|

जनकपुरधाम : संविधान दिवस मनाउने कि कालो दिवस मनाउने? यो प्रश्नले यतिखेर सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालभित्र चर्को विवाद उत्पन्न भएको छ। उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल सरकारमा सहभागी भएपछि मधेसको मुद्दामा प्राय रहेका उनीविरुद्ध उपाध्यक्ष रेणु यादवसहित प्रदेश २ का नेताहरूले असोज ३ गतेलाई कालो दिवस मनाउने निर्णय गरेपछि केन्द्र र प्रदेशको विवाद सतहमा आएको हो।  

पार्टीका उप-महासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधान दिवस अर्थात दिपावली मनाउने निर्णय गरेको बेलामा प्रदेश २ को कमिटीले कालो दिवस अर्थात व्ल्याकआउट गर्ने निर्णय गरेपछि केन्द्र र प्रदेशको विवादा छताछुल्ल भएको हो। प्रदेश २ का अध्यक्ष रेणु यादवद्वारा जारी विज्ञप्तिमा बन्दुकको बलमा संविधान जारी गरेको र संशोधन गर्ने सहमति भए पनि अहिलेसम्म संशोधनको स समेत उच्चारण हुन नसकेकोले कालो दिवस मनाउन लागिएको उल्लेख गरेका छन्।

मधेस प्रदेशको कार्यसम्पादन समितिले कालो दिवसका रुपमा मनाउने निर्णय गरेको जनाउँदै विरोधका कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ। प्रदेश कमिटीले असोज ३ गते दिनभरि हातमा कालो पट्टी बाँध्ने, सार्वजनिक स्थानमा कालो झण्डा फहराउने र साँझ ७ बजेदेखि सवा ७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको छ। तर उपमहासचिव अधिकारीद्वारा जारी विज्ञप्तिमा संविधान संशोधनका लागि सरकारले सहमति जनाइसकेकाले कालो दिवस मनाउनुपर्ने आवश्यकता नरहेको जनाइएको छ।

‘संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रममा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यसखालको कार्यक्रममा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नरहन समेत सम्पूर्ण ससफो नेपाल आग्रह गर्दछ,’ भनी सह-महासचिव अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

फोरम नेपालका कार्यकर्ता तथा समर्थकहरूले मधेशमा कालो दिवस मनाउने देखिन्छ भने अन्य स्थानमा सरकारले घोषणा गरे बमोजिमको दिपावली मनाउने देखिन्छ। यसअघि राष्ट्रिय जनता पार्टीले कालो दिवश मनाउने कार्यक्रम घोषणा गरिसकेको छ। केन्द्रीय सत्ता र प्रदेश २ सरकारको नेतृत्व समेत गरिरहेको फोरमभित्र देखिएको यो विवादले नैतिक संकट उत्पन्न गरेको छ। तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानमा मधेशी जनताको हक अधिकार सुनिश्चित नगरिएको भन्दै असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउँदै आएको छ। 

मुख्यमन्त्री नेतृत्वमा संविधान दिवस मनाउन संघीय सरकारको परिपत्र 

यता संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस मूल समारोह समिति गठन गर्न परिपत्र गरिए पनि हाल सम्म कुनै समिति चयन भएको छैन। विगतमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने गरीए पनि यस पटक मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउन गृहमन्त्रालयले परिपत्र नै जारी गरेको छ।

यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले ‘मुख्यमन्त्रीसँग सबै सरोकारवालालाई सम्मिलित गराएर मूल समारोह समिति गठन गर्ने परिपत्र आएको स्वीकार्दै आफू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको प्रतिक्षामा रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.