|

उदयपुर : चुरेको वन क्षेत्रमा रहेका वस्तीका वासिन्दा सरकारी सेवा सुविधाबाट वञ्चित रहेका छन्। उदयपुरको पूर्वदेखि पश्चिम क्षेत्रसम्म चुरे पहाड फैलिएको छ। त्यही चुरे पहाडभित्र वर्षौदेखि बसोबास गर्दै आइरहेका वासिन्दा सरकारी सेवा सुविधा समेत नपाएको बताउँछन्।

जिल्लाको चुरे क्षेत्रको मध्यभागमा पर्ने त्रियुगा नगरपालिका, उदयपुरगढी गाँउपालिका र कटारी नगरपालिकामा पर्ने वस्तीका स्थानीयको जनजीवन कष्टकर छ। कटारी–१ मा पर्ने एक्लेसल्लाका २५, हात्तीटारका चार र बाख्रीचरन गाउँ, त्रियुगा नगरपापलिका–५ कोे दमौती, उदयपुरगढी गाउँपालिका–६ को अम्वासीलगायतका  एक दर्जन गाउँमा अझै पनि सरकारी सेवा नपुगेको त्यस क्षेत्रका नागरिकको गुनासो छ।

एक हजार ५०० भन्दा धेरै घुरधुरीको बसोबास रहेको क्षेत्रमा कतै स्वास्थ्यचौकी टाढा छन, भने कतै टेलिफोनको नेटवर्क लाग्दैन। ‘विकासका पूर्वाधारबाट चुरे जंगलबीचमा पर्ने गाँउहरु बञ्चित छन्,’ कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘स्थानीय सरकारले त्यसलाई मध्यनजर गरेर विशेष योजना ल्याएको छ।’

आफ्नै वडा र पालिकाको केन्द्र आइपुग्न चार घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने बाध्यता छ। उनीहरुले सेवा सुविधा बापत नागरिकता, सामाजिक सुरक्षा भत्ता र घटना दर्ताबाहेक अन्य सेवा सुविधा नलिएको बताउँछन्। बालबालिकालाई खोप लगाउनेदेखि दैनिक उपभोग्य वस्तु सिरहा र सप्तरीको बजारमा आश्रित हुनु परेको उनीहरुको गुनासो छ।

कटारी–१ हात्तीटारकी ४७ वर्षीया चन्द्रमाया मगरले उदयपुरको कटारी नगरपालिकाभित्र पर्ने भएपछि गोलबजार जानु पर्ने बाध्यता रहेको बताइन्। ‘बाढी आउँदा त बिरामीलाई अस्पताल पनि लैजान सकिँदैन्,’ उनले थपिन, ‘सरकारले के सेवा सुविधा दिएको छ भन्छन। तर, हामीलाई नागरिकता लिन चार पाँच घण्टा पैदाल हिँड्नु पर्छ, नानीलाई खोप लगाउनु पर्छ भन्ने सुनेको अहिलेसम्म लगाएको छैन।’

पुर्खादेखिको थातथलो भए पनि विकासबाट टाढा र भौगोलिक अवस्थाका कारण सडक, विद्युत सेवा पाउन नसकेको चुरे जंगलभित्रका वस्तीका स्थानीयको भनाइ छ। नगरका जनप्रतिनिधिहरुमा आप्mनै वडाध्यक्षको नाम समेत थाहा नपाएका उनीहरु बताउँछन्।

कृषि पेशामा निर्भर उनीहरुले मुख्य रुपमा गाई, बाख्रा पालनबाट प्राप्त आम्दानीबाट गुजारा गर्न सहयोग पुग्ने गरेको बाख्रीचरनका निर्मला मगरले बताइन्। उनले भनिन्, ‘मकै फल्छ, अनि खसीबोका बजारमा लान्छौं, त्यसैबाट धानेका छौं।’ शिक्षाका लागि कटारीको एक्लेसल्लामा एउटा आधारभुत विद्यालय रहेको छ। अन्य गाउँका विद्यार्थीहरु छिमेकमा रहेको प्रदेश २ का विभिन्न विद्यालयहरुमा घण्टौं पैदल हिँडेर जानुपर्ने बाध्यता छ। 

त्यस क्षेत्रका अधिकांश महिलाहरुले घरमै बच्चा जन्माउने गरेको एक्लासल्लाका छविमाया सुनुवारले बताइन्। उनने भनिन्, ‘अस्पताल जान सक्ने ठाउँ भए पो, घरमै जन्मायौं।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.