|

भक्तपुर : नगरा, पछिमा, लाटा खीँ, धिमे, ढाँ, ढलुक, नाखीं, कोखीं, र ताताली बाजाको संयुक्त संयोजनको नाम हो, नौ बाजा। विशेषगरी नौ वटा बाजाको संयोजन हुने भएकोले यसलाई नौ बाजा भनिएको हो। 

साउन\भदौ (नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म) एक महिना मनाइने गुँला पर्वका अवसरमा गरिने चैत्य परिक्रमामामानन्धर समुदायले नौ बाजा बजाउने गर्छ। सोह्रौ शताब्दीदेखि प्रचलनमा आएको नौ बाजा नेवार समुदायमा चाडपर्व, डाफा भजन, पूर्णिमा, एकादशी, जात्रा र मेलामा पनि बजाउने गरिन्छ।

अर्थ अभाव तथा आधुनिक प्रविधिको मार र परम्परागत संस्कृतिप्रति युवा पुस्ता आकर्षित नहुँदा चार सय वर्ष पुरानो इतिहास बोकेको मल्लकालीन नौ बाजा लोप हुने अवस्थामा पुगेको संस्कृतिकर्मी तथा यस बाजाका गुरुहरू बताउँछन्।

गुँला पर्वमा चैत्य परिक्रमा गर्दा लामो पैदल यात्रा गर्नुपर्छ। पहिले पहिले यातायातका सवारी साधन नहुँदा उपत्यकाका विभिन्न स्थानबाट पैदलै भक्तपुरदेखि स्वयम्भू चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यहरुको परिक्रमा गर्नु कम चुनौतीपूर्ण थिएन। यस्तो अवस्थामा नौ बाजाको सुमधुर धुनले थकान हटाराउने र यात्रालाई सहज र सरल बनाउने अनुभव सुनाउँछन बुढापाकाहरु। 

नौ बाजामा हुने बाजाहरू समुदायअनुसार फरक फरक हुने गरेको छ। मानन्धर समुदायमा नौ बाजामा पछिमा, धोलक, कोखीँ, नायखीँ, धिमे, नगरा, पस्ट, धाँ, डमरु हुन्छ भने अन्य समुदायको नौ बाजामा धाँ, कोटा, ढाँचा, धिमेचा, नायखीँ, पछिमा, ढोलक, कोखीँ र नगरा हुन्छ।

मानन्धर समुदायले नौ बाजा गुलाँपर्वमा मात्र बजाउने गर्छ भने भक्तपुरको दत्तात्रेय, तौमढी र लालाछेँको नौ बाजा समुदायले विशेष पर्व लगायत प्रत्येक महिनाको पूर्णिमामा बजाउने परम्परा छ। भक्तपुर नगरका विभिन्न ६ स्थान र मध्यपुर थिमिका मानन्धर समुदायमा प्रचलनमा रहेको नौ बाजा भक्तपुरका लालाछें, दत्तात्रेय र टौमढीमा मात्र अहिले यो बाजा बजाउने प्रचलन रहेको छ भने थिमिका मानन्धरहरुले समेत नौ बाजा नियमित बजाउन छाडेका छन।

नौ बाजा सिक्न लामो समय लाग्ने र धेरै जनाको समूह चाहिने भएकाले पनि युवाहरु नौ बाजामा आकर्षित नभएको नौ बाजाका गुरु लक्ष्मीप्रसाद मानन्धरले बताए। पछिल्लो समय टोल टोलमा धिमे र बासुरी बाजा सिकाउने र सिक्ने प्रचलन वृद्धि भए पनि बाजाहरूमा कठिन नौ बाजा सिकाउनेतर्फ कसैको ध्यान नगएको उनको गुनासो छ। उनले भने ‘अहिले सहकारी संस्थाले समेत धिमे र बाँसुरी बाजा सिकाउने होडबाजी चलेको छ तर नौ बाजा संरक्षणमा कसैको चासो गएको देखिँदैन।’

नौ बाजा संरक्षणका लागि नै अहिले तेखाचो टोल अाठ जानालाई धाँ, अाठ जनालाई पस्ट, चार जनालाई नगरा, कोखी र पछिमा सिकाउँदै आएको उनले बताए। दाफा भजनका गुठीहरुको जग्गा रैतानी भएपछि आयस्था समेत घटेकोले पनि परम्परागत बाजागाजाहरुको संरक्षणमा कठिनाइ भएको गुरु मानन्धरको भनाइ छ।

नौ बाजा नेवारी समुदायको मौलिक बाजाहरु मध्येको उत्कृष्ट बाजा भएकोले यसको संरक्षणमा सम्बन्धीत निकायले विशेष चासो दिनुपर्ने संस्कृतिकर्मी गणेशराम लाछीले बताए। युवाहरुलाई बाजाको महत्त्वका बारेमा ज्ञान दिलाउन स्थानीय तहले विद्यालयको पाठ्यक्रममा नै स्थानीय बाजागाजा र नाचहरुको विषय समावेश गर्नुपर्ने सुझाव उनको छ।

नौ बाजा सिकाउने गुरु र सिक्ने युवापुस्ताको अभावले नौ बाजा लोप हुने अवस्थामा पुगेको अर्का संस्कृतिकर्मी ओम धौभडेलले बताए। 'विशेष समयमा बजाइने बाजाको छुट्टै महत्त्व  हुन्छ', उनले भने, 'नौ बाजालाई संरक्षण गर्न स्थानीय तहले नै पहल गर्नुपर्छ।' 

एक पटक चाडमा बजाउन तीन हजारदेखि ६० हजार रुपैयाँसम्म खर्च हुने नौ बाजा खलका सदस्यहरू बताउँछन्। चाडपर्वमा विशेष भोज गरी यो बाजा बजाइन्छ। आम्दानीको मूख्य स्रोत जग्गाबाट कुत उठाउन नसक्दा बाजा मर्मत गर्नसमेत समस्या उत्पन्न भएकाले नौ बाजा अन्तर्गतका महत्वपूर्ण बाजा लोप हुने अवस्थामा पुगेको उनीहरू बताउँछन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.