|

काठमाडौं : नायिका आँचल शर्मा अहिलेको समयकी चर्चित नायिकामा पर्छिन्। उनको अभिनय र सुन्दरतालाई दर्शकले रुचाइरहेका पनि छन्। 'नाइँ नभन्नू ल' सिरिजको चौथो संस्करणबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी आँचलले 'जोनी जेन्टलम्यान', 'शत्रु गते', 'ब्ल्याक'मा अभिनय गरिसकेकी छिन्।

नायिका आँचल शर्मालाई फिल्म क्षेत्रमा कुनै रुचि थिएन। उनलाई फिल्म क्षेत्रका बारेमा खासै थाहा पनि थिएन। फिल्म हेर्नका लागि रुचि पनि थिएन उनमा।

मोटी भएका कारण तौल घटाउन उनी जुम्बा डान्स जाने गर्थिन्। जुम्बा गइरहँदा उनलाई एकजनाले फिल्म 'नाइँ नभन्नू ल ४' का लागि अडिसन भइरहेको बताए। उनैले आँचललाई 'अडिसन' दिन जान सुझाए। उनी भन्छिन्, 'मलाई जुम्बामा सँधै भेट भइरहने चिरन दाइले मुस्कान ढकाल दाइसँग चिनाइदिनुभयो। भए हुन्छ, नभए हुन्न भनेर अडिसन दिन गएँ।' मुस्कान उक्त फिल्मका सहायक निर्देशक थिए।

आँचल अडिसन दिन जाँदा उनलाई हुन्न भनेर फिर्ता पठाइएको थियो। पछि फेरि अडिसन दिन बोलाइयो अनि हुन्छ भनियो। आँचल सम्झिन्छिन्, 'पहिलो पटक अडिसनमा जाँदा हुन्न भनियो। पछि फेरि अडिसनमा बेलाउनुभयो अनि 'सेलेक्ट' भएँ।'

नचिनेको को-एक्टर

आँचलको रोचक कुरा त के भने उनलाई नेपालमा म्युजिक भिडियो बन्छ भन्ने थाहा थिएन। 'फिल्म बन्छ थाहा थियो तर हेर्दिनँथेँ', उनी भन्छिन्, 'म्युजिक भिडियो बन्छ भन्ने त थाहा नि थिएन।'

डेब्यु फिल्म 'नाइँ नभन्नू ल ४' मा उनको जोडीका रूपमा म्युजिक भिडियोमा स्थापित कलाकार पल शाह थिए। तर आँचलले पललाई पनि चिनेकी थिइनन्। 'पछि पलजीले भन्नुहुन्थ्यो मेरो फ्यानहरू छन्। म छक्क पर्थें', उनले हाँस्दै भनिन्, 'म्युजिक भिडियोमा काम गरेर पनि फ्यान हुन्छ भनेर हाँसो लाग्थ्यो।'

सुटिङको पहिलो दिन : १० टेकमा ओके भएको त्यो सिन

सुटिङको पहिलो दिन अनि पहिलो टेक। एअरपोर्टमा चारतिरबाट क्यामेरा लगाएर छायाङ्कनको तयारी भइरहेको थियो। पहिलो पटक क्यामेरा फेस गर्न लागेकी आँचललाई कुनै डर थिएन। 'के गर्ने भन्ने नै केही थाहा थिएन', उनी हाँस्दै भन्छिन्, 'बरु मलाई किनकिन एकदमै हाँसो लागिरहेको थियो।'

छायाङ्कन सुरु भयो। निर्देशक विकासराज आचार्यले 'एक्सन' भने। आँचलले पलसँग रिसाउँदै हिँड्नुपर्ने दृश्य थियो। आँचल हिँडिन् पनि तर हिँडाइ पूरा नहुँदै विकासले कट भने। पहिलो 'सट' ओके भएन। उनी भन्छिन्, 'नौ पटक हिँड्दा पनि 'ओके' भएन भन्नुभयो अनि दशौँ पटकमा चाहिँ ओके भन्नुभएको थियो।' तर पछि उक्त दृश्य फिल्ममा राखिएन। उक्त दृश्यलाई नयाँ लोकेसनमा खिचियो।

फिल्ममा नशा लगाइदिने नाइँ नभन्नू ल ४

आँचललाई फिल्म खेल्छु भन्ने थिएन। उनी भन्छिन्, 'मौका पाइहालेँ, खेल्दिऊँ न त भनेर नाइँ नभन्नू ल ४ मा काम गरेकी थिएँ।' एउटा मात्र फिल्म खेलेर यो क्षेत्रमा नरहने उनको सोच थियो। तर नाइँ नभन्नू ल ४ ले उनको सोच बदलिदियो। 'एक फिल्म खेलेर यो क्षेत्र छोड्छु भन्ने थियो', उनी भन्छिन्, 'कलाकारिता नशा हो भन्थे। हो रहेछ। यस फिल्मले मलाई पनि फिल्ममा नशा लगाइदियो।'

फिल्म एकदमै हिट भयो। आँचलले त्यसपछि लगातार फिल्ममा काम गरिरहेकी छन्। आफू यो स्थानमा पुग्नुको सम्पूर्ण 'क्रेडिट' नाइँ नभन्नू ल ४ टिमलाई दिन्छिन् उनी। भन्छिन्, 'मलाई अहिले आँचल शर्मा भनेर चिनाउने काम नै नाइँ नभन्नू ल ४ ले गरेको छ। त्यसैले उक्त टिमप्रति धेरै आभारी छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.