|

तेह्रथुम : सदरमुकाम जोड्ने जिल्लाका कच्ची सडकहरु झन्झन् जीर्ण बन्दै गएका छन्। दैनिक रुपमा प्रसस्त मात्रामा मालबाहक ट्रक, ट्रयाक्टर र यात्रुबाहक बस, ट्याक्सीहरु गुड्ने उक्त सडकखण्डहरु वर्षा याममा हिलाम्य र हिउँदमा धुलाम्ये हुने भएकाले स्थानीयवासीलाई सास्ती हुने गरेको हो।

वर्षायाम सुरु भएसँगै हिलोको समस्या हुने र हिउँद सुरु भएपछि भने धुलोले सताउने गरेको छ। करिब ३० वर्षअघि ट्रयाक खोलिएको भएको म्याङलुङ–वसन्तपर २६ किलोमिटर सडकखण्डको अवस्था दयनीय छ। सिंधुवा–शुक्रबारे नौ किलोमिटर सडकखण्डको अवस्था पनि उस्तै छ। जिरिखिम्ती–मोराहाङ सडकखण्डको स्थिति पनि कम दुःखदायी छैन।

जिल्ला सदरमुकामबाट पूर्व क्षेत्र फेदाप हुँदै आठराईतर्फ जाने मुख्य सडकमा पनि वर्षैभरि गाडी चल्ने अवस्थामा छैन। कच्ची सडक समयसमयमा मर्मतसम्भार नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ। सडक निर्माण गर्दा ठेकेदारले सडकको भित्तामा ड्रेन नबनाएको र छेउमा वाल पनि नलगाएका कारण वर्षाको भेल किसानका खेतबारीमा पसेर बगर बनाइदिएको ओयाक्जुङका भोला दुलालले गुनासो गरे।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्रयाक खन्दै गर्दा फेदाप गाउँपालिकाका स्थानीयवासी निकै हर्षित थिए। तर वर्षायामसँगै बाढीले खेतबारी बगाएको र हिउँद सुरु भएपछि धुलोले बसी नसक्नु हुने सडक आसपासमा घर भएका स्थानीयवासीले गुनासो पोख्न थालेका छन्। यी सडकखण्डमा सवारी साधनको चाप बढेकाले सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ। सडकको अवस्था जीर्ण भएकाले पैदलयात्रीले पनि समस्या ब्यहोर्दै आएका छन्।

सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी र हिलो भएकाले साना तथा ठूला सवारी साधनका साथै एम्बुलेन्स सञ्चालनमा समेत अवरोध हुने गरेको छ। जसका कारण समयमा नै अस्पताल पुर्‍याउन नसकेर बिरामीको अवस्था गम्भीर हुने खतरा उत्तिकै रहेको छथरका स्थानीय मनकुमार पारघरेले बताए। 

वर्षायाममा खोलामा पुल नहुँदा वारिपारि गर्न निक्कै धेरै समस्या भोगेको शंकर माध्यमिक विद्यालय, जलजलेका शिक्षक रुद्र चम्लागाईले बताए। हिलो त कष्टका साथ काटियो अब पानी पर्न छाडेपछि धुलोले झन् यात्रामा समस्या ल्याउने चिन्ता रहेको उनको भनाइ छ।

पछिल्लो समय टेलटोलमा बाटो पुर्‍याउने लहर चलेको छ। स्थानीयहरु मिली रकम संकलन गरेर घरघरमा बाटो पु¥याउने होडबाजी नै जस्तो देखिन्छ। जसका कारण खेतीयोग्य जमिन नष्ट भएको छ भने बाटोमा गाडी कुद्ने अवस्था पनि छैन। अर्कातिर स्थानीय सरकार पनि गाउँगाउँमा बाटो पुर्‍याउने कार्यमा लागेको छ। यसका लागि बजेट कनिका सरी छरेको छ। यसको समाधानका लागि गुरु योजना निर्माण गरी दिगो सडक निर्माणमा स्थानीय सरकारको ध्यान जानु जरुरी छ। नत्र भने न रह्यो बाँस न बज्यो बाँसुरी भनेझैं हुन सक्ने स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.