|

जाजरकोट :  कञ्‍चनपुरमा  हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै सोमबार जाजरकोटमा प्रदर्शन भएको छ। आयोग मात्र बनाउने तर सत्यतथ्य सार्वजानिक नगरेको भन्दै जिल्लाका महिला, युवा, बालाबालिका र अन्य सर्वसाधारणहरुले  प्रदर्शन गरेका हुन्।  स्थानीय महिला  युवा र बालबालिकाहरुले  घटना भएको दुई महिनासम्म पनि  हत्यारा पत्ता लगाउन नसकेको भन्दै जाजरकोटका विद्यार्थी विद्यालयमा छाडेर आन्दोलमा उत्रिएका हुन्।

स्थानीय जाजरकोट युवा क्रिकेट क्लबमा आबद्ध युवाहरुको अगुवाइमा भएको  सरकारविरुद्धको र्‍यालीमा   दुई हजार बढीको सहभागिता रहेको थियो। जिल्ला सदरमुकाम खलंगाका पूरै बजारहरु परिक्रमा गर्दै सरकारविरुद्ध चर्का नारा  लगाउँदै प्रदर्शनमा उत्रिएका उनीहरुले  दुईतिहाइको वाम सरकार जनतालाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखे। स्थानीय ठाँटीबजारबाट सुरु भएको सयौँ बालबालिका, युवायुवती र महिलाहरुको  जुलुसले  थाप्लेचौर, गैरीखाली, दरवार  र पीपलडाँडा हुँदै पूरै खलंगा बजारको परिक्रमा गरेको थियो।

प्रदर्शनकारीहरुले  घटनाका अपराधीलाई  फाँसीको माग गर्दै हत्यारालाई  पक्रन नसकेको भन्दै गृहमन्त्री  रामबहादुर थापा र प्रधानमन्त्री केपी ओलीको राजीनामासमेत मागेका छन्। सदरमुकाम खलंगाका विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयका विद्यार्थीहरु, महिला, युवा  खेलाडी, पत्रकार किसान मजदुर  सबैको सहभागिता रहेको  उक्त जुलुस  स्थानीय ठाँटीबजारमा पुगरे कोणसभामा परिणत भएको थियो। निर्मलालाई न्याय दे, जनतालाई सुरक्षा दे, हामीलाई  शान्ति र न्याय चाहिन्छ, दुईतिहाइ सरकार मुर्दावादजस्ता नारा लगाउँदै प्रदर्शनमा  उत्रिएर  सरकारविरुद्ध आक्रोशित युवा विद्यार्थी र महिलाहरले सरकारले जनताको सुरक्षा गर्न नसकेको आरोप लगाए।

 जुलुसपछि आयोजित  कोण सभामा बोल्दै स्थानीय युवाहरुले  देशमा जनताको सरकार भएर पनि  जनताका हत्यारालाई कारबाही हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए।  जनताकी छोरी बलात्कृत भएर हत्या गरिँदा पनि   जनताको भोटले बनेको  वाम  सरकारले केही गर्न सक्दैन भने देशमा सरकार हुनु र  नहुनुमा  केही फरक नपर्ने युवा अनिशकुमार कार्कीले बताए। सरकारविरुद्धको प्रदर्शनमा  नवगठित  नेकपालगायत अन्य पार्टीलाई समर्थन गर्ने युवा महिला  र विद्यार्थीहरुको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.