउनु परेको स्थानीय शान्ति महतले बताँइन्। उनले भनिन् ‘स्वास्थ्य संस्था लैजादै गर्दा गाउँका दुई महिलाले बाटोमै बच्चा जम्माइन्।’
स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका चुवाबनबासी गाउँमा स्वास्थ्य संस्था स्थापना गरिनु पर्ने माग गर्दै आएका छन्। सडक बत्ती र खानेपानी समेत उपभोग गर्न नपाएका चुवाबनबासीलाई देशमा सरकार भए नभएको समेत भान छैन्।
बझाङको अर्को दुर्गम साइपाल गाउँपालिका स्थित धुली र बलौडी गाउँमा पनि स्वास्थ्य संस्थाको अभाव रहेको छ। साईपाल गाउँपालिका स्थानीयले स्वास्थ्य सेवा लिन ४ घण्टा पैदल हिड्नु पर्ने अवस्था रहेको छ। गत वर्ष मात्र धुली गाउँकी एक महिलाको सुत्केरी गराउन सदरमुकाम ल्याउदै गर्दा बाटोमा मुत्यु भएको थियो। सामान्य औषधी उपचार पनि गाउँमा उपलब्ध नहुदा दुर्गमका कतिपय बासीन्दाले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था अझै ब्याप्त छ। दक्ष स्वास्थ्यकर्मीको अभाव भएकाले दुर्गमका गाउँहरुमा अझै स्वास्थ्य सेवा पुरयाउन समस्या रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।