|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीदेखि सरकारमा सहभागी मन्त्रीहरूले प्रदेशलाई समृद्ध र सबल बनाउन प्रतिबद्धता प्रायः हरेक मञ्चबाट दिँदै आएका छन्। राउतको नेतृत्वमा सरकार गठन भएको झण्डै सात महिना पूरा भइसकेको छ। तर, प्रदेशलाई समृद्ध बनाउने गरी सरकारले न कुनै काम गर्न सकेको छ न त कुनै योजना नै बनाएर अघि बढाउन सकेको छ।

सरकारले काम दिन नसकेपछि झण्डै तीन सातादेखि प्रदेश संसदको गतिविधि ठप्प प्रायः छ। संसदले बिजनेस नपाउँदा गत भदौ १६ अनिश्चित कालका लागि स्थगित गरिएको सदन हालसम्म सञ्चालनमा आउन सकेको छैन।  अझ एक सप्ताह सञ्चालनमा आउने कुनै छाँटकाँट नदेखिएको कार्य व्यवस्था परामर्श समितिका एक सदस्यले जानकारी दिए। यसअघि, पनि भदौ २ अनिश्चितकालको लागि स्थगित गरिएको बैठक १२ दिनपश्चात भदौ १४ गते बसेको थियो। यसरी विगत दुई साताको अन्तरालमा प्रदेश सदनमा सरकारले दुईवटा विधेयक मात्र दर्ता गर्न सकेको छ। 

यसरी प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारले विधेयकहरू ल्याउन नसक्दा सदनको गतिविधि अगाडि बढ्न नसकेको सत्तापक्षधर दलका साथै प्रतिपक्षी दलका सांसदहरूले आरोप लगाउन थालेका छन्। सरकारको ढिलासुस्ती र उदासीनताका कारण आफूहरू पनि कामविहीन अवस्थामा पुगेको कतिपय सांसदहरूको भनाइ छ।

सत्तापक्षधर सांसद मनीष सुमनले सदनमै यसअघि सरकारले गर्नुपर्नेमा काम नगरेर सानो तिनो भाषणवाजीमा अडकेको आरोप लगाएका थिए। कानुन निर्माण जस्ता महत्वपूर्ण कार्यलाई छोडेर मुख्यमन्त्रीदेखि सरकारका मन्त्रीहरू सार्वजनिक कार्यक्रमहरूमा व्यस्त हुन थालेको आरोपसमेत विगतदेखि नै लाग्दै आएको छ। मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्ट जनकपुरधामको रामानन्द चोकमा एक मेडिकल ल्यावरोटरिजको कार्यक्रममा मुख्यमन्त्री उद्घाटन गर्न पुग्दा आलोचना खेप्नु परेको थियो। यसैगरी गत साता मात्र मुख्यमन्त्रीसहित अन्य ८ मन्त्रीहरू एउटै कार्यक्रममा सहभागी भएपछि वन उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले समाजिक सञ्जालमा सरकारको चर्को आलोचना गरेका थिए। 

नेकपाका प्रदेश सांसद तथा संसदीय दलका दाबेदारमध्ये एक प्रदेशसभा सांसद रामचन्द्र मण्डलले मुख्यमन्त्री बाहिरबाट राम्रो देखिए पनि भित्रबाट संकीर्ण मानसिकता लिएर बाँचिरहको आरोप लगाए। प्रदेशलाई समृद्ध बनाउन भाषण गरे पनि मुख्यमन्त्रीले कुनै ठोस योजना ल्याउन नसकेको मण्डलले आरोप छ।
सांसद मण्डलले भने,‘संघीयताको सफलता र असफलता प्रदेश-२ मा निर्भर छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.