|

धनुषा : नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले देशको दूरगामी परिवर्तनका लागि संविधानलाई जोगाउन आवश्यक रहेको बताएका छन्। नेता निधिले देशको संविधान र संविधानमा भएका मुख्य नौं तत्वलाई जोगाई राख्न सके देशमा अझ ठूलो परिवर्तनको सम्भावना कायमै रहेको बताएका हुन्।

शहीदको जन्मभूमि धनुषाको यदूकुहामा साेमबार प्रजातान्त्रिक आन्दोलनका शहीद कामेश्वर कुशेश्वरको शालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता निधिले संविधानमा भएको राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता, मिश्रित निर्वाचन प्रणाली र सुशासनलाई जोगाई राख्न आवश्यक भएको बताए। उनले भने,‘संविधानको यो ९ वटा तत्वबाट नै अहिले शासन प्रणाली सञ्चालन भइरहेको छ। र यी ९ तत्वबाट दूरगामी परिवर्तनको बाटो समेत यहीबाट सुनिश्चित हुनेछ।’    

उपसभापति निधिले नेपाली जनताको राजनीतिक अधिकार शासन प्रणाली र जनताको सार्वभौमसताको लागि लडने पार्टी नेपाली कांग्रेस मात्र रहेकाले नेपाली जनताले कांग्रेसको कार्यकालमा मात्र पूर्ण लोकतन्त्रको अनुभूति गर्न पाउने दाबी गरे। उनले नेपाली कांग्रेसकै कार्यकालमा अधिकांश विकास निर्माणका कार्यहरू भएकाले कांग्रेसले नै नेपाली जनताको विकास र समृद्धिको सपना साकार पार्ने विश्वास समेत दिलाए।

नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओलीले अरिंगालको आतंकको कुरा गरेर नेपाली कांग्रेस नतर्सिने बताए। उनले प्रधानमन्त्री जस्तो व्यक्तिले हिंसाको कुरा गरेर देश चलाउन नसक्ने चेतावनी दिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सभासदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, ललन चौधरीलगायतको पनि उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.