|

काठमाडौं : केही दिन अगाडि वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डा. ऋषिकुमार काफ्लेलाई भेट्न पुग्दा डा. काफ्ले बिहानको खाना खाँदै थिए। बिहानदेखि ओपिडीमा बिरामी हेर्न बसेका उनलाई बिहानको खाना खान दिउँसो ३ बजे बल्ल समयको मिलेको थियो। ‘बिरामी हेर्दाहेर्दै खाना खान समय मिलेन, बल्ल खाना खाएँ' भन्दै डा. काफ्ले कुरा गर्न थाले।

जस्तोसुकै प्रतिकूल परिवेशमा पनि सधैँ आफूलाई रसिक रूपमा प्रस्तुत हुनु उनको विशेषता हो। विगत ४० वर्षदेखि मिर्गौला रोगको उपचारका क्षेत्रमा सक्रिय डा. काफ्ले उमेरको छ दशकभन्दा लामो समयमा पनि उति नै सक्रिय छन्। ४० वर्षभन्दा लामो चिकित्सकीय जीवनको दौडानमा उनका व्यक्तिगत र व्यावसायिक जीवनमा धेरै अप्ठ्यारा परिस्थितिहरू आए पनि उनी कहिल्यै विचलित भएनन्।

६४ वर्ष अगाडि रामेछापको ढुंगेछापमा सामान्य परिवारमा जन्मिएका काफ्लेले ५ कक्षासम्म पढ्न घरदेखि एक घन्टा हिँडेर सालुमा रहेको स्कुल पढ्न जान्थे। एक दिन उनको घरमा चोरी भयो। घरका सबै समान चोरी भएपछि उनका हजुरबाले आफ्ना छोराहरूलाई काठमाडौं पैसा कमाउन पठाए। बुबाहरू काठमाडौंमा डेरा लिएर बस्न थालेपछि डा. काफ्लेका बुबाले छोराहरूलाई यतै पढाउन ल्याए। पद्मोदय हाइस्कुलबाट बाँकी स्कुले तहको पढाइ पूरा गरेका काफ्लेले एसएलसी प्रथम श्रेणीमा पास गरे।

२०२५ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि उनलाई आइएस्सी पढ्ने बेला ठूलै अप्ठ्यारो भयो उनलाई। परिवारले चिकित्सक बनाउने रहरसहित बायोलोजी पढ्न दबाब दियो, उनलाई भने इन्जिनियर बन्ने इच्छाले म्याथ पढ्न इच्छा थियो। परिवारको इच्छा अगाडि उनको इच्छाको केही लागेन र बायोलोजी नै पढे।

उनले भने, ‘हाम्रो परिवारमा कोही डाक्टर नभएर र मेरो पढाइ राम्रो देखेर घरमा मलाई छोरो डाक्टर बनोस् भनेर बायोलोजी पढ्न दबाब दिइयो, मलाई भने म्याथ पढेर इन्जिनियर बन्ने इच्छा थियो।'

एसएलसीमा प्रथम श्रेणी ल्याएका उनले आइएस्सी भने दोस्रो श्रेणीमा पास गरे। आइएस्सीको नतिजाले उनलाई चिकित्सक बन्नका लागि छात्रवृत्ति नपाइने परिस्थिति आयो। तर पछि उनले सोभियत संघबाट एमबिबिएस पढ्न मौका पाएपछि २०२९ सालमा मस्कोमा एमबिबिएस पढ्न गएपछि उनको चिकित्सक बन्ने बाटो खुल्यो रे!

योजनाबिनै मिर्गौला रोग विशेषज्ञ

मस्कोमा एमबिबिएस पढिसकेपछि कुन विषयमा विशेषज्ञयता हासिल गर्ने भन्ने दुविधामा रहेका उनलाई त्यतिबेला आफूभन्दा सिनियर साथीले नेपालमा मिर्गौला रोग विशेषज्ञ कोही छैन, यहीँ पढ्ने सल्लाह दिएपछि उनी यही विषय पढ्ने निर्णय गरेको उनले सुनाए।

‘एमबिबिएस पूरा गरेपछि कुन विषयमा विशेषज्ञयता हासिल गर्ने भन्ने दुविधामा थिएँ', उनले भने, 'यही बेला मेरो सिनियर साथी डा. अग्निभूषण उपाध्याय र डा. दीर्घसिंह बमले नेपालमा मिर्गौला रोग विशेषज्ञ रहेनछ, पढ्ने भए पढ भनेपछि मैले मेरो प्रोफेसरलाई नेपालमा मिर्गौलाको डाक्टर छैनन् रे मलाई पढ्न दिने हो? भनेपछि उहाँले पढ्ने वातावरण मिलाइदिनुभयो।'

मिर्गौलाका बिरामी नै छैनन् भनेर काम पाउनै मुस्किल

यसरी २०३८ मा मिर्गौला रोगमा विशेषज्ञता हासिल गरेपछि नेपाल फर्किए उनी नेपाल फर्कंदा एक जना डा. पुष्करलाल छन्त्याल मात्र मिर्गौला रोग विशेषज्ञ थिए। नेपाल आइसकेपछि तत्कालीन स्वास्थ्य सेवा विभागमा पुगेर त्यस बेलाका नायव महाप्रवन्धक डा. नर्वदाराज मास्केलाई आफू मिर्गौला रोग विशेषज्ञ भएर आएको, अब काम गर्नुपर्‍यो भन्दा उनले 'मिर्गौलाका बिरामी नै छैनन्, तिमीलाई के काम दिनु?' भनेको डा. काफ्लेलाई अहिलेझैँ लाग्छ। उनले भने, ‘पढेर आइसेपछि त्यस बेलाका डिजी डा. मास्केलाई भेट्न गएको थिएँ, उहाँले के पढेर आयौ? भन्नुभयो, मैले नेफ्रोलोजी भन्दा तिमीलाई कहाँ जागिर दिऊँ त? नेफ्रोलोजीका त बिरामी नै छैनन् भन्नुभएको थियो।'

सुरुमा आफूलाई नेफ्रोलोजी पढेकाको काम नै छैन भन्ने त्यसबेलाका डिजी केही समय अगाडि आफूसँग मिर्गौला उपचार गर्न आएको क्षण उनको जीवनको सबैभन्दा खुसीको क्षण भएको डा. काफ्लेले सुनाए। उनले भने, ‘नेफ्रोलोजीका बिरामी नै छैनन्, के काम दिऊँ भन्ने उहाँले केही समय अगाडि काफ्ले तिमी कहाँ छौ भन्दै मसँग मिर्गौला जचाउन आउनुभयो। पहिले के काम दिऊँ भन्ने सर मसँगै उपचार गर्न आउनु नै मेरो जीवनको सबैभन्दा खुसीको क्षण बन्यो।'

‘डायलाइसिसको बेला बिरामीहरू चिच्याउने कराउने अवस्था हुन्थ्यो।यस्तो अवस्था नारायण गोपाललाई पनि हुन्छ भनेर हामीले उहाँलाई अप्ठ्यारो भयो भने नचिच्याउनु होला, हामीलाई बोलाउनु होला भन्थ्यौँ। उहाँले चाहिँ म गीतै गाइदिउँला नि भन्नुहुन्थ्यो, कहिलेकाहीँ त गीत पनि गाउनुहुन्थ्यो।'

सुरुमा उनले त्यसबेला वीर अस्पतालसँगै रहेको सेन्ट्रल चेस्ट क्लिनिकमा रहेको टिबीको उपचार हुने ठाउँमा काम गरेपछि लहान अस्पताल, कान्ति बाल अस्पताल, दुई वर्ष पोखरा क्षेत्रीय अस्पतालमा काम गरेपछि २०४३ देखि २०५३ सालसम्म वीर अस्पतालमा काम गरे। वीरमा काम गर्दागर्दै नेपालमा विस्तारै मिर्गौला रोगका बिरामी बढ्दै गएकाले आजभन्दा ३० वर्ष अगाडि वीर अस्पतालमा डा. पुस्करलाल छन्त्याल, डा. सुधा खकुरेल र डा. काफ्लेको नेतृत्वमा तीनवटा डायलाइसिस मेसिनसहित मिर्गौला रोगीका लागि डायलाइसिस सेवा सुरु भयो।

 नारायण गोपालले डायलायसिस गर्दागर्दै गीत गाइदिन्छु भनेपछि

२०४७ सालमा भर्खरै नेपालमा मिर्गौला रोगको उपचारका लागि वीर अस्पतालमा डायलाइसिस् सेवा सुरु भएको थियो। त्यही बेला स्वर सम्राट नारायण गोपाललाई उपचारका लागि ल्याइयो। मधुमेहको कारण मिर्गौलाले काम गर्न छोडिसकेको हुनाले उनलाई डायलाइसिसमा राख्नुपर्ने थियो। डायलाइसिसमा बसेको बेला प्रेसर लो भएर बिरामीहरू धेरै कराउने अवस्था आउँछ। यो अवस्था नारायण गोपाललाई पनि देखिन्थ्यो। आफूलाई अप्ठ्यारो भएको बेलामा उनले अस्पतालको वेडमै गीत गुनगुनाउने गरेको उनले सुनाए।

उनले भने, ‘डायलाइसिसको बेला बिरामीहरू चिच्याउने कराउने अवस्था हुन्थ्यो।यस्तो अवस्था नारायण गोपाललाई पनि हुन्छ भनेर हामीले उहाँलाई अप्ठ्यारो भयो भने नचिच्याउनु होला, हामीलाई बोलाउनु होला भन्थ्यौँ। उहाँले चाहिँ म गीतै गाइदिउँला नि भन्नुहुन्थ्यो, कहिलेकाहीँ त गीत पनि गाउनुहुन्थ्यो।'

डा. काफ्लेको आजसम्मको चिकित्सकीय पेसामा कति धेरै बिरामीलाई उपचार गरे भनेर संख्यामा हिसाब नगरे पनि उनले धेरैलाई मृत्युबाट बचाइसकेका छन्। उनकै रेखदेखमा रहेर धेरैको जीवन लम्बिएको छ। केही समयअघि निधन भएका साहित्यकार तथा संचारकर्मी दाहाल यज्ञनिधि आजसम्म डा. काफ्लेसँग लामो समय उपचार गर्ने बिरामी भएको उने बताए। उनले भने, ‘दाहाल यज्ञनिधि मसँग लामो समय उपचारमा बस्नुभयो। सुरुमा उहाँ डायलाइसिसमा बस्न मान्नुभएको थिएन तर उहाँ डायलाइसिसमा बसेरै लामो जीवन बाँच्न सक्नुभयो।' 

लामो समयआफूसँग उपचारमा बसेको भएर उनलाई दाहाल यज्ञनिधि आफ्नै परिवारको सदस्य जस्तै लाग्थो रे! उनले भने, 'लामो समयसम्म मसँगै उपचारमा रहनुभयो, जसले गर्दा उहाँ परिवारको सदस्य जस्तै लाग्थ्यो। अझ उहाँले हाम्रो कामको मूल्यांकन गर्नुहुन्थ्यो, सुझाव दिने गर्नुहुन्थ्यो।'

मिर्गौला रोगीलाई पैसा होइन, रोकथाममा ध्यान दिऊँ

डा. काफ्लेले नेपालमा मिर्गौला रोगको उपचारको सुरुवात गर्दा नेपालमा मिर्गौलाका रोगी एकदम थोरै थिए। तर हाल मिर्गौला रोगका बिरामी दिनदिनै बढ्दै छन्। यसले गर्दा सरकारले उपचार सेवामा सहुलियतसहित जीवनभर डायलाइसिसमा बस्नुपर्ने बिरामीलाई नि:शुल्क डायलाइसिस सेवा प्रदान गर्नुका साथै नि:शुल्क मिर्गौला प्रत्यारोपणसमेत गर्ने घोषणा गरिसकेको छ। डा. काफ्ले मिर्गौला रोगी बढिरहेको अवस्थामा रोगीलाई सहुलियत मात्र दिनुभन्दा रोकथाममा समेत ध्यान दिनुपर्ने बताउँछन्। 'मिर्गौला रोगी बढेको बेलामा उनीहरूलाई उपचारमा सहुलियत मात्र होइन, रोकथाममा समेत ध्यान दिनुपर्छ। अहिले रोकथाममा सरकारले ध्यान दिएको छैन', उनले भने, 'यसरी नै गयो भने केही वर्षपछि देशमा मिर्गौलाको उपचार गर्ने ठाउँमा बिरामीलाई थेग्न सकिँदैन।'

मिर्गौला रोगीलाई उपचार मात्र होइन, रोकथाम पनि गर्नुपर्छ भन्दै आजभोलि डा. काफ्ले मिर्गौला बचाअौँ अभियानमा समेत सक्रिय छन्। उनले आफूले एउटा गैरनाफामूलक संस्था दर्ता गरेर मिर्गौला बचाअौँ अभियानमा सक्रिय रहँदै आएका छन्। हाल काफ्लेले विभिन्न शिविरहरू आयोजना गर्दै मिर्गौलाको नि:शुल्क परिक्षणसमेत गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.