|

डडेल्धुरा : शिरमा ढाका टोपी, हातमा घडी, साथमा ‘नेपाल टुर’ लेखिएको साइकल। साइकलमा माथि चन्द्र सूर्य अंकित नेपाली झण्डा। त्यो साइकल समातेर ‘नेपाल साइकल यात्रा’मा निस्किएका ३१ वर्षीय एक युवक।

दार्चुलाको मार्मा गाउँपालिका- ६ शेरीका ईश्वरसिंह महता ‘नेपाल साइकल यात्रा’को सुरुवात गरेका छन्। जीवनमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ दार्चुलको महाकाली नगरपालिका–४ बाट साइकल यात्रा सुरुवात गरेका हुन् महताले। प्रदेश ७ अर्थात् सुदूरपश्चिमअन्तर्गत नौ जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरूलाई देशभर चिनाउने उद्देश्यका साथ गत भदौ १४ गते दार्चुला सदरमुकाम खलंगाबाट महताले साइकल यात्रा आरम्भ गरेका हुन्।

प्रदेश ७ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण प्रदेश भए पनि प्रचार प्रसारको अभावमा अन्य प्रदेशको तुलनामा पछाडि परेको भन्दै पर्यटकीय तथा धार्मिक स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यले साइकल यात्रा सुरुवात गरेको महता बताउँछन्। त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुला सदरमुकाम खलंगाबाट मेची–महाकाली अर्थात् नेपाल साइकल यात्रा शुभारम्भ गरेका उनले देशका ७७ वटै जिल्ला सदरमुकाम पुग्ने बताए।

महताको साथमा यहाँका धार्मिक तथा पर्यटकीयस्थलहरूको फोटो पनि छन्। उनले दार्चुलाको अपी हिमाल, देशकै सातौँ धामको रूपमा चिनिने मालिकार्जुन मन्दिर, बैतडीको निङ्लाशैनी मन्दिर, डडेल्धुराको उग्रतार मन्दिर, कंचनपुरको दोधारा–चाँदनी झोलुंगे पुल, बझाङको सुर्मा मन्दिर, बाजुराको बडिमालिका, अछामको वैद्यनाम मन्दिर, डोटीको शैलेश्वरी मन्दिर र कैलालीको घोडाघोडी तालको फोटोसहित साइकल यात्रा निस्किएका छन्।

‘७ नम्बर प्रदेशअन्तर्गत ९ ओटै जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरूको व्यानरसहित साइकल यात्रामा छु’, शुक्रबार दिउँसो डडेल्धुरा सदरमुकाम पुगेका महताले भने, ‘पर्यटकीय तथा धार्मिक दृष्टिकोणले धनी देशको रूपमा चिनिने नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुन आवश्यक ठानेको छु। मैले प्रत्येक जिल्लामा पुगेर यहाँको धार्मिक, पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराउँदा थोरै भए पनि योगदान पुग्ने अपेक्षा लिएको छु।’

१६ वर्ष विदेशी भूमिमा पसिना बगाए ईश्वरले

गरिब परिवारमा जन्म लिएका ईश्वरले जीवनका ३१ वर्ष पार गर्दा धेरै समस्याहरू भोग्नुपर्‍यो। पारिवारिक अवस्था राम्रो नहुँदा उनले धेरै अध्ययन गरेर ‘राष्ट्र सेवक’ बन्ने उनको चाहना पूरा हुन सकेन। उनले कक्षा ६ सम्म मात्रै अध्ययन गर्न गरे। किताब कापी किन्न पैसा नहुँदा आफूले पढाइ छाडेको उनले थाहाखबरसँगको कुराकानीमा सुनाए।

‘त्यो समयमा कक्षामा पढ्न पनि किताबहरू पनि किन्नुपथ्र्यो, अहिले पो कक्षा १० सम्म निःशुल्क किताब पाइन्छ, किताब किन्न सक्ने मेरो पारिवारिक स्थिति थिएन’, उनले भने, ‘पढाइ छाडेर पैसा कमाउने लक्ष्य बोकेर बाल्यकालमै विदेसिनुपरेको विर्सेको छैन। सुन्तला बेचेरै प्राथमिक तहको शिक्षा हासिल गरेँ। कक्षा ६ भन्दामाथि पढ्न सकिएन।’

जिन्दगीको आधा समय विदेशमै बिताएका ईश्वर महताले जन्मभूमि र देशका लागि केही गर्नुपर्छ भन्ने भावना जागृत भएर साइकल यात्रा सुरुवात गरेको बताए। भारतदेखि, साउदी अरेबिया, कतार जस्ता खाडी मुलकहरूमा वर्षाैं बिताएर स्वदेश फर्किएर राष्ट्रप्रेम ठूलो हुने निष्कर्षमा पुगेर साइकल यात्रामा निस्किएको उनको भनाइ छ।

करिब १३-१४ वर्षको उमेरमा भारतमा कामको सिलसिलामा विदेसिएका महताले भारतमै करिव नौ वर्ष बिताए। उनी २०५७ सालतिर भारत पसेका थिए। ६ कक्षासम्म मात्रै पढेका उनी भारततिर कामको खोजीमा हिँडे, त्यहीँ काम गरे। भारतमा नौ वर्ष काम गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफू घर फर्किएको उनले सुनाए। भारतमा भाडा माझ्नेदेखि लुगा धुने काम गरे उनले। उनी भन्छन्, ‘विदेशमा छँदा मैले सबै काम गरेको छु। मैले नगरेका काम केही नहोलान्।’

भारतमा नौ वर्ष काम गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर घर फर्किएको बताउँदै उनले भने, ‘आर्थिक अवस्थाले केही गर्न सकिएला जस्तो लागेन अनि फेरि म विदेश गएँ।’ भारतबाट आएर पनि १८ वर्षको उमेरमा विवाह गरे उनले। घरको जेठो छोरा भएकाले पनि उनको काँधमा जिम्मेवारी बढी थियो। उनको घरमा अहिले बुवा, श्रीमती, एक छोरा र एक छोरी छन्। साथमा भाइ र भाइबुहारी पनि।

उनले साउदी अरबमा चार वर्ष बिताए। सन् २००७ मा साउदी छिरेका उनी २०१३ मा मात्रै देश फर्किए। उनी भन्छन्, ‘त्यसपछि मैले देशमै केही गर्नु पर्‍यो भनेर काठमाडौंमा ट्याक्सी पनि चलाएँ तर त्यहाँ पनि केही भएन। आर्थिक अवस्था आफूसँग कम थियो। त्यसपछि फेरि म कतार गएँ।’ कतारमा तीन वर्ष काम गरेको अनुभव उनीसँग छ। 

उनले त्यहाँ सवारी चालकको रूपमा काम गरे। उनी सन् २०१५ मा कतार पसे र एक महिना अगाडि मात्रै देश फर्किएका छन्। त्यसपछि उनी साइकल यात्रामा निस्किएका छन्। 

ईश्वरले प्रदेश ७ चिनाउन किन साइकल यात्रा सुरु गरे?

जिन्दगीका १६्-१७ वर्ष विदेशमा बिताएका ईश्वरले प्रदेश ७ अर्थात् सुदूरपश्चिमलाई लिएर धेरै प्रश्नको सामना गर्नुपर्‍यो। ‘धैरै ठाउँमा घर कहाँ हो भाइ? भन्ने अनि मैले मेरो घर दार्चुला हो भन्दाखेरि ए, दार्चुला पनि नेपालमा पर्छ र? त्यो जिल्लाको त नाम नै सुनेको थिएन त?’ विगतमा सामना गर्नुपरेका प्रश्न सम्झँदै उनले थाहाखबरसँग भने, ‘विदेशमा बस्दा साथीहरूले पनि सुदूरपश्चिमतिर प्रायः सबै अशिक्षित मात्रै छन् कि क्या हो? तिम्रो सुदूरपश्चिमको त नाम नै सुनिदैन त हो भन्थे।’ 

विगतमा सुन्नुपरेका हरेक प्रश्नको जवाफ दिन पनि आफूले प्रदेश ७ (सुदूरपश्चिम) चिनाउन साइकल यात्रा सुरु गरेको उनले सुनाए। ‘विदेशमा बस्दा यस्ता धेरै प्रश्नको सामना गरेँ अनि मैले सोचेँ अब सुदूरपश्चिमलाई चिनाएर छाड्नुपर्छ। अनि मैले साइकल यात्रा सुरु गरेको हुँ’, उनले भने, ‘सुदूरपश्चिममा पनि यस्ता साहासी छन् भन्नका लागि पनि हो यो साइकल यात्रा।’

नेपाल प्राकृतिक र धार्मिक दृष्टिकोणले धनी देश भए पनि लाखाँै युवाहरू विदेशमा पसिना बगाइरहेका भन्दै उनले प्रदेश ७ का धार्मिक तथा पर्यटकीय क्षेत्रहरूबाट आफ्नो यात्रा सुरु भएको सुनाए। प्रदेश ७ अर्थात् सुदूरपश्चिममा थुप्रै पर्यटकीय क्षेत्र भए पनि प्रचार प्रसार हुन नसकेको उनको भनाइ छ। 

यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार र विकास गर्न सके यस क्षेत्रका युवाले विभिन्न किसिमका काम पाउने उनको बुझाइ छ। ‘हाम्रो यहाँ धेरै धार्मिक पर्यटनको सम्भावना छ। यिनीहरूको प्रचार प्रसारको कमीले गर्दा पनि हामी बेरोजगार हुनुपरेको छ’, उनले भने, ‘आज मैले यो अभियान थालेको छु। भोलि मेरो यो अभियान देखेर अर्को अन्य यहाँका दाजुभाइहरूले पनि अभियान थाल्छन् होला।’

‘स्थानीय तहको साथ पाइएन’

आफूले नेपाल साइकल यात्रा निस्किँदा स्थानीय सरकार र गृहजिल्लाको साथ सहयोग नपाएको उनले दुखेसो गरे। स्थानीयस्तरका साथीहरूले आफ्नो हौसला घटाउने काम गरेको उनले बताए। 

‘मैले राम्रो अभियानका थालनी गरेको थिएँ तर गाउँघरमा हाँसोको पात्र मात्रै बन्न पुगेँ। तैँले अनौठो काम गरिस्, एउटा मात्रै गरेर हुन्छ भनेर साथीहरू भन्न थाले’, उनले भने, ‘मेरो हौसला घटाउने काम भयो। बढाउने काम भएन। स्थानीय तहबाट पनि कुनै सहयोग भएन तर अपेक्षा गरेको थिएँ।’ सहयोग नपाए पनि आफूले ‘नेपाल टुर’ गरेर सुदूरपश्चिमलाई चिनाएरै छाड्ने उनको भनाइ छ। 

नेपाल टुरपछि एसिया भ्रमण

उनले नेपाल टुर सकिएपछि सुदूरपश्चिमलाई नै चिनाउन एसिया भ्रमण गर्ने आफ्नो योजना रहेको बताए। ‘मलाई आर्थिक र स्वास्थ्यले साथ दिएपछि दोस्रो अभियानका रूपमा सुदूरपश्चिमलाई एसियामै चिनाउन एसिया भ्रमणमा निस्कन्छु’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.